बागलुङ,९ पूस– स्वर्गिय प्रविण खड्का स्मृति कोषले दशौं पुरस्कार वितरण तथा सम्मान कार्यक्रममार्फत फरक क्षमता भएका विद्यार्थीलाई पुरस्कार प्रदान र सम्मान गरेको छ । उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधिस शेषराज शिवाकोटीले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
कोषले शारिरीक अपांगता भएका रुद्रेपिपल माविमा अध्ययन गर्ने यामबहादुर थापा, बौद्धिक अपांगता भएका बागलुङ विशेष बाल कक्षामा पढ्ने टेकप्रसाद सापकोटा, दृष्टीविहिन पोखरास्थित पृथ्वी नारायण क्याम्पसमा पढ्ने उत्सव गौतम र बहिरातर्फ धौलागिरी बहिरा विद्यालयमा पढ्ने निर्मल अधिकारीलाई ३ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । त्यस्तै पर्वतको क्याङ घर भएका कुमार पुनलाई ५ हजार नगदसहित सम्मान गरिएको छ । पुनले एसएलसीमा उत्कृष्ठ अंक ल्याएको र उच्च शिक्षामा पनि सफलता पाएको भन्दै सम्मान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए । १० बर्षअघि दुर्घटनामा निधन भएका प्रविण खड्काको स्मृतिमा परिवारले कोष स्थापना गरेको थियो । कोषले हरेक बर्ष विद्यार्थीलाई पुरस्कार दिने गरेको छ ।
स्वर्गिय खड्का जिल्लाका सफल उद्यमी र सामाजिक अगुवा थिए । कालीगण्डकी चलचित्र मन्दिर मार्फत व्यवसाय थालेका खड्का सामाजिक सेवामा पनि सक्रिय रहेको सहभागिले बताए । कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव युक्त जंग राजभण्डारीको संचालन र सदस्य विश्वनाथ रेग्मीको स्वागतमा भएको कार्यक्रममा मुख्य न्यायाधिस शिवाकोटी, कोषका संरक्षक धर्मकुमारी खड्का, बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, साहित्यकार प्रेम छोटा, बिना कार्की, लगायतले बोलेका थिए ।
Previous Articleअनुष्कालाई प्रभावित पार्ने बिराट ‘स्मार्ट लुक्स’
Next Article पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा तयारी