राजेशचन्द्र राजभण्डारी
‘कहि नभएको जात्रा हाडी गाउँमा’ भनेझै भएको छ अहिले हाम्रो देशको राजनीति । मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएर समानुपातिकको समेत नतिजा आइसक्दा पनि नयाँ सरकार कहिले बन्ने भन्नेबारे राजनीतिक सहमति हुन सकेको छैन । यहीँ सहमतिलाई बहाना बनाउदै अहिले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सजिलोसँग सरकार छोड्ने देखिदैन ।
अहिले निर्वाचनमा बामपन्थी गठबन्धनले बहुमत ल्याएपछि काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सहजै नयाँ सरकार गठनको लागि बाताबरण बनाइदिनु पर्ने हो । अहिले राष्ट्रपति समक्ष पुगेको राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेश राजनीतिके सहमति हुन नसक्दा त्यसै अलपत्र पर्न गएको छ । राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रमुख दलका नेतालाई भेटेर सहमति गर्न अनुरोध गरेपनि अहिले काङ्ग्रेसको मन्त्री परिषदबाट पठाएको एकल संक्रमणको अध्यादेश सरासर पारित गर्न दबाब दिईरहेको छभने एमाले र माओबादी केन्द्रले राष्ट्रिय सभा सम्बन्धि अध्यादेश फिर्ता गरेर बहुमतीय प्रणाली अनुसार बनाउने अडान कायम राखेका छन् । अहिले सरकार बनाउने प्रतिनिधि सभामा निर्वाचित र समानुपातिकबाट आएको मतको आधारमा नयाँ सरकार बनाउने संबिधानमा ब्यबस्था गरिएको छ । तर ‘एकातिर आधी एकतिर झोलुङो’ भनेझै अहिले प्रतिनिधि सभाको कुरालाई रोकेर अहिले राष्ट्रिय सभासंग जोडेर हेर्न थालिएको छ । अहिले झट्ट हेर्दा खेरि सजिलोसँग नयाँ सरकार बन्ने लक्षण देखिदैन ।
हुनतः नेपाली काङ्ग्रेसले आफुलाई प्रजातान्त्रिक भएको दाबी गर्छ तर त्यो संस्कार र संस्कृति चरित्र नेपाली काङ्ग्रेससंग देखिदैन । आफु प्रजातान्त्रिक हो भनेर बाहिर भाषण गर्ने र साँच्चिकै ब्यबहारमा प्रजातान्त्रिक हुने अलगअलग कुरा हो । अहिले मुलुकमा नयाँ संबिधान अनुसार संघियताको लागि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई अहिले बामपन्थी गठबन्धनको पक्षमा जनादेश पाइसकेको अबस्थामा काङ्ग्रेसले राष्ट्रिय सभाको हलो राष्ट्रपति कहाँ अल्झाएर केही दिन भएपनि सरकारमा बस्ने कसरत गरिरहेको देखिन्छ । अहिले दिनहुँ जसो काङ्ग्रेस, एमाले, माओबादी र मधेसबादी दलबीच छलफल र बार्ता भएपनि अहिले सबै आफ्नो अडानमा बसेको कारणले राजनीति निकासमा जतिलता आएको छ । साँच्चै अहिलेसम्म पनि किन निकास निस्केन त भनेर बाहिर चर्चा परिचर्चा भैरहेको छ । अहिले बामपन्थी गठबन्धनले बहुमत ल्याएपछि छिमेकी मुलुक भारतको चासो पनि ह्वात्तै बढेको छ । भारतीय राजदूत मन्जेश पुरी स्वयं बामपन्थी गठबन्धनका प्रमुख नेता प्रचण्डलाई भेटेर काङ्ग्रेससंग गठबन्धन गरेर सरकार चलाउन दबाब दिएको कुरा सार्वजनिक भएको कारणले पनि अहिले पनि हाम्रो देशको मामिलामा छिमेकी सद्भाव हैन कि राजनीतिक हस्तक्षेप नै कायम छ भन्ने कुरा स्पष्ट भएको छ । हामीले जसरी राजनीति लाई सरल रूपमा हेरिरहेका छौ त्यो रूपमा अबश्य पनि छैन । साँच्चै अहिले पनि छिमेकी भारतको दबाब प्रभाव कायमै छ । अहिले बामपन्थी गठबन्धनबाट नेपाल कै राष्ट्रबादी नेता भनेर परिचित केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुने लगभग पक्का पक्की भएपछि जसरी हुन्छ अहिले भएको बामपन्थी गठबन्धन भत्काउन देशीबिदेशी सबै शक्ति केन्द्र लागि परेका छन् ।
अहिले नेपाली पुरानो उखान झै ‘झिंगाको श्रापले डिया मर्दैन’ भनेझै अब बामपन्थी गठबन्धन भत्काउने अनि देशमा पुरानै पाराको मिलीजुली सरकार बनाउने जुन कसरत गरिरहेका छन् यो डेट सकिएको औषधी हो । अब यसको प्रयोग कै कुनै काम छैन । साँच्चै यसपटकको निर्वाचनमा बामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच प्रतिस्पर्धा भयो जसलाई बामपन्थी गठबन्धनले जनताको म्यान्डेट पायो त्यसकारण पनि मुलुकमा ५ बर्षसम्म स्थायी सरकार बनाउन जरुरी छ । सधै अस्थिर राजनीति चलाउने अनि भए जतिकालाई मन्त्री बनाउने जुन चलन चल्यो त्यसले देश र जनताका लागि केही पनि फाइदा गरेन । मात्रै सिमित नेता तथा मौकामा चौका हान्नेलाई मात्रै फाइदा ग¥यो भन्ने कुरा सारा दुनियाँ लाई थाहा छ । अहिले राष्ट्रपति बिद्यादेबी भण्डारीले सहमति खोज्न राजनीतिक दललाई भनिरहेकी छन् । तर यसलाई काङ्ग्रेसले राष्ट्रपतिलाई सरकारले पठाएको बिधेयक रोक्ने कुनै अधिकार नभएको सरासर लालमोहर लगाउनुपर्छ भन्ने तर्क पेश गरिरहेका छन् । एमाले र माओबादीले भने अहिले सरकारले लगेको बिधेयक फिर्ता गरेर नयाँ बिधेयक लैजानु पर्ने मत राखिरहेको कारणले पनि समस्या समाधान भन्दापनि झन जतिल बन्दै गैरहेको छ । यसबाट के कुरा बुझ्न सकिन्छ भने देशमा सजिलोसँग नयाँ सरकार बन्ने छाटकाट देखिदैन ।
निर्वाचन आयोगले आफ्नो काम सकिसकेको छ । अहिले निर्वाचन राम्रोसँग सम्पन्न गरेको देउवा सरकारले सहज रूपमा नयाँ सरकार गठन गर्नका लागि निकास खोल्नु बुद्धिमानी हुनेछ । प्रतिनिधि सभाको कुरालाई अहिले राष्ट्रियसभा संग जोडेर मोलमोलाई गर्न हुँदैन । राजनीतिमा इमान्दारिता नभएको कारण आज जनताको बिश्वास कम हुदै गएको हो । राष्ट्रपतिलाई बिबादास्पद बनाउन खोज्ने शक्तिले हिजोका दिनमा सरकारले गरेको महत्वपूर्ण निर्णय उल्टाउने काम गरेको थियो । अहिले फेरि राजनीतिको हलो राष्ट्रिय सभामा गएर अल्झिएको छ । राष्ट्रपति कहाँ गएर रोकिएको छ । अहिले ताजा जनादेशअनुसार बामपन्थी गठबन्धनलाई सरकार बनाउने बाताबरण बनाउने काम गर्नु नै बुद्धिमानी हुनेछ । अहिले सरूवा, बढुवा र राजनीतिक नियुक्ति गरेर गाईजात्रा देखाउने बेला हैन । अहिले देउवा सरकारसंग थोरै मात्रै नैतिकता बाँकी छभने सहजै सरकार छोड्नु बुद्धिमानी हुनेछ ।