शिवशरण ज्ञवाली
नेपाली पत्रकारिताको इतिहासले दक्षिण एसियाकै पत्रकारिताको इतिहाससँग जोडिने हैसियत राख्दछ । भलै, पत्रकारिता क्षेत्रमा अभूतपूर्व प्रगति हुनका लागि भने प्रजातन्त्रको पुर्नस्थापना (२०४६) लाई नै कुर्नुप¥यो । २०४७ सालको प्रजातान्त्रिक संविधानको जगमा टेकेर पत्रकारिता उद्योगको व्यापक विकास भयो । तर त्यो विकास गुणात्मकभन्दा संख्यात्मक प्रकृतिको ज्यादा छ भन्ने कुरा यसपालिको आम निर्वाचनमा पुर्नपुष्टि भयो । त्यसो त २०४६ भन्दा अगाडि नेपाली पत्रकारिताका क्षेत्रमा व्यवासायिक हिसाबले निजी क्षेत्रको प्रवेश भएको थिएन । सरकारी सञ्चार माध्यमहरु गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन संचालनमा थिए र आज पनि छन् । निजी क्षेत्रबाट केही अखबारहरु त प्रकाशन हुन्थे तर ती राजनीतिक मिसनमै सीमित थिए । तिनीहरुको मिसन कि त सरकारको पक्ष लिनु थियो भने कि त विपक्षी धारमा कलम चलाउनु थियो । निजी क्षेत्रमा रेडियो र टेलिभिजनको सुरुवात त २०४६ पछिका दिनमा नै भएको हो । त्यस्तै देशव्यापी रुपमा श्रव्य तथा श्रव्यदृश्य सञ्चार माध्यमको बिस्तार ०६२÷६३ पछिका दिनहरुमा भयो । पत्रकारिता क्षेत्रमा देखिए जस्तो आकर्षण नेपालका कुनै पनि क्षेत्रमा देखिएको छैन भन्दा अत्युक्ति नहोला । आज यो एउटा विशाल उद्योगका रुपमा देखापरेको छ । शहरको मात्रै कुरा होइन, गाउँगाउँमा समेत सबै प्रकृतिका अर्थात अखबार, रेडियो र टेलिभिजन जस्ता सञ्चार माध्यमहरु संचालित छन् । तर संचालनका आफ्नै समस्याहरु छन् ।
तर ती समस्याहरुलाई प्रकाशक संचालक तथा पत्रकारहरुले निकै मेहनतपूर्वक समाधान गर्ने गरेका छन् । पत्रकारितामा लाग्ने अधिकांश व्यक्तिहरु तलबभत्ता खाँदैनन् भोकभोक काम गर्दछ भन्दा अन्य क्षेत्रका मानिसहरुलाई आश्चर्य लाग्दो हो तर सत्य यही हो । श्रमजीवि पत्रकार ऐन कागजमै सीमित छ, व्यावहरिकतामा प्रकाशकसँग सम्झौता नगरी सुखै छैन । सम्पादक, संवाददाता, टाइपिष्ट, भाषा सम्पादक आदिआदि एउटै व्यक्तिले काम चलाउनु पर्ने अवस्थाबाट मोफसलका सञ्चार माध्यमहरु गुज्रिएका छन् । आखिर पत्रकारितामा आकर्षणको कारण के हो त ? प्रतिष्ठा नै हो । पत्रकारिताबाट प्राप्त हुने प्रतिष्ठा अन्य कुनै पनि क्षेत्रबाट प्राप्त हुन सक्दैन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछिको चौथो अंगका रुपमा पत्रकारितालाई लिने चलन छ । यसले पनि पत्रकारिता प्रतिष्ठित पेशा हो भन्ने कुरा पुष्टि हुन्छ । सूचनाको खोजी गर्ने पत्रकारलाई राज्यका सबै क्षेत्रमा पहुँच हुन्छ । अर्को कुरा मानिसहरुलाई सिर्जनात्मक बनाउन पनि यसले सहयोग पु¥याएको हुन्छ । यसलाई हतारिएको साहित्य पनि त्यही कारण भनिएको होला । ठूलाठूला साहित्यकार पनि आफ्नो जीवनमा कतै न कतै पत्रकारितासँग जोडिएको उदाहरण पाइन्छ । त्यसकारण मानिसहरु भोकभोकै भए पनि पत्रकारिता गर्न खोजिरहेका हुन्छन् । त्यसो त पत्रकारिता आफैमा सजिलो पेशा होइन । अरु सुतेका बेला पत्रकारहरु जाग्नुपर्छ । रातभर काम गरेर बिहान पाठक, दर्शक, श्रोताका घरघरमा समाचार पु¥याउनुपर्छ । जुनसुकै समयमा पनि काममा लागिरहनुपर्छ ।
अवकाशको समय भन्ने नै हुँदैन भने पनि हुन्छ । महत्वपूर्ण चाडवाडमा सञ्चार माध्यमका अफिसमा व्यस्त रहनुपर्ने हुनसक्छ । आजभोलि त सञ्चार क्षेत्र मानिसहरुको अत्यावश्यक सेवामै पर्न थालिसकेको महसुस हुन्छ । सुखद पाटो हुँदाहुँदै पत्रकारिता क्षेत्रमा केही कमजोरीहरु पनि देखापरेका छन् । पत्रकारिताको व्यापक बिस्तार भए पनि यो विषयमा उच्च शिक्षामा पहुँच सर्वसुलभ छैन । पत्रकारिता शिक्षा सर्वसुलभ र आम मानिसहरुको पहुँचमा नहुँदा पत्रकारिताको गुणस्तरमा समस्या परेका छ । अन्य विषयमा उच्च शिक्षा लिने जनशक्ति उपलब्ध भए पनि प्रकाशक संचालकहरुले सकेसम्म कक्षा दश देखि बाह्रभित्रकै जनशक्तिलाई नियुक्ति गर्दछन् । निम्नस्तरको जनशक्ति उपयोग गर्दा प्रकाशक संचालकलाई तलबभत्ता दिन समस्या पर्दैन । सकेसम्म नदिए पनि चल्न सक्छ, दिइहाले पनि थोरै तलबभत्तामै काम गराउन सकिन्छ । तसर्थ जिल्लातिरका पत्रकारहरुमा भाषिक समस्या एक टड्कारो समस्याका रुपमा देखापर्दछ । समाचारको प्रस्तुतिमै पनि समस्या रहेको पाइन्छ । फिचर तथा लेखरचना लेखन त शुन्यमै छ भन्दा हुन्छ । विगतमा परेर पत्रकारिता गर्ने र पढेर गर्नेहरु दुवै अध्ययनशील थिए । त्यसकारण उनीहरुले पत्रकारितामा विज्ञता हासिल गरे । तर आजको पत्रकारिताको विशाल उद्योगलाई थेग्न सक्ने पढेका र परेका दुवै थरी पत्रकारहरु तयार भइसकेका छैनन् । त्यसकारण पत्रकारिताको गुणस्तरको कुरा त केवल मोफसलको कुरा मात्रै होइन, केन्द्रमै पनि समस्या छ भन्ने कुरा आम निर्वाचन २०७४ मा सञ्चार माध्यमको प्रस्तुतिबाट पनि प्रष्ट पार्छ । दुई चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसीर २१ गते साँझबाट सुरु भयो । तर मतपरिणामसम्बन्धी समाचार सम्प्रेषण गर्ने कुनै पूवाधार मूलतः श्रव्य र श्रव्यदृश्य सञ्चार माध्यमहरुले तयार गरेको देखिएन । बरु अनलाइनहरु भने अलि व्यवस्थित रहेको पाइयो । अहिले रेडियो नेपाल निकै खुम्चिएको छ, एफएम रेडियोहरुको कारणले गर्दा ।
यो सबैतिर सुन्न सकिदैन । देशमा रेडियो नेपाल हराएको सूचना यसपालिको निर्वाचनमा आम श्रोताले पाएका छन् । विगतमा रेडियो नेपालले एक एक घन्टामा ‘निर्वाचन बुलेटिन’ देशव्यापी रुपमा सम्प्रेषण गरेको सुन्न पाइन्थ्यो । मतगणनाको परिणाम एक घन्टाभन्दा छिटो दिनुको कुनै औचित्य पनि देखिदैनथ्यो । एक घन्टासम्म मानिसहरु आआफ्ना काममा जान्थे अनि रेडियो खोल्थे र बुलेटिन सुन्थे । रेडियो नेपालले छोटोमिठो बुलेटिन दिन्थ्यो । बुलेटिनमा उसले मतगणनामा अगाडि रहेका र निकटतम प्रतिष्पर्धीको समाचार निकै रोचक पारामा प्रस्तुत गर्दथ्यो । ‘भर्खरै प्राप्त’ समाचार भनेर बीचबीचमा परिणाम समेत घोषणा भएको समाचार दिन्थ्यो । बिजेताको नाम घोषणा गर्दा उसले प्राप्त गरेको मतसंख्या र निकटतम प्रतिद्वन्द्वीको नाम समेत दिन्थ्यो । मानिसहरु त्यही जान्ने चाहन्थे, त्यसकारण सास रोकेर समाचार सुन्थे । कसले जित्यो र निकटतम प्रतिद्वन्द्वी को भयो भन्ने सर्वाधिक चासोको कुरा पनि थियो । तर बल्ग्रेती खुलेका रेडियो र टिभीहरुले यसपालि लाइभ प्रसारण त गरे तर लाइभ प्रसारण गर्नुको औचित्य भने पुष्टि गर्न सकेनन् । कतिकति बेला केन्द्रीय रेडियोहरुको लाइभ प्रसारण स्थानीय एफएमहरुबाट हुन्थ्यो भने स्थानीय एफएमको समय सकिएपछि ती आफै बन्द हुन्थे । संवाददाताहरुले आफ्ना कथाहरु पनि सुनाउँथे, कति दुःख गरेर समाचार सम्प्रेषण गरेका छौं भन्ने खालका । टिभीहरुमा पनि लाइभ प्रसारण त आउँथ्यो तर तिनमा पनि समाचारको सार कुरा भनिदैनथ्यो । बरु सरकारी अधिकारीहरुले सूचना दिए नदिएको कुरा सोधिन्थ्यो, बदर मतसंख्या सोधिन्थ्यो तर प्रतिष्पर्धामा भएका उम्मेदवारहरुका बारेमा अन्तिम अन्तिममा सोधिन्थ्यो । केन्द्रबाट संचालित एफएमहरुले हामी कुन कुन एफएफहरुबाट यहाँहरु सम्म आइपुगेका छौं भन्दै बुलेटिनको समयभन्दा धेरै समय एफएमका नामहरु समेत पढेको पाइयो । उल्टो पिरामिड आकारमा समाचार लेख्दा समाचारको सार कुरा सुरुमै आउनुपर्छ भन्ने कुरा भुसुक्कै बिर्सेजस्तो लाग्थ्यो, रेडियो टेलिभिजनका समाचार हेर्दा सुन्दा । त्यसकारण अघिपछि रेडियो टेलिभिजन हेर्नेहरु पनि निर्वाचनका बेला यी सञ्चार माध्यमप्रति त्यति धेरै रुचि देखाएनन्, बरु अनलाइनबाट आफ्नो सूचनाको भोक मेट्थे । टेलिभिजनहरुका पर्दामा काठमाडौंको एक नम्बर क्षेत्रबाट प्रकाशमान सिंह विजयी भएको समाचार दोहो¥याइ तेह¥याइ दिन्थे तर उनका निकटतम प्रतिद्वन्द्वी को हुन् र उनले कति मत ल्याए भन्ने कुरा थाहा पाउन अर्को दिन नै कुर्नप¥यो । टेलिभिजनका पर्दाहरुमा राखिएका न्युजहरु पनि भिन्न रंगमा नराख्दा समाचार पढ्न निकै मुस्किल पर्दथ्यो । पत्रकारिताको सजावट सिद्धान्तलाई टेलिभिजन सम्पादकहरुले विचार पो पु¥याएनन् कि ! पत्रकारहरु समाचार दिनभन्दा आपसआपसमा बढी कुरा गरेजस्तो महसुस हुन्थ्यो । यस प्रसंगमा बरु नेपाल टेलिभिजन अलि बढी परिपक्व नै देखियो । तर यसको समाचार ब्रेक गर्न नहतारिने पुरानो समस्या भने जस्ताको तस्तै देखियो । समग्रमा निर्वाचनको समाचार सम्प्रेषण गर्दा सञ्चार माध्यमहरुको सूचनाको भोक जगाइदिन सकेनन् बरु दिक्कलाग्दो बनाएर सञ्चार माध्यमहरु नै बन्द गर्नुपर्ने अवस्थामा पु¥याइदिए । अनलाइनहरुमा पनि अपडेट नगर्ने समस्या भने देखियो नै । यस्ता कुराहरुले के पुष्टि गर्दछन् भने नेपाली पत्रकारितामा गुणस्तरको समस्या मोफसलमा मात्रै होइन, सबैतिर छ । त्यो पनि एक खास प्रकृतिको सञ्चार माध्यममा मात्र होइन, सबै प्रकृतिका सञ्चार माध्यमहरुले यस्तो समस्या भोगिरहेका छन् । समाचारको सार कुरा पहिलो अनुच्छेदमा आउनुपर्छ भन्ने सामान्य कुरा पनि पत्रकारहरुले आत्मसात् गर्न सकेको देखिएन । निर्वाचनका बेला रेडियो नेपाल हराएको र खुम्चिएको महसुस सबैले गरे । तसर्थ आदर्श सञ्चार माध्यमका रुपमा रेडियो नेपालको पहुँच देशव्यापी हुनु आवश्यक छ । यसो भएमा एकातिर आम जनताले समयमै सूचना पाउँथे भने अर्कोतिर पत्रकारिताको मानक पनि स्थापित हुन पुग्थ्यो । साथसाथै अन्य सञ्चार माध्यमहरुले पनि पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि अझ धेरै गर्न बाँकी छ ।