कृष्णप्रसाद शर्मा
अहिले बाग्लुङको बलेवा विमानस्थल गौचर भएको छ । स्थानीयले घाँस काट्ने खरबारी बनेको छ । कुनै बेला यही ठाउँबाट पोखरा जहाज उढ्थ्यो भन्यो भने अहिले कसैले पताउँदैन किन कि यो धेरै पुरानो कथा बनी सकेको छ । यो ईतिहास बनेको कुरा अब फेरी पुनरवृती गर्ने मोड आउन आशा छ । बाग्लुङको बलेवा बिमानस्थल संचालनमा ल्याउन पटक–पटक कुरा भएका छन् । म्याग्दीका नारायण सिंह पुनदेखी कुनै बेला शिक्षामन्त्री रहनु भएका दीनानाथ शर्मा सम्मले अवलोकन र एक÷एकपटक जहाज अवतरण पनि गरेका थिए । यस बाहेक प्रायः जसो हरेक चुनावमा यो सवाल उठ्छ अनि सेलाएर जान्छ । फेरी योपटक पनि बलेवा बिमानस्थलको संचालन हुन्छ भन्ने आशा छ । स्थानीय चुनावलाई गाउँको अधिकार सिंहदरबार पुर्याउने चुनाव भनेकै कारण जनता उत्साही बने अनि कतिपयले अब जहाज चल्ने अवधारणा पनि आउँछ की भन्ने उत्साह राखे तर स्थानीय कर र स्थानीय साधनश्रोतको परिचालन समेत गर्न आवश्यकता नठानीरहेका स्थानीय निकायले यो काम गर्ने सम्भव थिएन तर जनता उच्च महत्वकाँक्षी भए भनौं ।
अहिले प्रदेश र केन्द्र दुबैको चुनाव भईसकेको अवस्थामा फेरी जनतामा एकपटक आवाज उठाउन खोजेका छन् । बाग्लुङका दुई विकास क्षेत्रका दुबै बिजेता सांसद यही बलेवा क्षेत्रका रहेका कारण पनि जनता अझै उत्सुक छन् यद्यपी यो क्षेत्रकै नभएपनि महत्वका साथ हेर्नु पथ्र्यो । चुनाव जिती सके पछि यस क्षेत्रका नवनिर्वाचित सांसद सुर्य पाठकले आफ्नो पहिलो अन्तरवार्ता मै विमानस्थल संचालनमा ल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताए संगै जनमानसमा केही थप आशा संचार भएको छ । जनतामा आशा हुनु र कार्यान्वयन पक्षको तदारुकता नदेखिएका यस अघिका पटक–पटकका घटनाले जनताले छिट्टै पत्ताई हालेका भने छैनन् तर सम्भावना नभएको कुरा नभएकोले हामी आशावादी हुनै पर्छ । साँच्चै भन्दा विमानस्थल संचालन गर्ने हो भने अलि गम्भीर हुन जरुरी छ । पहिले–पहिले बोलेका नेताहरूले जस्तै अहिले पनि बोलेको लिने कुरा रहँदैन किन कि अहिलेका युवा नेताको यो पहिलोपटक हो । अब देशको परिस्थितिले पटक–पटक अवसर दिन्छन् भन्ने पनि छैन ।
विमानस्थल संचालन गर्न खोजे अहिले बन्ने सरकारले पक्कै सहयोग गर्ने नै छ । किन कि अहिले भनिए जस्तै बामगठबन्धनको सरकार बनेमा यो काम गर्न असम्भव पनि छैन । ठुलो परियोजनाका लागी पहुँच पनि जरूरी रहने हाम्रो क्षेत्रबाट निर्वाचित दुबै जना केन्द्रसंग राम्रै सम्बन्ध छ । घोषणा गरेको काम सम्पन्न गर्न पहिला सरोकारवाला खास गरी तीन वडा बा.न.पा १२,१३, १४ का राजनैतिक दलका प्रतिनिधि, यसै क्षेत्रका प्राविधिक र विज्ञको एउटा बृहत भेला गर्न सके त्यसबाट त्यहाँका जनतामा उत्साह आउँछ । बिमानस्थान संचालन भन्दा यसको निरन्तरता पनि मुख्य रहेको हुँदा स्थानीय निकाय बिना यो सम्भव छैन ।
बिमानस्थल संचालनमा ल्याउन त्यस क्षेत्रका खास गरी टुईनेटर जहाज चलाउनेहरूको संगठनसँग एक गम्भीर छलफल समेत चलाउनु पर्छ । विमान संचालनमा ल्याउँदा केवल स्थानीय जनता यात्रु होलान् भनेर सोचे यो एक महिना समेत रहंदैन त्यसैले अब पुर्व तयारीका लागी यस क्षेत्र भित्रका पर्यटकीय र साँस्कृतिक क्षेत्रको पहिचान गराउन माथी उल्लेखित वडाहरूलाई निश्चित समय दिएर आ–आफ्नो क्षेत्रका यस्ता कुराहरूको सुची पेश गर्न लगाउन सके बिमान कम्पनीले यो क्षेत्रमा आफ्ना जाहज संचालन किन गर्ने भन्ने कुराको जवाफ पाउने छन्भने जति धेरै पर्यटकीय क्षेत्र हुन्छन् त्यती नै धेरै कम्पनीको प्रतिस्पर्धा हुन्छ जसबाट जनताले समेत सुलभ रुपमा बिमान चढ्न पाउँछन् ।
शिक्षा नियामावलीको गलत अपब्याख्या गरेर गाउँ–गाउँमा आफ्ना बा–आमा एंव नातेदारको नाम स्कुलमा राखेर जुन गलत संस्कार बसाएका छन् । तिनिहरुलाई जम्मा पारेर जहाज चलाउ तिम्रो मनमा लागेका मान्छेको नाम जहाजमा टाँस भनेर एउटा प्रस्तावै राखे हुन्छ । निजि क्षेत्र र स्थानीयको सहकार्यमा । पोखरा अन्तराष्ट्रिय बिमानस्थानको काम छिटो सम्पन्न हुन सके यो बिमानस्थल अझ बढी चलन चल्तीमा आउनेछ । पोखरा प्रायः नपुग्ने पर्यटक हुँदैनन् यिनीहरूको केहि प्रतिशत मात्रै तान्न सके भनेपनि यस बिमानस्थल दीर्घकालिन रुपमा संचालनमा आउनेछ । बिमानस्थल संचालनमा अहिले बाहिर सुनिन आए अनुसार केही पर्यटक ओसार्ने कम्पनीले ईच्छा देखाएको भनिएको छ । तर यो क्षेत्रमा बाहिरबाट गएर कसैले ठुलो लगानी गर्ने गरी अवस्था बनेको छैन त्यसैले यो सुनिएको कुरा कथामै सिमित हुन सक्छ ।
तर प्रादेशिक रुपमै बन्ने सरकारलाई अहिले निर्वाचित साँसदले पहिलो प्राथमिकताका साथ राख्न सके यो असम्भव पनि छैन । अब विमानस्थल संचालनमा ल्याउन हाल नवनिर्वाचित स्थानीय जनप्रतिनिधि एंव नवर्निकचित सांसद सहितको राजनैतिक संयन्त्र सहितको एक समिति गठन गरि यसलाई एउटा समय सीमा नै तोकेर अगाडी बढाउन पहल गर्न त्यहाँका बुद्धिजीवी वा सरोकारवालाको ध्यान जाओस् ।