काठमाडौं, ३ पुस – एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ। सुखद सुरुवात गर्नेक्रममा ललितपुरले काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स एलेवेनले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेट गुमाएर भेटायो।
ललितपुरका भारतीय खेलाडी जयकिसन कोल्सावालाले सर्बाधिक नटआउट ४४ रनको पारी खेले। ४७ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २० तथा राजबिर सिंहले १४ रन जोडे। काठमाडौंका श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए।
त्यसअघि काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा अलआउट भएको थियो। काठमाडौंका अमित श्रेष्ठले सर्बाधिक २७ रन बनाए। उनीसँगै श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले १५, सोमपाल कामीले १४, कप्तान फरवेज महारुफ र सागर कुमारले समान ७ रन जोडे।
काठमाडौंले सुरुवात देखि नै लगातार आफ्ना विकेट गुमाइरह्यो। ओपनर सागर पुन(४) दोस्रो ओभरमा ललितपुरका भारतीय खेलाडी सुबोधकुमार भाटीको बलमा अर्का भारतीय विकेटकिपर जयकिसन कोल्सवालाको हातबाट क्याच भए। दोस्रो विकेटका लागि क्रिजमा आएका नरेश बुढाऐरलाई मेहबुब आलमले विकेटकिपर कोल्सवालाकै हातबाट शुन्य रनमा पवेलियन फर्काए।
तेस्रो विकेटका रुपमा काठमाडौंका कप्तान तथा श्रीलंकाली खेलाडी फरवेज महारुफले ३.५ ओभरमा सुबोधको बलमा सिधा छक्का प्रहार गर्दै टोलीलाई आशा जगाएका थिए तर अर्को ओभरमा मेहबुब आलमले पवन सरार्फको हातबाट क्याच गराउँदै ७ रनमा महारुफलाई पवेलियन फर्काए। राजु रिजाललाई शुन्य, सागर कुमारलाई ७ रनमा गुमाउँदा काठमाडौंको स्कोर १० औं ओभरमा ३६ बनाई ५ विकेट गुमाएको स्थितिमा पुगेको थियो।
सर्बाधिक २७ रन जोडेका ओपनर अमित श्रेष्ठलाई राजबंशीले कट एण्ड बोल्ड गरेपछि सोमपाल कामी र अक्क्षु फर्नान्डोले साझेदारी गर्दै टोलीलाई अगाडी बढाए। अक्क्षुलाई भाटीले १५ रनको स्कोरमा कोल्सवालाको हातबाट क्याच गराउनु अघि उनले सोमपालसँग उनले ३० रनको साझेदारी गरेका थिए।
लगत्तै क्रिजमा आएका सिद्धान्त लोहनी दोस्रो बलमा चौका र तेस्रो बलमा रिभर स्वीप खेल्ने क्रममा थर्डम्यान सोनु तामांङको हातबाट क्याच भए। अर्को १९ औं ओभरको पहिलो बलमा सोमपाललाई भाटीले १४ रनमा आउट गराएपछि काठमाडौंले थप स्कोर अगाडी बढाउन सकेन्।ललितपुर प्याट्रियोट्सका सुबोधकुमार भाटीले ४ तथा ललित राजबंशीले ३ विकेट लिए। यस्तै, मेहबुब आलमले २ हात पारे। प्रतियोगिता अन्तर्गत मंगलबार बिहान चितवन टाइगर्स र पोखरा राइनोज तथा दिउँसो विराटनगर वारियर्श तथा ललितपुरबीच खेल हुनेछ।
Previous Articleसरकार गठन र पार्टी एकता सँगसँगै-माओवादी
Next Article ह्याप्पी बर्थ डे केकी !