काठमाडौं, १८ पुस-भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर, १५ औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो तर, ३ विकेट गुमाएर ४ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । विराटनगरका कप्तान पारसले १८ रन दिएर ३ विकेट लिएभने अनिलकुमार साह र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि अंशुमान रथले ४१ रन बनाए भने पारस खड्काले २७ र अनिलकुमार साहले २२ रनको योगदान दिए । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर वारियर्सले स्कोर बोर्डमा १५० रनको स्कोर झुण्ड्याउन सक्यो । हङकङका दुई ब्याट्सम्यानले धानेको थियो उसको ब्याटिङ । तर, शनिबार बाबर हायात चल्न सकेनन् । अपेक्षाकृत यो स्कोर कम नै हो । तर, कीर्तिपुर मैदानमा टी–२० मा यो स्कोर भेट्टाउन त्यही सजिलो पनि थिएन । साथै भैरहवाका कप्तान शरद भेषावकरले ठूलो स्कोर बनाउन सकिरहेका थिएनन् । तर, आठौं ओभर शरदका लागि महत्वपूर्ण र विराटनगरका लागि विर्सनलायक रहृयो । अंशुमान रथ बलिङमा आए । पहिलो बलमा एक रन लिएर सालुंखेले स्ट्राइक रोटेड गरे । दोस्रो बलमा चौका हानेका शरदले तेस्रो बलमा छक्का हाने । आत्तिएका अंशुमानले वाइड फाले । अर्को बललाई त उनले सही ठाउँमा फाल्नै सकेनन् र नो बल बन्यो । त्यसपछि आएको बलमा शरदले छक्का हाने । अंशुमानले पाँचौं बलमा रन दिएनन् । तर, ओभरको अन्तिम बल वाइड फाले । अर्को बल नो रन हुनपुग्यो । त्यसपछि नो बल भयोभने शरदले छक्का हाने । विर्सनलायक प्रदर्शनपछि अंशुमान टाउको समाएर थचक्क बसे । कप्तान पारस सहितका खेलाडीले उनलाई सान्त्वना दिए तर, फ्रि हिटमा शरदले छक्का हाने । यो ओभरमा मात्र अंशुमानले ३६ रन दिए । त्यो ओभरबारे विराटनगरका कप्तान पारसले भने, ‘क्रिकेट निकै निर्दयी खेल हो । अंशुमान राम्रो ब्याटिङ गरेर यहाँसम्म ल्याएको छ । आज पनि राम्रो गरेको छ । त्यो ओभर त्यस्तै भयो ।’
Previous Articleनेपालकै लामो झोलुङगे पुलको निर्माण कार्य तिब्र बन्दै
Next Article थापा र श्रेष्ठको पञ्चेबाजा बजारमा