बागलुङ, ३ पूस– दलित र अपांगता भएका बालबालिकालाई गरिने व्यवहारका कारण विद्यालयमा भर्ना हुन नसकेको सरोकारवालाले बताएका छन् । त्यस्तै प्राथमिक तहको पढाई पुरा गरेपछि विद्यालय छाड्ने दर बढ्नुमा पनि शिक्षक, अभिभावक तथा सरोकारवालाको व्यवहारमा परिवर्तन आउन नसकेको बताइएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जिल्ला शिक्षाको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले आयोजना गरेको अपांगता भएका तथा दलित बालबालिकाको समावेशी शिक्षाका लागि व्यबहार परिवर्तन सम्बन्धी तालिममा सहभागिले यस्तो धारणा राखेका हुन् । विशेषगरी शिक्षाको अवसरबाट छुटाइएका र समुदायका सबै खाले अपांगता भएका तथा समाजिक बिभेदबाट पछाडि पारिएका दलित तथा अपांगता बालबालिकालाई मुलधारका विद्यालयमा समावेश गर्नमा सबै शिक्षकको व्यवहार परिपर्तन गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको हो ।
तालिममा जिल्लाका ९ वटा विद्यालयका दुइदुइ जना शिक्षकका दरले १८ जनाको सहभागिता छ । आइतवार र सोमबार संचालन हुने तालिमपछि शिक्षकको व्यवहारमा परिवर्तन भएर अपांगता भएका बालबालिकाहरु पनि विद्यालयमा भर्ना हुने विश्वास लिइएको छ । ‘हाल विद्यालय बाहिर रहेका झण्डै ३ प्रतिशत बालबालिकाहरु अपांगता भएकाहरु रहेका छन्’ प्लान इन्टरनेशनल नेपालका समावेशी शिक्षा प्रवद्र्धन परियोजनाका कार्यक्रम अधिकृत संदिप बिकले भने, ‘हाम्रो व्यवहार परिवर्तन गर्न सकियो भने अधिकांस बालबालिका विद्यालय जान सक्नेछन् ।’ जिल्लामा अहिले बहिराहरुका लागि धौलागिरी बहिरा विद्यालय, दृष्टी विहिनका लागि बलेवा स्थित जनताधन माविमा समावेशी शिक्षा अभियान संचालन भैरहेको छ । त्यस्तै बौद्धिक अपांगता भएकाहरुकालागि उपल्लाचौर स्थित विद्यालय संचालनमा छ । शारिरीक अपांगता भएकाहरुको लागि भने अहिले सम्म विद्यालय नभएकोले धेरैले पढ्ने अवसर नपाएको उनले बताए । प्लानकै सहयोगमा रामरेखा निमाविमा हिल चियर सहित विद्यार्थी पढ्न सक्ने गरी भवन निर्माण भैरहेको छ । त्यसका लागि आवस्यक दरवन्दी र स्विकृतिका लागि जिल्ला शिक्षाले पहल गरेको छ ।
गत बर्ष पारित भएको समावेशी शिक्षा नीति अनुसार जिल्लाका अधिकांस बालबालिकाहरु समावेशी रुपमा पढ्ने अवसरमा पुग्नै लागेको जिल्ला शिक्षा अधिकारी गुरुदत्त पौडेलले बताए । ‘अझै अपांगमैत्री कक्षा कोठा बनाइसकेका छैनौं, पुरै भवन बनिसकेपछि बालबालिकाले पढ्ने अवसर पाउनेछन्’ पौडेलले भने, ‘शतप्रतिशत बालबालिकालाई विद्यालयमा भित्राउने अभियानका लागि पहल भैरहेको छ ।’ आगामी शैक्षिक शत्रदेखि जिल्ला शिक्षाको संरचना बिघटन भएर गाउँ र नगरपालिकामा हस्तान्तरण हुने तयारी भएको छ ।
त्यसपछि सबै स्वामित्व भने स्थानीय तहमा जाने उनले बताए । दुई दिने तालिममा प्लान नेपालका सुदिप बिक, फाउण्डेसनका नविन पन्त लगायतले सहजीकरण गरेका छन् । कार्यक्रमको संचालन परियोजनाका बलराम पौडेलले गरेका थिए । तालिम पछि शिक्षकहरुको व्यवहारमा परिवर्तन भई अपांग र दलित बालबालिकाहरु शतप्रतिशत विद्यालयमा आउने वातावरण बन्ने उनले जानकारी दिए ।