बागलुङ जिल्लाका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरुले नतिजा आफ्नो पोल्टामा पारेपछि जनताको चाहना अनुसार निर्वाचनमा गरेका बाचा पुरा गर्छन् या गर्दैनन् भन्ने चर्चा चल्न थालेको छ । चुनाव जितेपछि बधाई थाप्न भ्याईनभ्याई भैरहेका बेला हाम्रा सहकर्मी तारानाथ आचार्यले प्रदेश सभाका सदस्य कृष्ण थापासँग गरेको छोटो कुराकानी । कुराकानीमा आचार्यले ५ प्रश्न राखेका छन् ।
निर्वाचन परिमाण आफ्नै पोल्टामा पार्नुभो कस्तो अनुभव भैरहेको छ ?
–मैले मेरो राजनीतिक जीवनमा कुनैपनि लाभको पद लिएको छैन् । निरन्तर गाउँघरमा बसेर जनताको सेवा गरें । यसको सहि मुल्याङ्कन गरेर मलाई मत दिएर बिजयी गराउनु भएको छ । म एकदमै खुशी छु । मलाई दिएको मतसँगै पाएको जिम्मेबारी पुरा गर्न अहोरात्र खटिने छु ।
निर्वाचित भएपछि जनताले महसुस गर्ने के काम गर्ने योजना छ ?
–प्रदेश सभाको कानुन बनाउने लगायतका काम गर्नुपर्ने भएकाले तत्कालै गर्न मिल्ने विकास निर्माणको काम त केही छैन् पहिलो काम प्रदेशको संरचना तथा कानुन निर्माण गर्ने हो । त्यो लगत्तै मैले बागलुङ कुश्मीशेराहुँदै शान्तिपुरसम्मको बाटोको स्तरोन्नती गरी ग्राभेल र पक्की गर्ने कामलाई प्राथमिकतामा राखेको छु । दोस्रो हामीले निर्वाचन पहिले बाचा गरिसकेका छौं । कुश्मीशेराहुँदै माइका थान र हाँडीकोटसम्म केबुलकारको निर्माण गर्ने भनेर त्यो काम मैले गर्छु । त्यसको सर्बेको काम यो पहिलो बर्ष गर्ने र बाँकी पुर्वाधार निर्माणको काम आगामी ५ बर्ष भित्रमा गर्ने गरी योजना बनाउने सोच बनाएको छु । कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर जनतालाई आत्मानिर्भर बनाउने खालका कार्यक्रम ल्याई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने मेरो योजना छ ।
जनताले हजुरलाई नै किन भोट दिए जस्तो लाग्छ । निर्वाचनमा सोचेभन्दा त फरक नतिजा आयो भन्छन् नि ?
–म लामो समय राजनीतिमा लागें । त्यो पनि गाउँघरमा बसेर जनताको सेवा गरें । त्यो कुरा यो क्षेत्रका सबै सर्बसाधारणलाई थाहा भएको कुरा हो । कुनै पनि अनैतिक क्रियाकलापमा संलग्न नभई लामो राजनीतिक यात्रा गरेकाले होला यहाँका मतदाताले मलाई माया गर्नु भयो । पार्टिगत हिसाबमा भन्दा पनि ब्यक्तिगत माया पनि मैले धेरै पाएँ । लामो समयको सर्घषको फलस्वरुप मैले चुनाव जितें । अर्को कुरा हामी गठबन्धन गरेर चुनावमा होमियौ यसले पनि महत्व राखेको छ । जनताले गठबन्धन गरेर चुनावमा जाँदा परिवर्तनको आशाले हामीलाई भोट दिएका छन् ।
चुनाव जितिसकेपछि जनतालाई फर्केर हेर्दैनन् भन्ने व्यापक गुनासो छ नि ?
–जनतामा त्यो कुरा बिद्यमान छ । तर म लामो समय गाउँमै बसेको छु । यहि माटोमा घुल्मील भएको छु । आगामी दिनमा पनि म जनताको माझमा नै बसेर काम गर्न चाहन्छु । अरु जस्तो पलायन हुने मेरो योजना छैन् । प्रदेश सभाको बैठक र प्रदेश सभामा गर्नुपर्ने कामको समय बाहेकको सबै समय मैले मेरो निर्वाचन क्षेत्रमा नै बिताउने निधो गरिसकेको छु । म गाउँघरमा नै रहने छु ।
अन्य दललाई कसरी मिलाएर लैजानु हुन्छ ?
–चुनावमा जाँदा गठबन्धन गरेका राजनीतिक दलहरुसँग भद्र सहमति छ र आगामी दिनमा पनि हामी सोही सहमतीलाई आधार बनाएर अगाडि जान्छौं । बिपक्षमा रहेको नेपाली कांग्रेसले हामीप्रति जुन ब्यबहार ग¥यो त्यो ब्यबहारको पुर्वाग्रहमा जाने हाम्रो सोच छैन् । मतदाता भनेका साझा हुन, कस्ले मत दिए वा कस्ले दिएनन् भन्ने कुरा सानो कुरा हो । हामीले सबैलाई मिलाएर लैजाने प्रयत्न गर्ने छौं ।
अन्तमा केही भन्नै पर्ने कुरा छुट्यो की ?
–निर्वाचन सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण गठबन्धनमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता, प्रशासन, कर्मचारी, सुरक्षाकर्मी, पेशाब्यबसायी, नागरिक समाज, पत्रकार, सञ्चार संस्था लगायत आम बागलुङबासीहरुलाई धन्यवाद । कृष्ण थापा निस्कलंक भएर आफ्नो कार्यकाल पुरा गर्छ भन्नेमा ढुक्क रहन म सबैलाई आग्रह गर्दर्छु ।
सेरा–शान्तिपुर बाटोको स्तरोन्नति ( अन्तरवार्ता)
Previous Articleलोकमार्ग पहिलो प्राथमिकता (अन्तरवार्ता)
Next Article ‘एमाले र माओवादीको स्वार्थमा राष्ट्रपतिको प्रयोग’