काठमाडौं, ५ पुस – नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन सम्भव नरहेको बताएका छन् । वाम गठबन्धन, काठमाडौँद्वारा बुधबार यहाँ आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन हुने भनी संसदीय समितिबाट समेत पारित भइसकेको विधेयकलाई लत्याएर वर्तमान सरकारले आफूखुशी एकल संक्रमणीय प्रणालीको व्यवस्था गरी पेस गरेको अध्यादेश जारी हुन सम्भव नरहेको दाबी गरेका हुन् । ‘कुनै दल विशेषका लागि दुरुपयोग गर्ने माध्यम अध्यादेश हुन सक्दैन, निर्वाचनको ताजा जनादेशको परिणाम आइसकेपछि नयाँ सरकार गठन हुन्छ र नयाँ सरकारले उक्त अध्यादेश जारी गराउँछ”–अध्यक्ष ओलीले भने, ‘राष्ट्रियसभा नभई सरकार बन्दैन भन्ने भ्रम मात्र हो, कुनै कानुनी जटिलता छैन, जनताले अभिमत दिएर जटिलता फुकाइसकेको छ ।’
सरकारका प्रवक्ताले मंगलबार दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरे । उनले जनादेशबमोजिम मुलुकको स्थिरता र समृद्धि तथा वाम पार्टीबीचको एकतामा कुनै शंका नराख्न पनि आग्रह गरे । उनले एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई निल्ने नभई दुवैले दुवैलाई निलेर समाजवादोन्मुख तेस्रो नयाँ पार्टी बन्ने पनि स्पष्ट गरे ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकारले लोकतान्त्रिक संस्कारलाई उच्च महत्व दिने बताउँदै नेपाली कांग्रेसले सत्ता हस्तान्तरणमा ढिलाई गरेमा आगामी दिनमा उसलाई थप नोक्सानी हुने टिप्पणी गरे । उनले एमाले र माओवादी केन्द्रबीचको एकता जनता र कार्यकर्ताबाट अनुमोदित भइसकेकाले अब एकीकृत कम्युनिष्ट आन्दोलन बन्ने उद्घोष गरे । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्टहरुको बहुमत आइसकेकाले अब समृद्धिको यात्रामा कुनै अवरोध भयो भनेर सुख नपाइने बताउँदै निकट भविष्यमा आफूहरुको पार्टी एकता हुने जनाए ।
कार्यक्रममा काठमाडौँमा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित नेता नेपाल, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेललगायतलाई सम्मानित गरियो । गठबन्धनले यो जिल्लामा प्रतिनिधिसभाको १० मा छ र प्रदेशसभाको २० मा १६ स्थानमा विजय हासिल गरेको छ । रासस