उपन्यास अंश-मनसुन
सुबिन भट्टराई
कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका रहन्छन् आधा–अधुरा
सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु।
यस्तै सपना पाल्थें। आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ?
र, सोच्ने गर्थें, मैले सोचेजस्तै को निस्कने हो? कस्ती निस्कने हो ?
एउटा धमिलो चित्र कोरेको थिएँ मनमा। कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस्। नाच्न पनि को–को आएनन् मेरो मनमा ! मानौं, मेरो मन एउटा खुला स्टेज हो। मानौं, रोदीको आँगन हो।
तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा। कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा। आफ्नोआफ्नो भाग्यकै कुरा। कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा–अधुरा।
२.
जोडी मिल्यो। साइत हेराइयो। कुरा छिनियो। इन्गेजमेन्ट भयो। र, हेर्दाहेर्दै, कुर्दाकुर्दै, पत्तै नपाउने गरी समयको भीडबाट घुस्रँदैघुस्रँदै लुसुक्क आइपुगेरै छाड्यो—बिहाको मिति! रामेश्वरको बिहाको मिति!
रामेश्वरको बिहा अचानक भएको थियो। त्यो मान्छे थियो नै यस्तै, जे पनि उसको अचानक नै हुन्थ्यो। प्रेम पनि त त्यसको दुई महिनाको अन्तरमा दुईपल्ट भएको थियो।
फेसबुकबाटै एउटी केटी चिन्यो रे। दुर्ईचार पटक बोलिसकेपछि भन्यो रे, ‘मलाई तिमी मन प¥यो, मैले के गर्ने?’
केटीले पनि जवाफमा भनिछन्— ‘बिहे गर्ने।’
यसरी भएको थियो उनीहरुबीच प्रेम। बिहा गर्नलाई घरपरिवारसम्म कुरा पु¥याउन जरूरी थियो। दुवैले आआफ्ना घरमा कुरा गरे। रामेश्वरको घरबाट त पारित पनि भएको थियो। तर, केटीका घरमा समस्या देखियो। समस्या सुल्झाउन रामेश्वरका काका र म लमी बनेर केटीको घर गएका थियौं। (नेपाल मात्र त्यस्तो देश होला जहाँ दुईजनाबीच प्रेम भइसकेपछि पनि घरमा कुरा लैजानलाई लमीको आवश्यकता पर्छ।) तर, केटीका बाउ ‘यो बिहा हुँदै हुँदैन’ भनेर तर्किए। केटा र केटीको चिना मिल्दैन रे। अर्को ज्योतिषीलाई देखाऊँ भन्दा ‘दुई पुस्तादेखि हरेक कुरा मिलाउँदै आएको ज्योतिषी छाडेर अन्त कुरा मिलाउन गइँदैन’ भन्दै बूढा च्याँट्ठिए।
रामेश्वर प¥यो तनावमा। सुन्दरे र मैले केटी भगाउने सल्लाह दियौं। रामेश्वरले सोही कुरा प्रस्ताव गर्दा उता केटीका बाआमाले बिहा नगर्दिए मान्दिनँ भन्न थाली।
रामेश्वरको पालो अन्तिम कल फोन गरेर केटीलाई भन्दिएछ, ‘बाउआमाले खोजिदिएको चिना मिल्नेसँग बिहा गर्नू। मचैं मन मिल्ने अर्कै खोजेर बिहा गर्न आँटें।’
त्यसको एक हप्तामै रामेश्वरले घरपरिवार सारातिर हल्ला गरेर अन्तमा आफ्नै पुरानो घर धरानमै एउटा केटी फेला पा¥यो र बिहा धरानबाटै हुने टुङ्गो लाग्यो।
फुल ट्याङ्की पेट्रोल नसकुन्जेल कार्डहरु धमाधम बाँड्यौं। काठमाडौंमा हुन्जेल बानेश्वरदेखि कोटेश्वर, गैह्रीगाउँदेखि हाँडीगाउँ, सुकेधारादेखि ढुङ्गेधारा, जोरपाटीदेखि कुमारीपाटी। धरान पुगेपछि पनि धरान, इटहरी र विराटनगरका ठाउँठाउँमा कार्ड बाँड्यौं।
फागुन महिना थियो। रहलपहल जाडोले फागुनको पहिलो सातामा पनि धरानलाई आकलझुकल जिस्काइरहेथ्यो। घरी घाम तापूँ लाग्थ्यो घरी पङ्खामुनि बस्न जाऊँजस्तो हुन्थ्यो।
बिहा मुखैमा हुँदा आफन्त र छिमेकी महिलालाई पात गाँस्न बोलाइयो। तिनले पातभन्दा बढी बात गाँसे। बूढाहरुले खुसीयालीको बहानामा तासको खाल जमाए। दुर्ईचार पेग लगाए। कसैले पुरानोले काम चलाउने भएका थिए त कसैले नयाँ सुट सिलाएका थिए।
क्याटरिङवालादेखि ब्यान्डवाला, जन्ती लैजाने बसवाला, जेनेरेटरवाला, भिडियो क्यामेरावाला, पण्डित सबैको व्यवस्था भो।
ग्रहशान्ति र नानेमुखीको पूजा भयो। एउटा रूद्री पनि लगाइयो। निम्तालुमध्ये भान्जाभान्जी र छोरीहरुलाई टीको लगाएर दक्षिणा पनि दिइयो। साइपाटाका लागि झिलझिल टल्कने पेपरले किस्तीहरु ¥याप गरिए। किस्ती बोक्ने सातआठ जना कन्नेकेटीहरुको समेत प्रबन्ध भयो। सेलहरु पाके। कसार बटारिए। रत्यौलीका लागि लाउड स्पिकरको पनि व्यवस्था गरियो।
३.
रामेश्वरसँग परिचय भएको दिन।
पुल्चोक इन्जिनियरिङ कलेजमा भर्खरै भर्ना भएको थिएँ। क्लासमा साथीहरु एकजना पनि बनेका थिएनन्। त्यो दिन झरी परेको थियो। बेलुकीको चार बजेको थियो घडीमा। मसँग ओत केही थिएन। कलेज छुटेपछि मलाई नजिकैको बस स्ट्यान्डसम्म जान ओत चाहिएको थियो। छाता र बर्सादी भएका कति साथीहरु मेरै अगाडिबाट गए। कसैसँग गुहार माग्न सङ्कोच लागिरहेको अवस्थामा पछिल्तिरबाट रामेश्वर आएर आफ्नो कालो छाता उघार्दै मलाई भनेको थियो, ‘जाने होइन, साथी?’
‘साथी !’ ठ्याक्कै यही भनेको थियो रामेश्वरले। हँसिलो मुहार थियो उसको। लागेन ऊ मसँग पहिलोपल्ट बोलिरहेछ। लाग्थ्यो, ऊ वर्षौंदेखि मलाई चिन्दछ। म लुसुक्क उसको छाताभित्र छिरें र ऊसँगै बस स्ट्यान्डसम्म गएँ।
वर्षामा ओत बनेर आएको त्यही रामेश्वर मेरो जीवनमा पनि ओतजस्तै बनिरह्यो। भोलिपल्टै क्लासमा रामेश्वरले मलाई सुन्दरेसित परिचय गराइदिहाल्यो। अनि हाम्रो सम्बन्ध एक्स बराबर वाई बराबर जेडजस्तो भयो।
र, यसरी हामी तीनजनाको सानो टोली घनिष्ठ भयो।
रिस उठ्दा र जिस्काउन मन लाग्दा हामी रामेश्वरलाई ‘रामे चोर’ भनेर बोलाउँथ्यौं। सुन्दरलाई चैं सुन्दरे। दुईमध्ये रामेश्वर थियो वर्णन गर्न लायक।
रामेश्वर हामी तीनमध्ये सबैभन्दा मोटो थियो। ऊ होचो पनि थियो। उसको लम्बाइ र चौडाइ करिबकरिब बराबर हुन लागिसकेको थियो, स्क्वायर हुने तरखरमा।
हामी तीनजना खुलेआम बाटोमा हिँडिरहँदा म घरीघरी सोच्थें, नेपाल सरकारले समातेर उसलाई म्युजियममा नराख्ने भूल किन गर्दैछ?
सुन्दरेको अनुहार नामजस्तै भए पनि शरीर कुनै अनिकाल लागेको ठाउँबाट रेस्क्यु गरी ल्याइएका मानिसजस्तो दुब्लोपातलो थियो।
बिहाका लागि म र सुन्दरे तीनचार दिन अघि नै धरान पुगेका थियौं।
बिहाको दिन बिहानै सुन्दरे र म रामेश्वरको बिहाको कार सिँगार्न लागिरहेका थियौं। लाङ्घाली चोकबाट भानुचोकस्थित सिद्धि नेवा पार्टी प्यालेसमा जन्ती जानु थियो। उस्तो टाढा थिएन।
रङ्गीचङ्गी बेलुन, रिबन, फूललाई बेहुलाको कारमा टाँस्ने काममा हामी दुई खटिएका थियौं। सुन्दरे कुन चिज कहाँ टाँस्ने भनेर देखाउँदै थियो भने म उसले भन्याभन्या ठाउँमा टेपले बेलुन, रिबन, फूल टाँस्दिने काम गरिरहेको थिएँ। टाँस्ने काम सकिएपछि बेहुला र बेहुलीको नामको अल्फाबेट मिलाउने काम रह्यो।
रामेश्वरकी हुनेवाला पत्नीको नाम प्रतिज्ञा थियो। अर्थात्, नियममुताबिक आर प्लस पी लेख्नुपर्ने भो।
सुन्दरेले भनेको थियो, ‘आजबाट रामेश्वर सहिद हुने भो।’
‘सहिद’ शब्दले मलाई भूपीको कविता याद दिलायोः
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलक दुईचार सपुत मरेर नगए ।
के रामेश्वर मुलुक बनाउनलाई बिहा गरिरहेछ?
सुन्दरेले फेरि भन्यो, ‘सहिद हुने मान्छेको कारमा पनि केको आर प्लस पी? आरआइपी लेख्नुपर्छ।’
बेहुलाको कारमा ‘आरआइपी!’ मलाई हाँस उठ्यो।
त्यो लेख्दाभन्दा पढेपछि झनै हाँस उठ्यो। पेट मिचिमिची हाँस्यौं हामी।
हामीलाई देखेर रामेश्वरका बाले सोधे, ‘किन हाँसेका?’
हामी चुप लाग्यौं। बूढा गइसकेपछि फेरि हाँस्यौं। हाम्रो खित्का देख्नेहरुले हामीलाई ‘पागल’ भने होलान्।
सिँगारिँदै गरेको रामेश्वरलाई बाहिर कार भए ठाउँमा ल्याएर देखायौं। तर, ऊ हाँस्न सकेन।
(आज शनिबार सार्वजनिक हुने सुबिन भट्टराईकृत उपन्यासको अंश)