बागलुङ,५ पुस– बागलुङको बडिगाड गाउँपालिका–२ मा बुधबार बिहान सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। काँडेरुखनजिकै पिकअप भ्यान र दुई मोटरसाइकल एकै ठाउँमा ठोकिएर भएको दुर्घटनामा २ जनाको अवस्था गम्भीर छ। मध्यपहाडी लोकमार्गमा खर्वाङबाट ग्वालीचौरतर्फ जाँदै गरेको ना४च ३६६७ नम्बरको पिकअप जिपसँग विपरित दिशामा जाँदै गरेका ध१प ३२४६ र बा५५प ८०५० नम्बरका मोटरसाइकल ठोकिएका हुन्।
घाइते ढोरपाटन नगरपालिका(१ का ३६ वर्षीय खगेन्द्र बिसी र सोही स्थानका २७ वर्षका सुरेन्द्र बोहोरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई गुल्मी मुसिकोटको मल्ल मेडिकलमा समान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत ग्रान्डी अस्पताल काठमाडौं पठाइएको बागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।
दुर्घटनामा ढोरपाटन नगरपालिका १ कै २६ वर्षका भरत बिसी पनि घाइते छन्। पिकअप जिपसहित चालक खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक लाल बहादुर चौधरीले जानकारी दिए। बुर्तिवाङबाट बुटवल जाँदै गरेका दुई मोटरसाइकल अगाडि गुडिरहेको यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा पिकअप भ्यानसँग ठोकिएका स्थानीयले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बागलुङमा दुर्घटना दुई जना गम्भीर,घाइते घाईतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
Previous Article‘दुःखमा सहारा नपाएर हो’ (भिडियो सहित)
Next Article एसईई परीक्षा चैत ८ देखि (तालिकासहित)