सन्तोष गौतम
म्याग्दी, १४ पुष – म्याग्दीको धौलागिरी गाउँपालीकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । शिवाङमा आयोजित समारोहमा ७ नम्बर वडा ताकम र ५ नम्बर वडा मल्कवाङ सहित गाउँपालीकालाई साक्षर घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न जानेपछि धौलागिरीका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । धौलागिरीसंगै म्याग्दीका ६ वटै स्थानीय तह र ४५ वटै वडा साक्षर घोषणा भएका छन् ।
दुई हजार ८१२ घरधुरीमा सत्र हजार १६ जनसंख्याको बसोबास रहेको धौलागिरी गाउँपालीकामा पन्ध्र देखि साठी वर्ष उमेर समूहका ९६ प्रतिशत अथवा १० हजार ६० जना साक्षर बनेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । साक्षर गाउँपालीका घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले घोषणाको ब्यवहारीक कार्यान्वयनमा जोड दिदै साक्षरता दर वृद्धी र सिकाईको निरन्तरतामा प्राथमिकता दिनुपर्ने बताए । उनले वडा, स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी जिल्लाको विकासको कामलाई गति दिन पहल गरिने बताए ।
गाउँपालीकाका अध्यक्ष थमसरा पुनले विभिन्न चुनौतीका बिच साक्षर घोषणा हुनु गाउँपालीकाका लागि महत्वपूर्ण उपलब्धी भएको बताउँदै सामाजिक परिवर्तनका लागि शिक्षा पहुँच र गुणस्तर सुधारमा जोड दिए । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले सरकारले तय गरेको विभिन्न १२ वटा सुचक पुरा भएपछि साक्षर घोषणा गर्ने मापदण्ड रहेको बताउँदै आगामी माघ ८ गते म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको बताए । ार्यक्रममा धौलागिरी गाउँपालीका उपाध्यक्ष रेशम छन्त्याल, ७ का अध्यक्ष कलानिधी सुवेदी, ५ का अगुवा अमर छन्त्याल, गुड नेवर्स ईन्टरनेशनलका जिल्ला संयोजक टुपेन्द्र खुलाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले मन्तब्य व्यक्त गरेका थिए । गाउँपालीका अध्यक्ष थमसरा पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको स्वागत र हेम मावीका शिक्षक नेत्रलाल शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्रोत व्यक्ती गिरीप्रसाद छन्त्यालले साक्षरताको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
Previous Articleबागलुङ महोत्सव सुरु पहिचाहन सहितको उत्पाद–भट्ट
Next Article नयाँ वर्ष ‘तमु ल्होसार’