बागलुङ, ७ पूस– विद्यालय शुरक्षा तथा विपद न्युनीकरण परियोजना, स्रोत व्यक्ति तथा विद्यालय निरीक्षकहरुका लागि विपद जोखीम न्युनीकरणसम्वन्धि ३ दिने तालिम कार्यक्रम विहीबार सम्पन्न भएको छ । तालीम समापन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले घटना घटिसकेपछि मात्र पुग्ने संस्कार तोड्दै भावी दिनहरुमा विद्यालयमा हुन सक्ने जोखिम न्युनीकरण गर्न खेल्नुपर्ने भूमिकाका बारेमा तालिमले सचेत बनाएको बताए ।
विद्यालयलाई कसरी शुरक्षित विद्यालय बनाउन सकिन्छ र अनुगमन योजना बनाएर त्यस्लाई कार्यक्षेत्रमा लागू गर्न सकेका मात्र तालिमको औचित्य पुष्टि हुने उनको भनाई थियो । तालिमका प्रशिक्षक तथा विद्यालय शुरक्षा तथा विपद न्युनीकरण परियोजनाको केन्द्रिय फोकल पर्सन विकास रिमाल, म्याग्दी तालिम केन्द्रका प्रशिक्षक घनश्याम पौडेल, स्रोत व्यक्ति विष्णु सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३ दिने तालिम अन्र्तगत पहिलो दिन विपदको सामान्य परिचय, प्रकार, कारण र असर तथा विद्यालय शुरक्षा सम्वन्धि कानुनी व्यवस्था, मानवीय सिद्धान्त,प्रकोप संकटासन्नताको परिचय,प्रकार,प्रकोप पात्रो निर्माण,सरकोकारवाला नक्सांकन तथा अन्य औजारहरुको विषयमा जानकारी तथा प्रयोगात्मक प्रदर्शन भएको थियो ।
त्यस्तै दोस्रो दिन खतरा र जोखिमबाट शुरक्षित स्थानको पहिचान, नक्सांकन,अभ्यास, जोखिम न्युनीकरण सहितको विद्यालय शुरक्षा योजना लगायतको विषयमा तालिम केन्द्रित रहेको थियो । तेस्रो तथा अन्तिम दिन पारिवारीक शुरक्षा योजना, विपद व्यवस्थापनमा विद्यालय निरीक्षक तथा स्रोत व्यक्तिको भूमिका,अनुगमन तथा मुल्यांकन, सुझाव संकलन र औपचारीक समापन भएको थियो । तालिम समापन सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायको अध्यक्षता र विद्यालय निरीक्षक प्रकाश ओझाको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleनवजात शिशुको बेबारीसे शव भेटीयो ।
Next Article सकियो ५५ दिने म्यादी प्रहरी सेवा