गत बैशाखमा स्थानिय निकायको निर्वाचन सम्पन्न भए यता देशका सबै स्थानिय निकायमा यतिबेला जनताद्धारा छानिएका प्रतिनिधिहरुले काम गरिरहेका छन् । चुनावको बेला विभिन्न खालका योजनाहरु तथा घोषणाहरु गरेर जनताको घरदैलोमा पुगेका जनप्रतिनिधिहरु जो निर्वाचित भए उनीहरु अहिले जनताको काम गर्ने थलो सम्हालेर बसेका छन् । लामो समयपछि पुर्नसंरचना भएका स्थानिय निकायहरुले जनप्रतिनिधि पाए । करिब २० बर्षपछि पहिलेको भन्दा फरक संरचना बनाएर निर्धारण भएका स्थानिय निकायमा जनताले छानेका प्रतिनिधिको प्रबेशले आम सर्बसाधारणमा एक खालको उत्साह छाएको छ । कर्मचारीतन्त्रको दुःख दिने प्रबृत्ति र आफ्ना गुनासो सुन्ने निकाय नभएर ब्याकुल बनेका सर्वसाधारणको लागि स्थानिय निकायमा निर्वाचित भएकाहरु आशाका केन्द्र हुन् । चुनावको बेला विभिन्न विचार समुहबाट मैदानमा आएर उम्मेदवारले बिबिध कालका विकासे सपनाहरु लिएर आए ।
कसैका ति देखाईएका सपनाहरु अनुमोदन भएभने कसैका भएनन् । तर जसका जसरी योजना तथा घोषणाहरु अनुमोदन भएपनि आम सर्बसाधारणले सेवा पाउने आशामा भएका हुन भन्ने कुराको निर्वाचित प्रतिनिधिहरुमा हेक्का हुन जरुरी छ । त्यो कहिल्यै भुल्नु हुदैन । अमुल्य मतको दान गरेर जनताले कुनै पार्टि वा संगठनका ब्यक्तिहरुलाई स्थानिय निकायको बागडोर सम्हाल्न पठाएका हैनन् । जनताका काम गर्ने आशाले पठाएका हुन् । खाली कुर्सीमा खुट्टामाथि खुट्टा खापेर चिसोमा घाम ताप्न र फेरी राज्यको ढिकुटीको दोहन गर्ने प्रबृत्ति भने आम सर्वसाधारणका लागि मान्य हुने छैन् । स्थानिय तहको निर्वाचन भएको आधा बर्ष बितेको छ । निर्वाचित भएको एक सय दिनमा गरेर देखाउँछौं भनेका कामहरु समेत निर्वाचित सदस्यहरुले आधा बर्षमा समेत सुरुवात नगरेको गुनासो आम सर्बसाधारणमा छ । केही वडा, गाउँपालिका र नगरपालिकाका नमुना जनप्रतिनिधिहरुले बाहेक अन्यले लामो समय बितिसक्दा समेत कामको थालनी गरेको देखिएको छैन् । नियमित कामबाहेक बर्षौंदेखी चल्दै आएका योजनाहरुका काम मात्रै भएका छन् तर नयाँ कामको थालनी भएका उदाहरण प्रस्तुत गरौं भन्दा उदाहरणको लागि योगय कामहरु समेत भएका छैनन् ।
संक्रमणमा रहेका स्थानिय निकायको लागि उपल्लो तहबाट आएका नीति निर्देशनका कारण केही बाधा त होलान तर तल्लो तहका सर्वसाधारणका काम गर्नको लागि भने कुनैपनि बाधा ब्यबधान नभएको कुरा प्रष्ट छ । नगरपालिका, गाउँपालिका तथा वडाहरुमा आएको बजेटलाई कनिका बाँडेको जस्तो बाँडेर पुरानै प्रबृत्तिमा काम गर्नको लागि जनताले चुनेर पठाएका हैनन् । अब जनप्रतिनिधिहरुले बनेका अनावस्यक बाटाहरुको स्तरोउन्नती, पानी नआउने धारामा टुटीको ब्यबस्थापन, शिक्षक नभएको बिद्यालयमा भौतिक पुर्वाधार, प्राबिधिक नभएको स्वास्थ्य संस्थामा एक्सरे मेसीन हैन नयाँ बाटोहरुको निर्माण तथा दिगो ब्यबस्थापन, धाराहरुमा पानीको ब्यबस्था, स्वास्थ्य संस्थाहरुमा डाक्टर तथा कर्मचारीको व्यवस्था र बिद्यालयहरुमा शिक्षकको व्यवस्थापन गर्दै उपलव्ध स्थानिय स्रोत साधनको प्रयोग गरी उत्पादनशिल क्षेत्रमा काम गर्न जरुरी छ । नमुना काम गरेकाहरुको अनुसरण गर्दै आँफैले जनताको प्रत्यक्ष सहभागितामा तय भएका योजनाहरुका लागि बजेटको ब्यबस्थापन गर्दै कामको थालनी गर्नु आजको आवस्यकता हो । गरीबि न्युनिकरण र रोजगारी सिर्जना हुने गरी कामको थालनी गरौं । तबमात्र जनताले जनप्रतिनिधिप्रति विश्वास गर्नेछन् । जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व हो ।
Previous Article२०७४ पुस १२ गते बुधबारको राशिफल
Next Article विपद व्यवस्थापनमा सरोकारावालाको भूमिका