बागलुङ, १० पूस– नवनिर्वाचित प्रतिनिधिसमा सदस्य डा. सूर्य पाठकले गैरसरकारी संस्थाको नाउँमा जनताको हितमा कामै नगरी पैसा सक्नेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने बताएका छन् । पाठकले जनताको घरदैलोमा काम गरिरहेका गैससहरुलाई भने प्रोत्साहन गर्ने नीति लिने गरी बहस चलाईने पनि बताए । भीमापोखरा युवा क्लब विवाईसी बागलुङको २६ औं वार्षिक साधारणसभा तथा ३२ औं स्थापना दिवशको उद्घाटन गर्दै पाठकले काम गरेका, नगरेका र करोडौं कुम्ल्याउने सबै गैरसरकारी संस्थालाई एउटै डालोमा हालेर बुझ्ने प्रयास नगर्ने समेत बताए ।
कार्यक्रममा प्रदेश सभासद ईन्द्रलाल सापकोटाले पनि गैससको नाउँमा राजधानीका तारे होटलमा कार्यक्रम गरेर करोडौं खाने तर पिडितको नाउँ बेच्नेहरुले गैससलाई बदनाम गरेको बताए । उनले जिल्लाका दुर दराजमा पुगेर सेवामा लाग्नेहरुले कारवाही अभियानमा नडराउन आग्रह पनि गरे । सरकार बलियो बनेपछि त्यस्ता समस्या हट्ने पनि उनले दावी गरेका छन् ।
विशेषगरी अन्तराष्ट्रिय गैससले मानवीय सेवामा भन्दा पैसाको खोलो बगाउने अभियानमा लागेको उनको आरोप थियो । उक्त अवसरमा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले राज्यले सबै ठाउँ देख्न सक्ने तर टेक्न नसक्ने भएकोले गैर सरकारी संस्थाको आवस्यकता परेको बताए । राज्यको मुल अभियानको सहायकको रुपमा गैससले काम गरेकोले सामाजिक विभेद अन्त्य, सशक्तिकरण तथा बिकासमा समतामुलक वितरण संभव भएको उनको भनाई छ । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले गैससहरुको सहकार्य मार्फत स्थानीय तह अगाडि बढ्ने बताए । उनले शिक्षा, स्वास्थ्य, बिकास निर्माण र सशक्तिकरणको अभियानमा गैससको समन्वयबाट मात्र सफलता पाउन सकिने पनि बताए । उनले जिल्ला प्रशासनमा दर्ता भएका सयौं गैससलाई एकै नजरले हेर्ने भन्दा उनीहरुको कामको प्रकृति खोजेर वर्गिकरण गर्नुपर्ने र गाउँपालिकाले पनि त्यसको खोजी गर्ने बताए ।
क्लबका कार्यवहाक अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, सचिव तोयानाथ गौतमको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, वडा अध्यक्षहरु युक्त कंडेल र बिद्यापति शर्मा भिएसओ स्वयंसेवक संस्थाकी अविना अधिकारी, क्लबका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, डिल्लीराज गौतम, तीर्थ गौतम, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, डिसिआरडिसीका अध्यक्ष ईश्वरलाल राजभण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा सचिव तोयानाथ गौतमले प्रगती विवरण तथा कोषाध्यक्ष दिपक गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा संस्थाको आजिवन तथा साधारण सदस्य रहेर जनप्रतिनिधिमा निर्वाचित भएको भन्दै ईन्द्रलाल सापकोटा, अमर थापा, विद्यापति शर्मा र युक्तप्रसाद कंडेललाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ठ काम गरेको भन्दै कर्मचारी तर्फ सिर्जना कार्की, चुडामणी शर्मा र प्रेम थापालाई सम्मान गरिएको थियो । क्लबले हामी सवैको रहर, पत्रकार महासंघको घर भन्ने अभियानका लागि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण समेत गरेका गरिएको थियो ।