बागलुङ, १६ पुस –
पैसा भन्दा सबै मर्ने
राम्री देख्दा सबै पछि पर्ने
तर को होला मलाई माया गर्ने
गायिका दुर्गा साउदले आफ्नै शब्द र संगीतमा गाएको यो गीतमा उनकै भोगाइ र पीडा पनि लुकेका छन्। गायिका बन्ने रहरले उनलाई धेरै पीडा पनि दियो। गायिका बन्न आफूले गरेको संघर्ष सम्झिँदा कहिलेकाहीँ उनलाई ‘कुन दिनमा यस्तो यातना भोग्न संगीतमा आएछु’ भन्ने लाग्छ।
तेह्रथुमको फाक्चामारामा जन्मेहुर्केकी दुर्गा पारिवारिक कारणले पोखरा पुगिन् र उतै पढ्न थालिन्। लेकसाइडका रेस्टुरेन्टहरूमा गाउन थालिन्। २०६५ सालमा काठमाडौँ आएपछि ठमेल, दरबारमार्गका दोहोरीहरूमा गाउन थालिन्। त्यसपछि सिंगापुर पुगेर ‘घुँघुरुज’ नामको इन्डियन क्लबमा गाइन्। नेपाल फर्किएपछि फेरि गजल रेस्टुरेन्टतिर गाउन थालिन्।
पहिलो गीत ‘नेपाल आमा’ रेकर्ड गर्दा त समस्या भएन तर एल्बम निकाल्ने क्रममा उनि ठगिइन्। ‘हाई हाई मंगले’ नामको एल्बम निकाल्न बुवाले २० हजार रुपैयाँ दिएका थिए। ‘मनास्लु’ नामको म्युजिक कम्पनीलाई त्यो २० हजार रुपैयाँ आँखा चिम्लिएर एड्भान्स बुझाइन्। त्यसपछि कम्पनीका मान्छे सम्पर्कविहीन भए। दुर्गा सुनाउँछिन्, ‘पछि थाहा भयो, अरू पनि धेरैलाई त्यसरी ठगेका रहेछन्।’
संगीत क्षेत्रमा १० वर्षजति संघर्ष गरिसकेकी दुर्गाले धेरै जना वरिष्ठ संगीतकार, म्युजिक भिडियो निर्माता तथा निर्देशक भेटिन्। ‘तीमध्ये अधिकांशको नियत राम्रो पाइनँ,’ उनी भन्छिन्, ‘गाउने अवसर दिनुस् न भन्दै जाँदा कतिले त सीधै ‘त्यसबापतमा हामीलाई के मिल्छ ?’ भने। कसैले चाहिँ ‘ज्यान भद्दा भयो, घटाऊ’ सम्म भने। यो क्षेत्रमा संघर्ष गर्नेको आर्थिक, मानसिक र शारीरिक शोषण हुन्छ।’
टेलिभिजनको स्क्रिन या युट्युबमा नाचेको÷गाएको हेर्दा हँसिला र खुशी देखिने कलाकारका मनभरि पीडा छन्। धेरै गीत गाएकी र ४० भन्दा बढी भिडियोमा मोडलिङ गरेकी गायिका सिर्जु अधिकारीसँग संगीत क्षेत्रका बिचौलियाहरूबाट ठगिनुका देखि अग्रज गायकहरूबाट हेपिएको अनुभव प्रशस्तै छ।
‘कलाकार बन्ने र टीभीमा देखिइने’ रहर लिएर सिर्जु दाङको तुलसीपुरबाट काठमाडौँ आईन् र दोहोरी साँझमा गाउन थालिन्। यसरी उनको संगीत यात्राको संघर्ष सुरु भयो। उनी भन्छिन्, ‘सिनियरले जुनियरलाई बाटो देखाउँछन्, सिकाउँछन् जस्तो लाग्थ्यो तर यो क्षेत्रमा त्यस्तो हुँदैन रहेछ। यहाँ त रहरको शोषण हुँदो रहेछ।
’गायिका ममता राई
सिर्जु ‘डेट’ लिएर गीत रेकर्ड गराउन स्टुडियो पुग्थिन् तर उनको पालो मिचेर अग्रजहरूले गाइदिन्थे। उनी दिनभर कुरेर फर्किन्थिन्। त्यसरी धेरैपटक उनले पालोमा गाउन पाइनन्, अग्रजहरूले नै हेप्ने र पेल्ने गरे। एक पटक टुँडिखेलमा दोहोरी गाउन भनेर एक जना ‘मिडिएटर’ले उनीहरूलाई लिएर गर। ‘गाइसकेपछि एक हजार दिएर टारे,’ उनी सम्झिन्छिन्, ‘आयोजकबाट धेरै पैसा लिने र कलाकारलाई थोरै दिएर वा नदिएर ठग्नेहरू पनि धेरै छन् यहाँ। संगीत क्षेत्रमा यस्ता ठगी त कति छन्, कति।’
सिर्जु गायनसँगै भिडियोमा मोडलिङ पनि गर्थिन्। उनीसँग पारिश्रमिक नपाएका थुप्रै नमीठा अनुभव छन्। ‘एक पटक मुनाल शिशिर नामका निर्देशकले भिडियोमा मुख्य कलाकारकै रूपमा अभिनय गराए,’ उनी भन्छिन्, ‘तर, त्यो भिडियोमा न मेरो नाम थियो, न मैले पैसा नै पाएँ।’
२०७० सालमा गीत रेकर्ड गर्ने क्रममा गायिका ममता राईको सन्तोष प्रगाढसँग भेट भयो। सन्तोष आफूलाई संगीतकार र एरेन्जर बताउँथे। संगीत सिक्दै गरेकी ममतालाई पनि गीत रेकर्ड गराउने चाहना थियो। उनले सन्तोषलाई १५ हजार रुपैयाँ दिइन्। त्यसपछि गीत रेकर्ड हुने आशाले धेरै धाइन् तर उनको गीत कहिल्यै रेकर्ड भएन। भन्छिन्, ‘मेरो पैसा डुब्यो। मेरी साथी गीतालाई पनि सन्तोषले ठगे। उनले चाहिँ माफी मगाएर छोडिदिइन्।’
सांगीतिक क्षेत्रमा एक दशक बिताएकी मनीषा राईको अनुभवमा नयाँ गायकगायिकालाई सुरुदेखि नै गाह्रो हुन्छ। नयाँलाई संगीतकारदेखि एरेन्जरसम्मले बढी पैसा लिने तर कमसल काम गरिदिने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘सुरुमा केमा कति पैसा खर्च हुन्छ भन्ने थाहा भएन। जति माग्यो त्यति दिएँ, अहिले बुझ्दा नयाँ भनेर ठगेका रहेछन्। संगीतका बिचौलियाबाट पीडित नहुने गायक–गायिका पाउन गाह्रो हुन्छ।’ उनी बिचौलियाहरूले प्रचार गरिदिने नाममा पनि ठगी गर्ने बताउँछिन्। भन्छिन्, ‘उनीहरूले पत्रपत्रिकामा समाचार छपाइदिन्छु भनेर पैसा लिने गर्छन् तर समाचार आउँदैन।’
भिडियोमा लुट धन्दा
गायक सुमन श्रेष्ठ ‘संगम’ले गायिका मिलन अमात्यसँग गीत रेकर्ड गराए। त्यो गीतको भिडियो बनाउन उनले निर्देशक अर्जुन अधिकारीलाई अग्रिम १ लाख ५० हजार रुपैयाँ बुझाए। पैसा बुझाएको एक वर्ष भयो तर भिडियो बनेन। अर्जुनले उल्टै आमा बिरामी भएकाले समयमा काम गर्न नपाएको र पैसा आवश्यक परेको भन्दै ५० हजार रुपैयाँ ऋण मागे। सुमनले उनलाई ऋण पनि दिए। तर, फेरि पनि भिडियो बनेन। त्यसपछि सुमनले फोन गर्दा अर्जुनले फोनै उठाउन छाडे।
खोजी गर्दागर्दा बल्ल सुमनले अर्जुनलाई फेला पारे। ‘भिडियो खोइ त ? भनेर सोध्दा उनले गायिका मिलनले समय नदिएकाले अलिकति बाँकी रहेको भनेर टारे,’ सुमन भन्छन्, ‘मिलनलाई पनि सोधेँ तर उनलाई अर्जुनले फोनै गरेका रहेनछन्। अर्जुनसँग म रिसाएँ। उनले त्यतिबेला एक हप्तामा भिडियो सक्ने आश्वासन पनि दिए तर त्यो हप्ता कहिल्यै आएन। अहिले त फोनै उठ्दैन।’
उता, निर्देशक अर्जुन अधिकारी भने समय नमिलेर ढिलो भएको बताउँछन्। ‘एउटा भिडियो बनाउन एक वर्षभन्दा बढी लाग्छ र ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अब चाँडै गर्छु, गायिकाको समय नमिलेर ढिलो भयो।’ उनले त्यसो भने पनि रिपोर्टिङका क्रममा भेटिएका केही पीडितले अर्जुनले पैसा लिएर भिडियो नबनाइदिएको र पैसा पनि फिर्ता नगरेको बताए। उनीहरूले विशाल भण्डारी, निकेश खड्कालगायत म्युजिक भिडियो निर्देशकले पनि समयमा काम नगरिदिएर दुःख दिएको बताए। अर्जुन भने आफूमाथि लागेको आरोप गलत भएको दाबी गर्छन्।
केही समयअघि गायिका ममता राईले आफ्नो गीतको म्युजिक भिडियो बनाउन आफूलाई निर्देशक बताउने सुजन लामालाई ८० हजार रुपैयाँ बुझाइन्। भिडियोको लागि केही छायांकन पनि भयो। तर, लामो समय भिडियो बनेन। त्यसपछि ममताले सोधखोज गर्दा सुजनले भिडियो क्लिप्स नपुगेको भन्दै एडिटिङका लागि भनेर फेरि १० हजार मागे। त्यो पैसा लिएपछि सुजन सम्पर्कविहीन भए। ममता भन्छिन्, ‘सुजनले अरूलाई पनि ठगेका रहेछन्।’
म्युजिक भिडियो निर्देशक श्रीधर पौडेल संगीत क्षेत्रमा नयाँ कलाकार ठगिने समस्या ठूलो भएको बताउँछन्। भन्छन्, ‘डिजिटल क्यामराले भिडियो खिच्ने क्रम सुरु भएपछि जसले पनि भिडियो बनाउन थाले। त्यसपछि जो पनि निर्देशक, निर्माता र मोडल बन्न थाले र त्यहीँबाट विकृति सुरु भयो। मोडलिङमा रुचि भएकालाई पैसा निकाल्न लगाएर चलेको कलाकारसँग खेलाइदिन्छु भनेर ठगी गर्नेहरू पनि सक्रिय भए।’
गायिका दुर्गा साउद
बाग्लुङका एक युवालाई गीतमा मोडलिङ गर्ने रहरले डुबायो। एक वर्ष मलेसियामा दुःख गरेर उनी चार लाख रुपैयाँ लिएर देश फर्केका थिए। दोहोरी क्षेत्रका एक जना चर्चित नृत्य निर्देशक/ म्युजिक भिडियो निर्देशकसँग उनको मलेसियामा चिनजान भएको थियो। काठमाडौँ आएपछि ती युवाले निर्देशकलाई भेटे। ‘मोडल भएपछि नाम पनि हुन्छ, दाम पनि हुन्छ, मोजमस्ती पनि गर्न पाइन्छ’ भनेर ती निर्देशकले युवालाई लोभ्याए।
ठमेलमा लगेर दोहोरीका दुई जना नाम चलेका मोडल पनि भेटाइदिए। ती युवाले भिडियोका लागि निर्देशकलाई १ लाख ८४ हजार रुपैयाँ बुझाए। तर, भिडियो बनेन। निर्देशकले उनको फोन उठाउन छोडे। एक महिना बिदामा आएका उनी समस्यामा परे। त्यसपछि उनी बाग्लुङ पुगे। त्यहाँबाट फोन गर्दा ती निर्देशकले ‘अब ५० हजार थप्नुस्, दुइटा भिडियोमा खेलाइदिन्छु’ भने। चोभारमा दुइटा गीतको एकै पटक सुटिङ पनि भयो। सुटिङमा न गायिका थिइन्, न चिनिएका कुनै कलाकार। १२ जना कोरस राखेर युवालाई पनि ती निर्देशकले नचाए। ‘तर, पाँच वर्ष भइसक्यो, अहिलेसम्म भिडियो सार्वजनिक भएको छैन,’ ती पीडित युवाले भने।
नाम चलेकै पनि पीडित
संगीत क्षेत्र राम्ररी नबुझेका मात्र होइनन्, बुझेका र नाम चलेका संगीतकर्मी पनि बिचौलियाबाट पीडित छन्। अहिलेकी चर्चित गायिका मेलिना राई पनि ठगिएकी छिन्। एक वर्षअघि आफूलाई गीतकार, पत्रकार, आयोजक आदि बताउने राम रेप्चुङ राईले मेलिना लगायतका कलाकारलाई कार्यक्रमका लागि भनेर दार्जिलिङ लिएर गए। त्यहाँ गाएकी मेलिनाले त्यसको पारिश्रमिक नपाएको बताइन्।
धेरै गीत गाएका र संगीत भरेका बिनोद खम्बुलाई पनि उनै राम रेप्चुङले दार्जिलिङ लगेका थिए। त्यसको त पारिश्रमिक दिएनन् तर उताका आयोजकबाट उनले कलाकारलाई दिने भनेर पैसा लिइसकेका रहेछन्। त्यतिमात्र होइन, उनले खम्बुलाई १९ वटा गीतमा संगीत गरेको र कार्यक्रमको पैसा गरी करिब १ लाख ५० हजार जति दिएका छैनन्। खम्बु भन्छन्, ‘उसले विदेशमा रहेका गीतकारहरूसँग पैसा लिएर मलाई काम दिएको थियो तर उताबाट पैसा आएन भन्यो। मैले विदेशमा बुझ्दा पहिला नै पैसा लिइसकेको रहेछ।’
निर्देशक अर्जुन अधिकारी
रेप्चुङले म्युजिक भिडियो निर्देशक राकेश किराँतीलाई ‘विदेशमा बस्ने गरिब केटो छ, उसको श्रीमती पनि बितिन्, सस्तोमा भिडियो बनाइदिनुप¥यो’ भन्दै अनुरोध गरे। सामान्यतः एउटा भिडियोको ६५ हजार रुपैयाँ लिने राकेशले उनको कुरा पत्याएर प्राविधिक खर्च मात्र लिएर ४० हजारमा भिडियो तयार पारे। तर, रेप्चुङले त गीतकार साजन तामाङबाट भिडियोका लागि ८५ हजार र अडियोका लागि ४५ हजार रुपैयाँ लिएको राकेशले पछि थाहा पाए। राकेश भन्छन्, ‘मोडलसँग पनि २० हजार रुपैयाँ लिएको रहेछ। पछि थाहा पाउँदा पो छक्क परेँ।’
ठगिइने मात्र होइन, ठग्नेमा नाम चलेकै संगीतकर्मीको पनि बेलाबेला चर्चा हुन्छ। केही वर्षअघि गीतकार दिलिप बम्जनले फेसबुकमा संगीतकार महेश खड्काले ठगी गरेको भन्दै स्ट्याटस लेखेपछि सांगीतिक क्षेत्रमा त्यो चर्चाको विषय बनेको थियो। पैसा लिएर पनि काम नगरिदिएको र यस्ताबाट बच्न आग्रह गर्दै दिलिपले स्ट्याटस लेखेको थिए। चर्चित लोकगायिका सृजना ’विरही’ थापा गीत र संगीतको क्षेत्रमा ठगी परम्परा मौलाएको भन्दै यो क्षेत्रबाटै ओझेल परिन्। उनले विभिन्न अनलाइनमा संगीतमा ठगी धन्दा बढेकाले यो क्षेत्रबाटै आफू टाढिएको बताएकी थिइन्।
लगानीकर्ता सचेत छैनन्
लगानीकर्ता सचेत नहुँदा नेपाली संगीत बजारमा बिचौलियाले धेरैलाई बिचल्ली पारेको बताउँछन्, एसियन म्युजिक कम्पनीका सञ्चालक ईश्वर गुरुङ। संगीत क्षेत्र नबुझेका मान्छेबाट डेढ लाखदेखि दुई लाख लिएर ४० हजारमा काम सक्ने प्रवृत्तिका ‘खाने मान्छे’ टन्नै भएको उनी बताउँछन्। गुरुङ भन्छन्, ‘जो पायो, त्यसलाई पैसा बुझाउनु हुँदैन। पैसा दिँदा मौखिक भरमा मात्र दिनु हुँदैन।’
एरेन्जर राजन इसान यसरी ठग्ने मात्र होइन, ठगिइने पनि दोषी रहेको बताउँछन्। उनी भन्छन्, ‘अहिलेको जमानामा सीधै सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्न सकिने भएकाले बिचौलियासँग काम गर्नु मूर्खता हो।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले संगीत क्षेत्रमा ठेकेदारहरू धेरै छन् भन्ने गुनासो पहिलादेखि नै सुनेका हुन्।
उनको बुझाइमा यस्ता ठेकेदारको फन्दामा पर्नेहरू प्रायः गाउँबाट काठमाडौँ आएकाहरू छन्। आफ्नो नाम र अनुहार देखाउन खोज्ने लोभमा उनीहरू ठगिइने गरेको रसिक बताउँछन्। ‘रहर गरेर मात्र हुँदैन, त्यो रहरको कसैले शोषण गरिरहेको त छैन भन्नेमा पनि सतर्क हुनुपर्छ,’ रसिक भन्छन्, ‘आफ्नो रहर पूरा गर्न पैसा हाल्ने लगानीकर्ताले को कस्तो मान्छे हो भन्ने बुझ्न जरुरी हुन्छ। संगीत क्षेत्रमा बिचौलिया र ठेकेदारहरूले भाँडभैलो मच्चाइरहेको कुरा टन्नै सुनेको छु। जो ठगिन्छन्, उनीहरूले प्रहरीमा उजुरी गर्नुपर्छ।’
‘स्टुडियोहरू पनि पीडित छन्’
भीषण मुकारुङ
गायक/स्टुडियो सञ्चालक सेवा रेकर्डिङ स्टुडियो, अनामनगर, काठमाडौँ
स्टुडियोमा गीत रेकर्ड गराउनुपर्यो भन्दै केही त्यस्ता मान्छे आउँछन्, जो संगीतकार पनि होइनन्, सर्जक पनि होइनन्, न गायक नै हुन्। ठेकेदार बनेर आउने त्यस्ता मान्छेले प्रायः नयाँ रचनाकार, गायकका काम ल्याउँछन्। गीत रेकर्ड भएपछि सुन्नलाई दिनुपर्यो भन्छन्। सुन्नका लागि राम्रै क्वालिटीको गीत पेनड्राइभ वा मोबाइलमा सारेर लैजान्छन्। त्यतिबेलै पैसा माग्न पनि अविश्वास गरे जस्तो हुन्छ। गीत लिएर गएपछि कति त फर्किंदैनन्, उता गीतको भिडियो बनेर युट्युबमा आइसकेको हुन्छ। धेरै स्टुडियोहरू यसरी नै पीडित बनेका छन्। कसैले चाहिँ उता प्रोड्युसरबाट धेरै पैसा लिने तर स्टुडियो र संगीतकर्मीलाई थोरै दिने गरेका पनि छन्।
त्यस्ता बिचौलिया वा ठेकेदारहरू चलेका गायकगायिकासँग भेट्ने, सेल्फी खिच्ने र फेसबुकमा राखेर खूब प्रचार गर्छन्। उनीहरूसँग देश–विदेशबाट संगीतमा रुचि भएकाले सोधखोज गर्छन्। विदेशमा रहेकासँग ‘राम्रो गायक, संगीतकार र वाद्यवादकसँग काम गर्ने’ भनेर टन्न पैसा मागेर यहाँ २०÷२५ हजारमा काम गराउने बिचौलिया छन्। त्यसैले नेपाली संगीतको स्तर खस्किँदै गएको छ।
यस्तो धन्दा गर्नेहरू व्यावसायिक संगीतकर्मी होइनन्। उनीहरूबाट विदेशमा रहनेहरू धेरै ठगिएका छन्। यसलाई नियन्त्रण गर्न पनि गाह्रो छ। विशेष गरी, विदेशमा रहनेहरूले चलेका कलाकारसँग सेल्फी खिचेर पोस्ट गरेको आधारमा कसैलाई विश्वास गर्नु हुँदैन। साँच्चै राम्रो काम गर्ने मान्छे हो कि होइन भनेर बुझेर मात्र काम गर्नुपर्छ। अहिले त सामाजिक सञ्जालका कारण सीधै गायक वा संगीतकारसँग टाढैबाट पनि सम्पर्क हुन सक्छ। त्यसरी काम गर्दा ठगिइने सम्भावना नै हुँदैन।
‘म वरिष्ठ’ भन्दै ठग्ने रेप्चुङ
आफूलाई राम रेप्चुङ भनेर चिनाउने रामकुमार राईले गायक, संगीतकार, म्युजिक भिडियो निर्देशकदेखि विद्यार्थीसम्मलाई विभिन्न बहानामा ठगेको भन्दै पीडितहरूले सामाजिक सञ्जालमा अन्तरक्रिया चलाएपछि उनको असली रूप सार्वजनिक भएको हो।
धरानको सिटी कलेजमा अध्ययनरत उर्मिला वालिङ राईलाई कलाकारिता क्षेत्र एकदमै मन पर्छ। स्थानीय कलाकर्मी उनका साथी छन्। त्यही क्रममा उनको भेट भयो रेप्चुङसँग। उनले आफूलाई वरिष्ठ गीतकार, पत्रकार, गायकका रूपमा चिनाए। त्यसपछि सानो काम परेको भन्दै पैसा सापट मागे। १० हजार रुपैयाँ दिएकी उर्मिलाले पछि मात्र उनको वास्तविकता थाहा पाइन्। ‘पटक–पटक माग्दा अनेक बहाना बनाएर पैसा नदिएपछि अरू साथीहरूसँग पनि कुरा गरेँ,’ उर्मिला भन्छिन्, ‘कुरा गर्दै जाँदा त उनीबाट ठगिइने धेरै भेटिए।’ ठगीको आरोप लागेका रेप्चुङसँग यस विषयमा कुरा गर्दा उनले आफू उर्मिलाको पैसा फिर्ता गर्न तयार रहेको बताए। ‘मैले घर–परिवारको मान्छे सम्झेर त्यसो गरेँ,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘मेरो नियत नराम्रो होइन। परिस्थितिले यस्तो भयो।’ पीडितहरूले ग्रुप च्याट बनाएर कुरा गरेपछि उर्मिलाले ठगिने १७ जनाको नाम फेसबुकमा सार्वजनिक गरिदिइन्।
फाट्टफुट्ट गीत लेख्ने रेप्चुङ खास गरी हङकङ, यूके, खाडी मुलुकलगायत विदेशमा रहेका संगीतप्रेमी युवाहरूबाट गीत र भिडियो बनाइदिने भन्दै मोटो रकम लिने गर्छन्। त्यसपछि नेपालका कलाकारलाई सस्तोमा गाउन र संगीत गर्न लगाउँछन्। तर, त्यसरी सस्तोमा लगाएको पैसा पनि नदिँदा कलाकारहरू पीडित छन्।
पीडितहरूका अनुसार रेप्चुङले नयाँ कलाकारहरूलाई आफू पत्रकार भएको र राष्ट्रिय स्तरका मिडियामा पनि पहुँच भएकाले चर्चित बनाइदिने भन्दै पैसा लिने गरेका छन्। उनले होटलहरूमा समेत खाएर पैसा नतिरेको पाइएको छ। रेप्चुङले पैसा तिर्नुपर्नेहरूको सूचीमा कलाकार टंक मगर, राजु निमा, अञ्जना राई, महेन्द्र राई, अमृत राई, कोकिल मोक्तान, मनी राई, विजय राई लगायत मनशान्त, यति र हङकङ होटलको नाम पनि छ। हङकङ होटलका सञ्चालक भूपाल राई रेप्चुङबाट पैसा उठाउन नसकेको बताउँछन्।
भोजपुरमा जन्मिएका र हाल मोरङको याङ्शिला बस्ने रेप्चुङ बोल्दा गायक राजेशपायल राईको नक्कल गर्दै ठूलो स्वर बनाएर बोल्छन्। राजेशपायललगायत चर्चित कलाकारसँग फोटो खिचेर फेसबुकमा हाल्ने र उनीहरूसँग नजिक सम्बन्ध रहेको भन्दै गीत बनाइदिने जिम्मा लिन्छन्। ‘दर्शन नमस्ते’ भन्दै बोल्न सुरु गर्ने उनले राजेशपायललाई नै गीत गाउन लगाएर पैसा नदिएको अन्य पीडितहरू बताउँछन्। उनले काम गराएको स्टुडियोमा समेत पैसा तिरेका छैनन्।
एक जना पीडित भन्छन्, ‘आफूलाई वरिष्ठ पत्रकार, वरिष्ठ गायक, वरिष्ठ कलाकर्मी भनेर रेप्चुङले धेरैलाई ठगेका छन्। म वरिष्ठ भन्दै ठग्छन् उनी। होला त नि भनेर धेरै जना उनको जालमा फसिसके।’ उनीमाथि लागेको ठगीको आरोपबारे सोध्दा रेप्चुङले सम्पूर्णसँग भने, ‘सबैलाई परिवारभित्रका मान्छे सोचेर काम गरेँ। मेरो केही कमजोरी पनि भयो होला। अब आफ्ना कमजोरी सुधार गर्दै जाने सोचमा छु।’
गीत र भिडियोको खर्च
अहिले बजारमा चलेको रेटअनुसार एउटा गीत रेकर्ड गर्न ३० देखि ७० हजार रुपैयाँसम्म खर्च हुन्छ। गीत रेकर्डिङको स्टुडियोअनुसार तीनदेखि १० हजार, कम्पोजमा १० देखि ४० हजार र एरेन्जमा पाँचदेखि १५ हजार रुपैयाँ खर्च हुन्छ भने बाजाहरू कति हाल्ने त्यही अनुसार वाद्यवादनमा खर्च हुन्छ। गीतकारलाई भने तीनदेखि १० हजारसम्म तिर्नुपर्छ।
त्यस्तै, एउटा म्युजिक भिडियो बनाउन लोकेसन र प्राविधिक तथा निर्देशकअनुसार २५ हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने यस क्षेत्रमा आबद्ध रहेकाहरू बताउँछन्। यो सामान्यतया हुने खर्च हो। नाम चलेका कलाकार र निर्देशकलाई लिएर स्तरीय म्युजिक भिडियो बनाउने हो भने खर्च धेरै लाग्छ।