प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भई मत परिणाम सर्वजानिक भएपछि बिजयी जिल्लाका सांसदहरुलाई यतिबेला बधाई तथा शुभकामना थाप्नको लागी भ्याईनभ्याई भैरहेको छ । चुनाव जितेलगत्तै जिल्लाको सदरमुकाम छोडेर गाउँ पसेका सांसदले कुनै पार्टिका कार्यकर्ता र आम सर्वसाधारणले मात्रै हैन स्थानिय निकायमा केन्द्रित भएका सरकारी संघसंस्था तथा स्थानिय निकायका प्रमुख तथा प्रशासकहरुले समेत औपाचरिक वा अनौपचारिक रुपमा बधाई दिँदै स्वागत गरिरहेका खबर अखवारमा आईरहेका छन् । एक नजरबाट हेर्दा यो अत्यन्तै सकारात्मक पाटो हो । राज्य सञ्चालनको बागडोर सम्हाल्नको लागि जनमत लिएर आएका प्रतिनिधिहरुलाई जो कोहीले पनि स्वागत र सम्मान गर्न सक्छन् र त्यही अनुसार भैरहेको छ भनेर बुझ्न सकिन्छ ।
तर अन्य समयमा बिभिन्न संगठन तथा पार्टिहरुका भातृ संगठनको रुपमा परिचय बनाएका संगठनहरुले समेत औपचारिक रुपमा कार्यक्रम गरेर जनप्रतिनिधिलाई प्रभाव पाने खालको स्वागतले उनीहरुले भावी दिनमा गर्ने कार्यसम्पादनमा हुने कमी कमजोरी लुकाउन जनप्रतिनिधिको प्रयोग गर्न सक्ने संकेतहरु मिल्न थालेका छन् । कुनै सार्वजनिक स्थानमा नभई कार्यालयमा आयोजना गरिने स्वागतका कार्यक्रमहरुमा कर्मचारीहरुको मात्रै सहभागिता र जनप्रतिनिधिलाई गरिएको उच्च चाकडीपुर्ण ब्यबहारले यस्तो संकेत गर्न थालेको हो । जनप्रतिनिधि सबैका साझा हुन् तर निहित स्वार्थका लागि प्रयोग गर्न कुनै ब्यक्ति वा संगठनले प्रयोग गर्ने मनसायले गरेको यस्ता खालका ब्यबहारले जनमतको अपमान हुने कुरामा शंका छैन् । गाउँ तथा नगर केन्द्रित बनेका सुरक्षा निकाय देखी प्रशासन र सेवा केन्द्रसम्मले स्वागतको कार्यक्रम आयोजना गरेर जनप्रतिनिधिहरुलाई फुलमाला लगाईरहेको दृष्य हेर्नका लागि जति ब्यबहारिक र सुन्दर देखीएको छ त्यसको प्रतिउत्पादन नराम्रो बन्न सक्नेमा सबै सचेत बन्न जरुरी छ । देशमा ठुला–ठुला राजनीतिक परिवर्तन हुँदा समेत देशको आर्थिक अवस्था ज्युँका त्युँ हुनुमा हिजो भएका यस्तै खालका क्रियाकलापको हात छ भन्ने कुरामा हेक्का हुन जरुरी छ ।
यसको अर्थ यो होईन कि कर्मचारी तथा जनप्रतिनिधिहरु मिलेर जान सक्दैनन् तर सकारात्मक परिवर्तनका लागि मात्रै यो मिलगी उत्पादक बन्न सक्छ । नजिकको इतिहासलाई नियालेर हेर्ने होभने कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा देशको विकास हुनुको साटो देश दोहनको बाटो अंगालेको यथार्थ हाम्रो अगाडि छ । त्यसैले सहि सोच र सकात्मक प्रभावका लागि गरिएका बधाई ज्ञापन तथा स्वागतका कार्यक्रमहरु न्यायोचित हुन तर निहित स्वार्थ र प्रभावमा पारेर पेशाको सुरक्षाका लागी गरिएको स्वागत हो भने त्यो आम सर्वसाधारणका लागी मान्य हुने छैन् । जनताका प्रतिनिधिहरुलाई कर्मचारी संयन्त्रले ब्यक्तिगत वा संस्थागत प्रभावमा पारेर फाईदा उठाउने प्रबृत्ति नेपालको पुरानो प्रबृत्ति हो यसको अन्त्यका लागि जनप्रतिनिधिहरु दरिलो र कर्मचारीतन्त्र बिश्वासिलो बन्न जरुरी छ । स्वार्थका लागी आजसम्म भएका सबैखाले क्रियाकलापको अन्त्यका लागि सबै बर्ग, क्षेत्र र समुदायले हातेमालो गरेर अगाडि बढ्नु नै आजको आवस्यकता हो ।