तारानाथ आचार्य
बागलुङ, ६ पुस– विनाशकारी भुकम्प गएको करिब तीन बर्ष बित्न लाग्दा समेत पीडितहरुले अझै राहत पाउन सकेका छैनन् । सरकारले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन गरेर काम थालेको भएपनि भुकम्प पिडितहरुले राहत पाउन नसकेका हुन् । राजनीतिक खिचातानी र झन्झटिलो प्रक्रियाका कारण भुकम्पका बेला घरबास गुमाएकाहरु मर्कामा परेका छन् । भुकम्पले भत्केका घर तथा भवनहरुको लगत संकलन गरेर राहत बितरणको प्रक्रिया थालेको प्राधिकरण राजनीतिक खिचातानीमा पर्दा पीडितहरुले राहत पाउन नसकेको जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुङ्गानाले बताए ।
जिल्लामा राहत बितरणको जिम्मा पाएको जिल्ला समन्वय समितीलाई प्राधिकरणले बिभिन्न बहानामा काम गर्न नदिएपछि भुकम्प पीडितले राहत पाउन नसकेको ढुङ्गानाको भनाई छ । ‘हाम्रो खातामा बजेट आएको छ प्राधिकरणले प्रबिधिक पठाएर निरीक्षण गरेपछि मात्रै बितरण गर्नु भन्ने निर्देशन छ’ ढुङ्गानाले भने ‘यता हामीले चाहेर पनि रकम निकासा गर्न सकेका छैनौं उता सर्बसाधारणले घर बनाउन पाएका छैनन् ।’ पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा भैरहेको फेरबदल र राजनीतीक दाउपेचका कारण भुकम्पका पीडितहरु मर्कामा परेको उनको भनाई छ । ‘हामीसँग प्राबिधिक कर्मचारी प्रशस्त छन्’ ढुङ्गानाले भने ‘प्राधिकरणले खटाउने कर्मचारीको पर्खाइमा बस्दा जनताको काम गर्न पाईएको छैन् ।’ प्राधिकरणले हात बाँधेर काममा पठाएको भन्दै उनले उच्च स्तरमा निर्णय गरेर तत्काल राहत बितरण गर्न दिनुपर्ने बताए ।
पहिलो किस्ताको रकम पाएका केहीले घरको जग हालिसकेको भएपनि केहीले पहिलो किस्ताको रकम समेत पाएका छैनन् । ‘भुकम्पले घर भत्काएको तीन बर्ष भयो अहिलेसम्म राहतको पत्तो छैन’ जिल्लाको नारायणस्थानका भुकम्प पीडित लालप्रसाद शर्माले भने ‘पहिलो किस्ताको रकम आउँदैछ भनेर बैंकमा खाता खोल्न लाए तर राहतको अत्तोपत्तो छैन् ।’ उनले भुकम्प पीडितहरुलाई आशा देखाएर भ्रम फैलाएको हुन सक्ने भन्दै आशंका समेत ब्यक्त गरे । जिल्लामा पुर्णक्षति भएका २ हजार ३ सय ३५ पीडितमध्ये हालसम्म १ हजार १ सय ९ जनाले मात्रै पुर्ननिर्माणको लागि पहिलो किस्ताको रकम पाएका छन् । ढिलो गरी आएको बजेट र तत्कालिन गाविस सचिवहरुले समयमा पीडितको लगत संकलन गरेर पठाउन नसक्दा राहत रकम बितरणमा समस्या भएको जिससले बताएको छ । असार मसान्त सम्ममा सम्झौता भएका पीडितको लागि पहिलो किस्ताको रकम हस्तान्तरण गरिएको भएपनि पुर्णक्षति भएका १ हजार २ सय ६६ पीडितले हालसम्म पनि राहत नपाएको जिल्ला आयोजना कार्यान्वयन ईकाई बागलुङका फोकल प्रसन अखिलनाथ शर्माले बताए । गत असार मसान्त सम्ममा जिल्लाका लागि आएको आठ करोडमध्ये ५ करोड ५४ लाख ५० हजार रुपैयाँ बितरण गरिएको भएपनि गाविस तथा वडाहरुबाट लगत ढिला आएका कारणले बाँकी रकम फिर्ता भएको शर्माले बताए । असार मसान्तपछि अर्को आर्थिक बर्ष सुरु भएको र निर्वाचन, बजेट लगायतका कारणले काम सुरु नभएकाले बाँकी पीडितलाई रहात रकम उपलव्ध गराउन नसकिएको उनको भनाई थियो ।
जिल्लामा प्रारम्भिक क्षतिको बिबरण पेश भएपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले प्राबिधिकको टोली खटाएर गरेको अनुगमनका क्रममा छनौट भएका पीडितहरुले मात्रै अहिले राहत पाउने भए पनि छुटेकाहरुको लगत समेत संकलन भैरहेको शर्माको भनाई छ । जिल्लामा सरोकार राख्ने बिभिन्न सरकारी कार्यालयमा ईकाई गठन गरेर सुझाव संकलन तथा छुटेकाहरुको लगत संकलनको काम समेत भैरहेको उनले बताए । पुर्णक्षति भएकाहरुले पुर्ननिर्माणको लागि पहिलो किस्ताको राहत रकम नपाएको गुनासो आईरहेका बेला सामान्य क्षति भएकाहरुको पनि संख्या बढ्दै गएको शर्माले जानकारी दिए । सामान्य चर्केका र सजसाज गरेर बनाउन मिल्नेको संखया सुरुमा ८२ घर परिवार रहेको भएपनि पछिल्लो समय यस्ता समस्याका गुनासाहरु धेरै आउने गरेको शर्माको भनाई छ ।
‘प्रधिकरणले कर्मचारीको नियुक्ति गरेर काम गर्नु भनेर भर्खरै मात्र परिपत्र गरेको छ’ शर्माले भने ‘कर्मचारी छनौटको काम सकिएकाले केही दिबाट नै हामीले पहिलो किस्ताको रकम बितरणको काम थाल्छौं ।’ पहिलो किस्ताको रहात रकम लिएका पीडितहरुले प्राधिकरणको मापदण्डअनुसार घरको जग हालेपछि मात्रै दोस्रो किस्ताको रकम पाउने ब्यबस्था छ । मापदण्ड पुरा भए नभएको प्राधिकरणका प्रबिधिकहरुले चेकजाँच गर्ने र त्यसपछि दोस्रो किस्ताको रकम उपलव्ध गराईने शर्माले बताए । पहिलो किस्ताको रकमको लागि भने पुर्णक्षति भएका सबै पीडितहरु सँग सम्झौता भैसकेकोले पूस महिना भित्रमा नै रकम खातामा हस्तान्तरण गरिने जिससले जनाएको छ ।
Previous Articleब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको स्वागत कार्यक्रम
Next Article ७ पुस २०७४, ढोरपाटन दैनिक