म्याग्दी, १२ पूस– वनपाखामा कुहिएर खेर गइरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको माध्यम बनेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवाको प्रशोधन गरेर धागो र कपडा बनाउन थालिएपछि स्थानीयवासीले आयआर्जनको अवसर पाएका हुन् ।
धौलागिरि गाउँपालीकाको गुर्जा, लुलाङ, मुना, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुइनेमंगले, पाखापानी, चिमखोला क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन गरेर सयाँैले रोजगारी र आयआर्जन गरिरहेका छन् । केही वर्षअघि सम्म त्यसै कुहिएर खेर जाने गरेको पुवा संकलन गरेर एकै जनाले रु ५० हजारसम्म आम्दानी गर्न सफल भएको रघुगंगा गाउँपालिका–८ की रनसरा छन्त्यालले बताइन् । पुस–माघ महिना लोक्ता संकलनको याम हो । स्थानीयबासीका अलावा जंगलमा भेडाबाख्रा र गाईवस्तु चराउन जाने गोठालाले पनि लोक्ता संकलन गरेर अतिरिक्त आम्दानी गरेका छन् ।
अल्लोको पुवा प्रशोधन गरेर धागो र कपडा बनाउने गरिएको छ । एक किलो पुवा रु. ४०० मा बिक्री हुने गरेको छ । म्याग्दीमा व्यक्ति र विभिन्न समूहले दशवटा अल्लो प्रशोधन उद्योग सञ्चालन गरेका छन् । जंगलबाट ल्याएको पुवालाई तातोपानीमा पकाएर सुकाएपछि स–सानो रेशा निस्कने गर्छ । त्यसलाई चर्खामा घुमाएर धागो बनाउने गरिएको मुग्लानी अल्लो कपडा उद्योगका सञ्चालक खोजेन्द्र मल्लले बताए । सो धागोबाट कपडा तयार पारी कोट, झोला, पर्स, सल र स्वेटर बनाउन सकिन्छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडाको माग बढेको धौलागिरि गाउँपालिका वडा नम्बर ७ धारापानीको नेचुरल नेप्लिज हयाण्डी क्राफ्ट प्रोडक्ट एण्ड मार्केटिङ प्रा.लिका सञ्चालक किरन थापाले बताए ।
उद्यमीका अनुसार, बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडाको माग स्वदेश तथा विदेशमा बढेको छ । गत चैतमा सञ्चालनमा आएको उक्त उद्योगबाट हालसम्म रु. तीन लाखको अल्लो कपडा बिक्री भइसकेको छ । थप चार सय मिटर कपडा बिक्री हुन बाँकी रहेको र बजारको खोजी भइरहेको थापाले बताए । प्रतिमिटर अल्लोका कपडा गुणस्तरअनुसार रु ४०० देखि ८५० का दरले बिक्री हुने गरेको छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ ।