पर्वत, ८ असोज – नीजि क्षेत्रबाट तीन बर्ष अघि देखि सञ्चालनमा आएको कुश्मा बलेवा यान्त्रिक पुलले १ करोड २ लाख नाफा कमाएको छ । पर्वतको कुस्मा देखि बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक पुलले गएको आर्थिक बर्ष उक्त मुनाफा आर्जन गरेको हो ।
पुल सञ्चालक समितिको शुक्रबार सम्पन्न पाँचौ साधारणसभाबाट २० प्रतिशत मुनाफा शेयर धनीलाई बितरण गर्ने स्वीकृति लिएको छ । यान्त्रिकपुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायीदेखि कुश्मा र बागलुङको बलेवा क्षेत्रका ५ सय सर्वसाधरणले झण्डै ५ करोड लगानी गरेका छन् । यान्त्रिक पुलले गत बर्ष १९ प्रतिशत मुनाफा बितरण गरेको थियो ।
यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारीक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका रहेको छ । पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएको सचिब केदारनाथ शर्माले जानकारी दिए ।
पुलमा यात्रा गर्नेहरुका लागि बलेवा क्षेत्रमा स्थायी घर हुनेलाई प्रतियात्रु ७५ रुपैया र अन्यत्रबाट आएका यात्रुलाई १ सय रुपैया भाडादर तोकिएको छ भने विद्यार्थीहरुका लागि ४० रुपैँया भाडादर तय गरिएको छ ।
यसैबिच यान्त्रिकपुलको पाँचौ साधारणसभामा बोल्ने बक्ताहरुले सर्वसाधरणले लगानी गरेर सार्वजनिक रुपमा सेवा दिएको यान्त्रिकपुल मुलुककै नमुना बनेको चर्चा गरेका थिए । यान्त्रिकपुलले सर्वसाधरणको लगानी अनुसार मुनाफाका साथै सामाजिक उत्तरदयित्व पुरा गरेको चर्चा गरेका थिए ।
Previous Articleदशैें टीकाको उत्तम साइत बिहान ८ : ४५ बजे
Next Article ८ असोज २०७३, ढोरपाटन दैनिक