ध्रुवसागर शर्मा
म्याग्दी, ४ पूस– धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ । पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरनेटसहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा काम गरेर गाउँलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध गराई नागीलाई आत्मनिर्भर बनाउन सफल भएका छन् ।
विश्वभर डिजिटल साक्षरता अभियन्ता भनेर चिनिने पुनले कृषि, पशुपालन, पर्यटनलाई समेत पुनले उत्तिकै महत्व दिएका छन् । नागी अहिले कृषि, पशुपालन, पर्यटन, सञ्चार, स्वास्थ्यसहितका क्षेत्रमा आत्मनिर्भर छ । ‘महावीर गाउँ प्रवेश गरेपछि धेरै परिवर्तन भएको छ, गाउँका धेरैजसो उत्पादनमुखी क्षेत्रमा पुन सक्रिय हुनुहुन्छ’, हिमाञ्चल उच्च माविमा शिक्षक कृष्ण पुनले भने । उनका अनुसार, विद्यालयमा इन्टरनेट, कम्प्युटर शिक्षा, काठमाडौँमा रहेको मोडेल अस्पतालको सेवा गाउँमै उपलब्ध गराउने गरी टेलिमेडिसिन सेवा, महिलालाई च्याउ खेती, सिलाईबुनाई तालिम, खरायो, माछापालन, हाते कागजको उत्पादन, चौँरीपालन, सामुदायिक लज, पदमार्ग विस्तारसहित विभिन्न क्षेत्रमा नागीबासीको सहभागितामा पुनले काम गरिरहेका छन् । परनिर्भरताको अन्त्य गर्न गाउँमा सम्भावना रहेका र आवश्यकतालाई गाउँमै उत्पादन गरी पूर्ति गर्नुपर्छ भन्ने अभियान सञ्चालन गरेका महावीरले दुई दशकमा आधुनिक कृषिसहित महिलाको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सफल भएका स्थानीयवासीले बताएका छन् ।
‘महिलालाई चुलोचौकोबाट बाहिर ल्याएको नै उहाँले हो, हामीले अहिले राम्रो कमाइरहेका छौं’, महिला अगुवा राममायाँ पुनले भनिन् । श्रीमान्ले विदेशमा गरेको आम्दानीभन्दा धेरै गाउँमै उत्पादन गरेको अल्लोको कपडा, झोला, जामसहितका कृषि उत्पादनको कमाई दोब्बर भएको समेत पुनको भनाई छ । महिलाले उत्पादन गरेका सामग्रीलाई समेत स्वदेश तथा विदेशमा बजारीकरण गर्नसमेत महावीरले सहयोग गरेपछि हरेक वर्ष उत्पादनको क्षमता विस्तारका साथै गाउँभर रहेका महिलालाई तालिमसहितका गतिविधिमा समेत महिला अगुवा सक्रिय छन् । महिलाका अनुसार, महावीरले शुरुमा उत्पादन गर्न प्राविधिक, आर्थिक सहयोग गर्ने निकायका साथै तालिमसहितका सीपमूलक गतिविधिमा सहयोग गर्ने र महिला सक्षम भएपछि बजारीकरणमा सहयोगी भूमिका निर्वाह गर्ने गरेको बताएका छन् । ‘गाउँमा आएका विदेशी पर्यटकसमेत दंग परेर फर्कन्छन् । महिला आत्मनिर्भर भए समाज नै बन्छ भन्ने सुनेका थियौँ, यहाँ प्रयोग भइरहेको छ’, एक महिलाले भनिन् । –रासस