तारानाथ आचार्य
बागलुङ, ११ पूस– वडा भित्रका सर्वसाधारणलाई उद्यमी बनाउन नमुना प्रस्तुत गर्न भन्दै बानपा–१४ नारायणस्थानका वडाअध्यक्ष चक्रबहादुर खत्रीले तरकारी खेती सुरु गरेका छन् । थोरै जमिनमा पनि मेहनत गरेर खेती गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न खत्रीले तरकारी खेती गरेका हुन् । घर छेउमा रहेको आठ आना सुख्खा जमिनमा मौसमी तरकारी खेती गरेर नमुना प्रस्तुत गर्न लागेको खत्रीले बताए । घरछेउको बारिमा लगाईएको तरकारीले सिजनमा ४० देखी ५० हजार सम्म आम्दानी हुने गरेको उनको भनाई थियो ।
वडाको मुटुमा रहेको गाउँको बिचमा घर रहेको र घरको नजिकैबाट सडक रहेकाले आउने जानेहरुले खेती देखेर सिको गर्न थालेको खत्रीले बताए । ‘सामाजिक कार्यकर्ता भएकाले मसँग धेरै समय हुँदैन्’ खत्रीले भने ‘दिनमा एक घण्टा समय दिएर बनाएको तरकारीले राम्रै आम्दानी भएको छ ।’ आर्थिक लाभको लागीभन्दा पनि थोरै जमीन र थोरै समय दिँदा मात्रै पनि आम्दानी हुने काम गर्न सकिन्छ भनेर आफुले तरकारी खेती गरेको खत्रीले बताए । ‘थोरै समय दिएर पनि मेहनत गर्ने हो भने प्रशस्त आम्दानी हुँदो रहेछ भन्ने आमसर्वधारणमा परोस’ उनले भने ‘धरैले मेरो सिको गरेर तरकारी उत्पादनमा लागेका छन् ।’ सुख्खा बारीमा पानिको राम्रो प्रबन्ध गर्न नसके रोपेर बिरुवा समेत मरेर जाने अवस्था भएपनि खत्रीले भने पानीको लागि राम्रो प्रबन्ध मिलाएका छन् ।
नजिकैको धारोमा प्रयोग भएर खेर गैरहेको पानी र भान्छाबाट निस्कीने फोहोर पानीको व्यवस्थापन गरेर सिंचाईंको व्यवस्था मिलाएको उनले बताए । गत बैशाखमा सम्पन्न स्थानिय निकायको निर्वाचनबाट वडाअध्यक्षमा निर्वाचित भएका खत्री त्यसअघि पनि नारायणस्थानका बिभिन्न सामाजिक संस्थाको नेतृत्वमा थिए । ‘म सामाजिक अभिन्ता हुँ मैले नै केही नगरे समाजले कसरी सिक्ने’ खत्री भन्छन्– ‘अरुलाई गर भन्नुभन्दा पहिले आफुले गरेर देखाउन जरुरी छ ।’ घरमा काम गर्ने जनशक्ति नभए पनि खत्री र उनकी श्रिमती मिलेर मौसमी तरकारी उत्पादनमा काम गर्ने गरेका छन् । दुई छोरा पढाईको शिलशिलामा पोखरामा रहेको र छोरीको बिबाह भैसकेकाले घरमा दुई बुढा बुढी मात्रै छन् ।
‘पहिले–पहिले जस्तो आफु बसेर गर भनेर कसैले पनि केही गर्दैनन्’ उनी भन्छन्– ‘अहिलेत आफुले गरेर हेर अनि गर भनेपछि मात्रै केही गर्ने जमाना आयो ।’ खत्रीले वडा भित्रका सम्पुर्ण किसानहरुले उत्पादनमुलक काम गर्नुपर्नेमा जोड दिए । ‘अब सरकारले गर्दिन्छकी भनेर बस्ने समय छैन्, आफ्नो लागि आफै गर्नुपर्छ त्यसमा राज्यले सहयोग गर्ने हो ।’ खत्री भन्छन ‘दश नङ्ग्रा खियाएर उत्पादन भएको बस्तुको प्रयोगले सबैलाई हित गर्छ ।’ थोरै जमिनको प्रयोग गरेर तरकारी खेती गरेका खत्रीको करेशाबारीमा अहिले काउली, ब्रोकाउली, मुला लगायतका तरकारीहरु बिक्रीको लागि तयारी अवस्थामा छन् ।
Previous Article२१ लाख रुपैयाँ राजस्व संकलन
Next Article ११ पूस २०७४, धौलागिरी स्टार साप्ताहिक