सोम शर्मा
विकास र समृद्विमा विकसित मुलुकले निकै फड्को मारिसकेको छ । सूचना, प्रविधि, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा विकसित देशले आफुलाई अब्बल सावित गरेका छन् । स्वास्थ्यमा प्रतिकुल असर पार्ने तथा वाताबरणलाई पनि असर गर्ने फोहोरलाई ब्यबस्थित गर्नको लागि विभिन्न प्रबिधिको विकास र प्रयोग भएको छ । अब कुरा गरौ फोहोरको एउटा प्रमुख श्रोत “धुलो” को बारेमा । धुलो त्यस्तो फोहोर हो जसले बाताबरणलाई असन्तुलित र कुरुप बनाउने गर्छ । यसको प्रभाब टाढा–टाढासम्म पनि पर्ने गर्छ । झन् मानबिय स्वास्थ्यको लागि त धुलो रोगको प्रमुख कारकको रुपमा लिने गरिन्छ । धौलागिरी अन्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीका अनुसार, धुलो यस्तो चिज हो जसले कुनै एकमात्र हैन हरेक रोग निम्त्याउने गर्छ । यसको कारणले “ऋइएम्” नामक रोगको सिकार हुन सक्छ । मुटु, फोक्सो, छाती, एलर्जी, स्यांस्यां हुने रोग, छाला सम्बन्धी रोग पनि लाग्न सक्छ र हामीले खाने खाजा ,खाना, तरकारी, अझ पानीपुरी र चटपटेमा त अधिक धुलो हुनेगर्छ र त्यो खाना मानिसको शरीरमा जाने हुनाले यसले मानवीय शरीरलाई बिषको जस्तै असर गर्न पनि सक्छ । जसले गर्दा मान्छेलाई अनेकथरि रोगले समात्न सक्छ । धुलाम्य बातावरण नै नेपालीको औसत आयु कम गराईरहेको छ ।
धुलोले गर्दा वातावरणमा कुरुपता ल्याउनुका साथै खानपान, हिड्डुल, सहज जिबनयापनमा पनि असहज बनाइरहेको हुन्छ । बाटो छेवैमा राखेको पसल होस या बाटोमा हिंड्डुल गर्ने पैदलयात्री हरेकलाई असर पारिरहेको हुन्छ । अब हामी हाम्रै शहर बागलुङको बारेमा कुरा गरौं । सायद बागलुङमा बस्ने हरेक ब्यक्तिलाई यो राम्रोसंग नै ज्ञान छ कि बागलुङमा धुलोको कत्तिको शिकार हुनुपर्छ । सुकिलो–मुकिलो भएर बाहिर हिंडेको मान्छे बाहिर गएर आउँदा धुलाम्य अवस्थामा घर या कोठामा फर्किनु पर्ने तितो यथार्थमा हरेक बागलुङबासी सहमत छन् । बागलुङ बजारको मुख्यरोड भनेर चिनिने नयाँहुलाक चोकदेखी जिपपार्कसम्म धुलोको बहाव निकै देखिन्छ । उपल्लाचौर साइडमा पनि अति नै धुलोको सिकार हुनुपर्छ । हुन त धुलो नहुने ठाउँ कहाँ नै होला र । तैपनि सामान्य र अति धुलो उड्ने ठाउँ फरक–फरक छन । जहाँ सबारीसाधन ब्यापक गुड्ने गर्छन त्यहाँ अरु ठाउँको भन्दा बढी नै धुलो उड्ने गर्छ । पुरानो बसपार्क एरिया, नयाँ बसपार्क एरिया, शिवधारा चोकको एरिया, जिपपार्कदेखी नयाँ अदालतचोकको बाटो, उपल्लाचौरको एरिया, क्याम्पस गेट वरपरको एरिया र त्यहाँबाट कर कार्यालयसम्म जाने बाटोको एरिया, शिवधाराबाट रात्माटा जाने बाटो, देउराली चोकको एरिया अधिक धुलो उड्ने एरियामा पर्ने गर्छन् । यसबाटोमा हिंड्ने र पसल गर्ने जो कोहीलाई पनि धुलोले निकै सास्ती दिइरहेको छ । र यस वरपर डेरामा बस्नेलाई पनि त्यो धुलोको असरले कोठामा नै असर पार्ने गरेको बताउने गर्छन । यसै अबसरमा मैले बागलुङबासी केही ब्यक्तिलाई यसको प्रभाव बारेमा सोधेको थिएँ । उहाँहरुको धारणा यस्तो पाइयोः ढिकीचौरबाट आई बागलुङ बजारको शिबधाराचोकमा डेरा लिएर बसेका प्रकाश गैरेः धुलोले गर्दा एकदमै सास्ती व्यहोर्नु परेको छ । कोठा संधै धुलाम्य हुन्छ । सफा गरेर राखेको कपडा, भाडा पनि फोहोर भैहाल्छन । शरीर पनि दिनहुँ धुलाम्य हुन्छ । हरेक दिन सफा गरौ भने फेरी पानीको पनि अभाव रहेको छ । तसर्थ धुलोमा नै बस्न, खान बाध्य छौं । स्वास्थ्यमा पार्ने प्रभाबको त झनै कुरै नगरौं । जिपपार्कस्थित मधुर खाजा घरका सन्चालक गोकुल शर्माः सडकमा उड्ने धुलोले निकै सास्ती बनाएको छ । मिठाई तथा खाजाका परिकारमा प्रभाब पारेकै हुन्छ । तैपनि हामीले सकभर कम प्रभाब होस भनेर सिसा भित्र राख्ने गर्छौं तर पुर्ण रुपमा त कहाँबाट सफा राख्न सकिन्छ र । समय–समयमा टेबलकुर्ची सफा गर्नुपर्छ । कहिलेकाहिँ ग्राहकहरुले कस्तो धुलो रैछ भन्छन । धुलोले गर्दा त मलाई मात्र हैन बागलुङका हरेक ब्यापारीको ब्यापारमा प्रत्यक्ष प्रभाव पारेको छ । तर के गर्नु यसको उपाय नै छैन । सम्बन्धित निकाय मौन छ ।
यसरी हेर्दा बाग्लुङ्बासी धुलोबाट आजिद छन । यहाँ स्वच्छ खाना, राम्रोसंग हिंड्डुल गर्न र यहाँ सम्मकी धुलोकै कारणले गर्दा कतिपय ब्यबसायीको व्यापारमा समेत गम्भिर असर परेको छ । अझ काठमान्डौतिर त यही धुलोकै कारणले ब्यबसाय नै छोड्ने मनस्थितिमा समेत पुगेको हुन्छन । हुनतः काठमान्डुको तुलनामा बागलुङमा निकै कम धुलो छ । तैपनि बागलुङ्ग क्षेत्र सानो भएकोले पनि यसलाई नियन्त्रण गर्न खासै असहज चाहिँ हुंदैन । सरसफाई हरेक ब्यक्तिको लागि चाहिन्छ । सरसफाई बिनाको समाज कसरी स्वच्छ हुन सक्ला र ? सफा र सुन्दर समाजको परिकल्पना हामी सबैले गर्छौ तर पनि हाम्रो समाज सफा र सुन्दर हुन सकेको छैन । बजारको भन्दा पनि गाउँघरतिरको अवस्था त धुलोको कारणले अझै दयनिय छ । झन् बाटोको छेवैमा हुने घरको अवस्था त विकराल छ । गाउँघरतिर बाटो पिच पनि भएको हुंदैन । यसले गर्दा बाटोमा धुलोको मात्रा एकदमै धेरै हुने गर्छ र गाडी गुड्दा त्यो धुलो उडेर अन्तत घरलाई नै ढाक्ने गर्छ । बिहुं, गलकोट, बलेवा, भिमपोखरा, मालिका जस्ता बाटोको छेवैमा रहेका घरलाई हेरेर पनि सहजै अनुमान लगाउन सकिन्छ कि ति घरका सदस्यहरु धुलोबाट कतिसम्म आजित छन । के तिनीहरुको स्वास्थ्य र जीवनयापन सहज होला त ।
अब लागौ धुलोको समस्या समाधान कसरी र कस्ले गर्ने भन्नेतिर । के हामी धुलोको सिकारले गर्दा रोग निम्त्याएर बस्ने हो त ? खासमा यसको निराकरण कसरी र कस्ले गर्ने भन्ने प्रश्न पनि उब्जिन सक्छ । हामीले सुनेका थियौं स्थानिय चुनाबमा काठमान्डौं शहर लाई १०० दिनमा धुलोमुक्त शहर बनाइनेछ भनेर । अहिलेका मेयर बिद्यासुन्दर शाक्यले आफ्नो घोषणापत्रमा राखेका थिए । तर १०० दिनमा उनले बाचा पुरा गर्न सकेनन् । निकै समयपछि अहिले धुलो ब्यबस्थापनलाई केहि चासो दिएर काम गर्न लागेको जस्तो देखिन्छ । यसरी हेर्दा यसमा सरोकारवाला निकायको नै कमजोरी देखिन्छन । त्यसैले अब बागलुङ नगरको धुलो नियन्त्रण तथा वातावरण सफा बनाउने जिम्मेवार निकाय पक्कै पनि नगरपालिका, गाउँपालिका र सम्बन्धित वडा कार्यालय पनि हुन्छ । हामीले नगरपालिकालाई तिर्ने करले हाम्रै वरपरको विकास हुनुपर्छ । सामाजिक, वातावरणिय तथा भौतिक विकास हुनुपर्छ । यसो भन्दै गर्दा वातावरणलाई सफा राख्ने हाम्रो कुनै जिम्मेवारी हुंदैन भन्ने पनि हैन । त्यहाँ बसोबास गर्ने आमनागरिक पनि त्यत्तिकै जिम्मेवारी हुनुपर्छ । हाम्रो घर वरपर सरसफाई राख्ने दायित्व आमजनताको पनि हो । अरुलाई दोष थुपारेर आफु आफ्नो जिम्मेवारिबाट पन्छिनु पनि असल नागरिकको पहिचान होईन । हामीले आफ्ना जनप्रतिनिधिले आफ्नो क्षेत्रको विकासको लागि कत्तिको चासो दिएका छन ? यदी छैनन् भने झक्झक्याउनु पर्छ । बागलुङ बजारको सरसफाइलाई सरोकारवाला निकायले कत्तिको ध्यान दिएका छन त ? धुलोधुवा र यसले पारेको प्रत्यक्ष र अप्रत्यक्ष असरलाई कम गर्न, नियन्त्रण गर्न सरोकारवालाको ध्यान पुग्न नसकेको होला त ? सरोकारवाला यसो भन्छन् ।
बागलुङ बजारको फोहोर ब्यबस्थापनको जिम्मेवारी पाएको धौलागिरी फोहोर ब्यबस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड बागलुङ्गका अध्यक्ष सुधिर श्रेष्ठः बास्तबमै बागलुङमा फोहोर ब्यबस्थापन गर्न त्यती सारो गाह्रो नै त हैन तर सम्बन्धित निकायको चासो अझ प्रबल हुने होभने वातावरण ब्यबस्थापन गर्न सहज छ । बातावरण सफा भयो भने धुलो यत्तिकै कम भैहाल्छ । नगरपालिका लगायतका सरोकारवाला निकायले त्यति ध्यान नदिएको हुनाले योजना अनुरुप काम गर्न सकेका छैनौं । हामीलाई नगरपालिकाले पुर्णसहयोग गर्ने होभने अबको दुई बर्षमा बागलुङ्लाई सफा बनाउने सक्छौ ।
बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेलः– बागलुङ बजारमा धुलोको मात्रा कति छ त्यसको बैज्ञानिक पुष्टी त छैन तर बागलुङ्मा धुलाम्य छ । धुलो आउने प्रमुख कारण भनेको मध्यपहाडी लोकमार्ग, सुलडाँडा, कालीगण्डकी कोरिडोरबाट धुलाम्य सबारी प्रबेश गर्दा संगै लिएर आउने धुलो । समन्वयको अभावमा खानेपानी कार्यालयले पाइप बिछ््याउँदा र मर्मत गर्दा खनिएका खाल्डा नपुर्दा त्यसबाट आउने धुलो । नगरबासीले धुलोजन्य काम गर्दा त्यसलाई ब्यबस्थित नगर्दा र सरसफाइको कमीको कारणले नै हो । यसको लागि बागलुङ्मा धुलो छिर्ने श्रोत मध्यपहाडी लोकमार्ग छिटो पिच हुनुपर्छ । त्यो हाम्रो कार्यगत जिम्मेवारी नभएकोले सडक बिभागले जतिसक्दो छिटो गर्यो त्यती नै चांडो केहि हदसम्म धुलो कम हुने थियो ।
धुलो कम गर्न हामीले खानेपानीको कार्यालयसंग समन्वय गरी बिग्रेका, खाल्डाखुल्डी परेका सडकको मर्मत गरिनेछ । सडक मर्मतको निम्ती भनेर नै ५ करोड बजेट छुट्याइएको छ । अबको २ बर्षभित्र सम्पुर्ण सडक मर्मत तथा कालोपत्रे नभएको ठाउँमा कालोपत्रे गरेर धुलोलाई नियन्त्रण गरिनेछ । फोहोर तथा धुलो नियन्त्रणको लागि भनेर नै केहि समयअघि मात्र बागलुङ बजारबाट १५० ट्याक्टर फोहोर उठाएर फालिएको थियो । अहिले सम्पुर्ण पानी नालीबाट नै बग्ने ब्यबस्था गरेका छौं । अबको बर्षबाट कुनैपनि हालतमा नालीको पानी बाहिर आउंदैन । जस्ले गर्दा नालीको फोहोर बाहिर आएर सुकेपछि धुलो हुने सम्भावना रहंदैन । हामीले बागलुङको फोहोरलाई उर्जाको रुपमा विकास गर्नको निमित्त भनेर बैकल्पिक उर्जा प्रबर्दन केन्द्रसंग नैतिक सहमती भएको छ । अनुसन्धान पस्चात त्यो काम पनि सुरु हुनेछ । र बागलुङको फोहोरलाई सदुपयोग गरी यसबाट अन्य उर्जाको विकास गरिनेछ । जस्ले गर्दा फोहोरको उचित ब्यबस्थापनसंगै वातावरण पनि सफा रहनेछ । सरोकारवाला निकायले मौखिक रुपमा समाधानको पहल गरेपनि ब्यबहारिक पाटोमा भने फितलो भएको देखिन्छ । इच्छा र तत्परता हुने होभने यो त्यती ठुलो समस्या हैन । धुलोले जिबनयापन गर्न असहज भैरहेको अवस्थामा नियन्त्रण गर्न सबैको ध्यान जान जरुरी छ । तबमात्र धुलोमुक्त सुन्दर बागलुङको परिकल्पना गर्न सकिन्छ । धुलोमुक्त हुनु भनेको हाम्रो स्वास्थ्यमा सुधार हुने मात्र हैन यसले गर्दा पर्यटकको संख्या पनि बढ्ने छ । धुलोमुक्त शहर बनाउन सम्भब होला भन्ने ? प्रश्न पनि उठ्न सक्छ । हो सम्भव छ । यत्ती हो कि सरोकारवालाले बिशेष प्राथमिकतामा राख्नुपर्छ । अनि हामी नागरिकले आफ्नो कर्तब्य निभाउन सक्नु पर्छ । हामीले समस्या मात्र देखाएर पन्छिनु हुंदैन ।
कुनैपनि समस्याको समाधान गर्नुपुर्ब त्यो समस्याको जड पत्ता लगाउन जरुरी हुन्छ । बागलुङ्मा बिशेषगरी धुलो उड्ने भनेको सवारी आवागमनबाटै हुन्छ । केहि सडकको अवस्था, हाम्रो लार्पबाही र सरोकारवाला निकायको मौनताले पनि हुन्छ । बिशेषगरी सडकको अवस्थालाई ध्यान पुर्याउन जरुरी देखिन्छ । कच्चीबाटो कालोपत्रे गर्ने, खाल्डाखुल्डी भएका सडक पुर्ने, सडकको मर्मत सम्भार गरिरहने, नाली ब्यबस्थित गर्ने । जसले गर्दा नालीको फोहोर बाटोमा आउन नपाओस् । बर्षाको बेला भेल र बाढीले सडकमै माटो थुपारिदिन्छ र त्यो माटो सुकेपछि नै धुलो भएर उड्छ । त्यसैले भेलबाढीलाई नालीमै बग्ने ब्यबस्था गर्नुपर्छ । यदी बाटोमा पसेको खण्डमा यथासिघ्र त्यो माटो सफा गरिहाल्नुपर्छ । कम्तिमा दिनको दुईपटक बागलुङ बजार सडकमा पानी छेप्दिने ब्यबस्था गर्नुपर्छ । जसले गर्दा धुलो पनि उड्न पाउदैन । सवारीको सिमित गतिले पनि धुलो उड्न पाउँदैन । कम्तिमा पनि १०० मिटरको फरकमा हरेक सडक छेउमा फोहोर फाल्ने डस्बिनको ब्यबस्था गरिनुपर्छ । त्यसको उचित रेखदेख त्यही वरपर रहेका पसले, घरवालाले गर्न जरुरी छ ।
त्यस्तै धुलो, फोहोर सबारी साधनलाई प्रबेश नाकामा नै वासिङ सेन्टर राखेर सफा गरेर मात्र बजार प्रबेश गराउनुपर्छ । त्यस्तै बागलुङ बजारमा घर भएका तथा ब्यबसाय गरेर बस्ने हरेक ब्यबसायीले आ–आफ्नो हरेक दिन अनिबार्य रुपमै सफा गर्नुपर्छ । यदी कुनै धुलोजन्य सामानहरु सडकमा थुपार्नुपर्यो भने त्यसको सरसफाइको जिम्मा आफैले लिनुपर्छ । निर्माण सामाग्रीहरुलाई जथाभावी फालिनु हुदैन । स्वयं धनीले त्यसको उचित ब्यबस्था गरेर सडकमा कुनै बाधा नपर्ने गरी ब्यबस्था गर्नुपर्छ । यदी धुलोजन्य कार्यहरु गर्नुपर्यो भने त्यसको उचित ब्यबस्थापनसहित गर्नुपर्छ । जनतालाई उचित शिक्षा र चेतना जगाउन सकेपनि धुलो नियन्त्रण गर्न सकिन्छ । यस्तै, नियमविपरित काम गर्नेलाई पनि जरिवानाको ब्यबस्था पनि गर्न सकिन्छ ।
Previous Articleमाटोलाई सम्झेर गीत लेख्छन् कँडेल(भिडियो सहित)
Next Article फेरी पनि आलोपालो कै कुसंस्कार