म्याग्दी, १७ पुस– जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा निर्माणाधीन घोस्तेखोर लघुजलविद्युत् परियोजनाको सामान हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । सडकमार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईनलगायतका उपकरण र सामान बुधबार सिम्रिक एयरको हेलिकप्टरबाट निर्माण स्थलमा पु¥याइएको हो । आयोजनास्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय, जनशक्ति र खर्च लाग्ने भएकाले सामान ढुवानीमा हेलिकप्टर प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फगामीले बताए । शिख मावि परिसरबाट १२ खेप गरेर आयोजना स्थलमा सामान पु¥याइएको थियो । उपभोक्ता समितिका अनुसार सामान ढुवानीमा रु. ११ लाख खर्च भएको छ ।
ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयबासीको पहलमा ५० किलोवाट क्षमताको परियोजना निर्माणाधीन अवस्थामा छ । परियोजनाको नहर, इन्टेक, विद्युत्गृह, फोरवे निर्माण गर्ने, पोल गाड्ने काम सकिएको छ । तार तान्ने, जेनेरेटर र टर्वाइन जडान गर्ने काम गरेपछि परियोजनाबाट विद्युत् उत्पादन हुने जनाइएको छ । चार वर्ष अघिदेखि निर्माण प्रक्रिया थालिएको परियोजना अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागवीर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ ।
रु. एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा रु. दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ । आव २०७१र७२ मा तत्कालीन जिल्ला समन्वय समितिले रु. १० लाख अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष फगामीले बताए । सामुदायिक लज सञ्चालक समितिले बैंकबाट ऋण लिएर परियोजना सम्पन्न गर्ने तयारी गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत फलाते हँुदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ ।
पर्यटकको सुविधा र गाउँका सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायिक लज सञ्चालन गरिएको हो । विद्युत् अभावमा पर्यटकलाई अपेक्षाकृत सुविधा उपलब्ध गराउन कठिन भएको थियो । मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रशारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पु¥याउन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।
Previous Articleपर्यटकको प्रतिक्षामा ‘गुफाको डाँडो’
Next Article बागलुङ जिल्लाको भविष्य सुन्दर बनाउने कि अब