नारायण गौतम
बागलुङ, ७ असोज-अबिरल बर्षासंगै गएको पहिरोले बागलुङको एक विद्यालयमा क्षती पुगेको छ । पहिरोले बागलुङको पालाकोट ६ बाटुलेमा अवस्थित जनचेतना प्रा.वि.मा क्षती पुगेको हो । विद्यालय परिसर अगाडी रहेको खेलकुद मैदान भत्किएपछि अध्ययनरत बालबालिकाको संरक्षणमा समस्या भएको प्रअ गोविन्द प्रसाद उपाध्यायले बताए ।
तत्काल पुननिर्माण नगरे विद्यालय संगै विद्यालय नजिक रहेका चक्रपाणी आचार्य र शिव गौतमको घरमा समेत क्षति पुग्न सक्ने उनले जानकारी दिए । जिल्ला शिक्षा कार्यालय बागलुङको एक लाख रुपैयाँको लागतमा गत जेठमा निर्माण गरिएको तारबाँध करिब ७ मिटर भत्किएको र ५ मिटर चकेपछि बालबालिकाको सुरक्षामा कठिनाई भएको विद्यालयले जनाएको छ ।