बागलुङ, ८ पुस–आगामी साता बागलुङमा हुने महोत्सवको बारे चासो बढी रहँदा मरुभूमिमा पाईने उँट प्रमुख आर्कषणको रुपमा देख्न पाईने भएको छ । कितावमा पढ्न र टेलिभिजनमा देख्न पाईने उँट बागलुङ बजारमै देख्न पाईने व्यवस्था गरिएको बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ । पुस १४ गतेदेखि संचालन हुने महोत्सव बारे जानकारी दिनका लागि शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघका सदस्य तथा उँट व्यवस्थापन संयोजक पूर्णबहादुर केसीले बताए । उक्त उँटले नेपाली भाषाका गीत संगीतमा आर्कषक नाँच पनि देखाउने केसीले बताए ।
यस्तो दृश्य दुर्लभै हुने भएकोले पनि आउने दर्शकलाई थप मनोरञ्जन दिने उनले बताएका छन् । उँट अत्याधिक गर्मी स्थानमा पाईन्छ । विशेषगरी खाडी मुलुक र भारतको दक्षिणी क्षेत्रमा बढी मात्रामा पाइने जनावरलाई बागलुङमा ल्याउँदा महोत्सवका दर्शक समेत बढ्ने बताइएको छ । ‘हामीले स्थान र टिकट काट्ने व्यवस्था मिलाईदिन्छौं’ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले भने, ‘ल्याउने लैजाने जिम्मा भने उँट धनीकै हुनेछ ।’ संघले उँट हेर्नका लागि ५० रुपैयाँको टिकट काट्ने व्यवस्था गरेको उनले जानकारी दिए । धवलागिरी बहुमुखी क्याम्पसको मैदानमा गरिने महोत्सवका लागि १ सय ८२ वटा व्यपारिक स्टल बुकिङ भैसकेको बताइएको छ । अव आउने जो सुकै व्यवसायी भएपनि स्टल दिन नसकिने गरी सबै विक्रि भैसकेको भारीले बताएका छन् । महोत्सवलाई प्रदेश नम्बर ४ को कृषि, घरेलु, औद्योगिक तथा व्यपार मेलाको रुपमा मनाइने पनि बताएको छ । त्यसका लागि जिल्ला भित्रका कृषि उत्पादन, व्यवसायिक उत्पादको विक्रि कक्ष राखिने, बागलुङ र धौलागिरीमा चर्चित रहेका लोक नृत्य, संस्कृतिहरुको प्रर्दशनी पनि राखिएको छ । महोत्सवको अवसरमा अंग्रेजी नयाँबर्ष समेत परेकोले यो पटक बागलुङलाईनै गन्तव्य बनाईने पनि बताइएको छ ।
त्यसका लागि पोखरा बाट डिजे कलाकारहरु ल्याएर राती १२ बजे सम्म सांगीतिक कार्यक्रम राख्ने र नयाँबर्षलाई पनि मनाउने व्यवस्था गरिएको निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए । जिल्लाबाट झण्डै २ हजार युवा नयाँ बर्ष मनाउन पोखरा जाने गरेको पाइएकोले अन्यत्रका युवालाई समेत यता बोलाउने योजना बनाइएको उनको भनाई छ । राष्ट्रिय तहमा ख्याती प्राप्त कलाकारको दैनिक प्रस्तुती रहने, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, खुला नृत्य प्रतियोगिता पनि महोत्सवका आर्कषण हुनेछन् ।
कला, संस्कृति र उत्पादनका क्षेत्र झल्कने फोटो प्रर्दशनी समेत महोत्सवमा राखिएको छ । महोत्सवलाई जिल्लाका १० वटै गाउँ तथा नगरपालिकाले सहआयोजकको रुपमा सहयोग गर्ने बताइएको छ । महोत्सवकै अवसर पारेर पञ्चकोट र भकुण्डेको भ्रमण गराउने, होमस्टेमा रमाउने वातावरण पनि बनाइएको छ । ‘जाऔं है बागलुङ महोत्सवमा, रमाऔं बागलुङ महोत्सवमा’ भन्ने मुल नारा सहित अयाोजित पत्रकार सम्मेलनको संयोजन नयाँ विश्व डटकमले गरेको थियो । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, संघका निर्वतमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष नरेश कंडेल, महासचि दयाराम पौडेल, सदस्य अर्जुन घिमिरे, कलाकारका संयोजक राजनकुमार शाक्य लगायतले बोलेका थिए ।