काठमाडौं, ११ पुस-केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘पश्चिमी वायुको सामान्य प्रभावले नै आज पश्चिमका एक\दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ, यसको प्रभाव अझै बढ्ने देखिएको छ,’ उनले भने ।
मंगलबार काठमाडौँ उपत्यकासहित देशका मध्य र पश्चिमी भेगमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रतिकूलकै कारण तराईका केही विमानस्थलबाट काठमाडौँ उडान भर्न नसकेको बताइएको छ ।
काठमाडौँको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १९ डिग्रिसेल्सियस रहेको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि उपत्यकासहितका क्षेत्रमा चिसो बढेको छ । पुसको पहिलो साता काठमाडौँको न्यूनतम तापक्रम घटेर दुई डिग्रिसेल्सियससम्म पुगेको थियो ।