शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा जिल्लाको समग्र भू– भाग होस् या गाउँ वा नगरपालिकालाई एकल होस् खुल्ला दिशामुक्त पुर्णसाक्षर, पुर्ण खोपयुक्त जस्ता घोषणा गर्ने कार्य जारी छन् । केही बर्ष अगाडि मात्रै जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको थियोभने करिब दुई बर्ष अगाडि मात्रै जिल्ला पुर्णसाक्षर जिल्लाको रुपमा घोषणा भएको थियो । यतिबेला जिल्लाका बिभिन्न गाउँ तथा नगरपालिकाहरुलाई पुर्ण खोपयुक्त घोषणाका लागि तयारीहरु भैरहेका खबर अखवारहरुमा आउन थालेका छन् । केही दिनअघि मात्रै जिल्लाको बरेङ गाउँपालिकालाई पुर्ण खोपयुक्त गाउँपालिका बनाउनका लागि गाउँपालिकाले तयारी थालेको खवर सञ्चारमाध्याममा आएको थियो । यो वा त्यो प्रयोजनका लागि आयोजना हुने यस्ता खालका अभियानहरु सामाजिक विकासका लागि महत्वपुर्ण त छँदैछन् समग्र राष्ट्रको चौतर्फी विकास गर्नमा समेत यस्ता खालका अभियानहरुले टेवा पु¥याउँछ । जिल्ला खुल्ला दिशामुक्त घोषणा भएको बर्षौ बितेको छ । अभियानका क्रममा जिल्लाका अधिकांश घरहरुमा शौचालयहरुको निर्माण भए । कति पक्की शौचालय बने भने कति कच्ची शौचालय बनाएर अभियानले पुर्णता पाएको भन्दै जिल्लालाई खुल्ला दिशामुक्त जिल्लाको रुपमा प्रस्तुत गरियो ।
अभियान चलेको बेला बास्तवमा यो जिल्ला खुल्ला दिशामुक्त थियो । किनकी सबै घरहरुमा पक्की वा कच्ची शौचालयको निर्माण भएकै थियो तर सार्वजनिक ठाउँहरुको दुर्गतीको भने नजरअन्दाज गरियो । अभियान सफल भएको घोषणा गर्ने प्रयोजनको लागि मात्रै बनाईएका कच्ची शौचालयहरु यतिबेला भत्केका छन् । अभियान चलाएको गैह्रसरकारी संस्था कार्यक्रम सकिएकोले जिम्मेबारीबाट बिदा भएसँगै शौचालयहरु भत्किन थालेका हुन् र अहिले खुल्ला दिशाको परिदृष्य देखा पर्न थालेका छन् । अर्कोतर्फ जिल्लालाई पुर्णसाक्षर बनाईयो । साक्षर बनाउनका लागि खटिएका अभियान्ताहरुको अवकाससँगै जिल्लामा निरक्षरहरुको संख्या पनि बिस्तारै खुल्न थालेका छन् । यो बिडम्बनाको कुरा हो । निश्चित समयको कार्यक्रम बनाएर हुने यस्ता खालका अभियानका कारण दिर्घकालीन असर गर्ने परिणाम निस्किनु समुदायको हितको बिपरित कुरा हो । यसले राष्ट्रलाई पनि भलो गर्दैन् ।
यतिबेला जिल्लामा पुर्ण खोपयुक्तको अभियानको चर्चा चुलिएको छ । यस्ता खालका कार्यक्रम तथा अभियानहरु आम समुदायको लागि हित उपयोगी हुने भएपनि निश्चित समयको सिमा लिएर कागजी लक्ष्य प्राप्तीको दौडाहामा रहेका सरकारी तथा गैह्रसरकारी संस्थाहरुको अभिष्ठ पुरा गर्नका लागि हुनु दुःखद कुरा हो । सरोकारवाला निकायले कार्यक्रम चालु रहेको अवस्थामा काम द्रुत गतिमा गर्ने र कार्यक्रम सकिएपछिको व्यवस्थापन र अनुगमनको लागि संयन्त्र तयार गर्न नसक्दा आज यस्ता खालका समस्याहरु देखा परेका हुन । विकासोन्मुख देशमा चेतनाको कमी हुनु स्वभाविक पक्ष हो । यस्तो अवस्थामा विकासे संस्थाहरुले कार्यक्रमहरु तय गर्दा दिर्घकालीन सञ्चालनको आधार तयार हुनेगरी तयारी गर्नु जरुरी हुन्छ । समयको सिमामा रहेर सिमित स्वार्थका लागि मात्रै सञ्चालन हुने अभियानहरुलाई उपलव्धिमुलक बनाउन जनसमुदाय स्तरबाट आवाज उठाउँदै सरोकारवाला निकायलाई जिम्मेबार बनाउनु आजको आवस्यकता हो ।
Previous Articleफेरी पनि आलोपालो कै कुसंस्कार
Next Article २१ लाख रुपैयाँ राजस्व संकलन