राजेशचन्द्र राजभण्डारी
‘कला संस्कृतिको संरक्षण कृषि, पर्यटन, उद्योग तथा ब्यापारको प्रर्वद्वन प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक ब्यापार मेला’ भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा बागलुङ महोत्सब २०७४ पुस १४ गतेदेखि २३ गतेसम्म सदरमुकाम बागलुङ बजारमा हुन गैरहेको छ ।
अहिलेसम्म चुनावी चटारोमा रहेको देशमा चुनावी नतिजा आएपछि भने मौसम चिसो भएपनि बागलुङ महोत्सबले गर्दा यतिबेला बागलुङ तातीरहेको महसुस सबैले गरिरहेका छन् । यसपटक फरक ढंगले बागलुङ महोत्सब गर्ने तयारी मुल आयोजक बागलुङ उद्योग बाणिज्य संघले गरेको छ । करिब ४ बर्षको अन्तरालपछि हुन लागेको यसपटकको महोत्सब सधै–सधैं झै बागलुङको चैतेदशै मेलाको अबसरमा नभएर फरक समय पुस महिनामा भब्य र शब्य रूपमा सम्पन्न गर्ने नयाँ जोश र जाँगरका साथ विभिन्न समिति र उप–समिति बनाएर कामको जिम्मेवारी समेत बाँड्ने काम मात्रै भएको छैन त्यो अनुसार काम अगाडि बढिसकेको छ ।
बागलुङ सुनसान हुन थाल्यो, बागलुङ बजारमा ब्यापार ब्यबसाय कम हुन थाल्यो, यहाँका ब्यबसायी बिस्थापित हुन थालेको कुरालाई समेत अहिले पुसमा आयोजना गरेको महोत्सबले केही हदसम्म भएपनि सम्बोधन गर्ने देखिन्छ । स्थानीय तहको चुनावपछि अहिले गाउँबाट सदरमुकाममा आएर बसोबास गर्ने ब्यापारी ब्यबसायीहरू केही आफ्नै गाउँ फर्किन लागेको समयमा बागलुङ उद्योग बाणिज्य संघले बागलुङ महोत्सब गरेर करोडौंको ब्यापारिक र ब्यबसायिक कारोबार गर्ने लक्ष्य राखेको बागलुङ महोत्सव मुल आयोजक समितिका संयोजक जयराम भारीको भनाईबाट पनि के कुरा बुझ्न सकिन्छ भने अहिले साँच्चै बागलुङका ब्यापारी ब्यबसायी र उद्यमीहरूको बिषयमा बागलुङ उद्योग बाणिज्यको नेतृत्व भने अहिले चिन्तित रहेको देखिन्छ । साँच्चै भन्ने हो चिन्ता सबैले गरेको देखिन्छ तर चिन्तन गर्नेहरू भने निकै कम नै देखिन्छ । प्रमुख कुरा चिन्तन नै हो । अहिले ढिलै गरी भएपनि जुन जनमत बागलुङमा देखिदैछ यसलाई निरन्तरता दिन जरुरी छ । बागलुङ महोत्सब नभएपनि बागलुङमा चिन्ता गरिन्छ । यदि भयो भने पनि बागलुङ बजारमा भएन टाढा भयो, त्यसकारण बजारलाई फाइदा भएन भन्ने धेरै गुनासो बजारमा सुनिन्थ्थो । अहिले सो समस्यालाई पनि हल गर्न बागलुङ सदरमुकामको केन्द्र धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा गर्ने सहमति क्याम्पस परिवार र बागलुङ उद्योग बाणिज्य संघबीच सहमति भयो । यसलाई सकारात्मक रूपमा लिन जरुरी छ । अहिले चिसिदै गएको मौसम र निराश हँुदै गएका बागलुङबासीलाई यसपटकको महोत्सबले नयाँ उर्जा अबश्य थप्ने देखिन्छ । सबै बागलुङका बासिन्दा सकारात्मक बनौ, सबैले बागलुङलाई राम्रो बनाउने कुरामा चिन्तन गरौ । हामीले एकपटक छिमेकी जिल्ला पर्बत र म्याग्दीलाई हेरौ । हामीभन्दा पछि आएका ब्यापारी ब्यबसायीले किन धेरै विकास गर्न सफल भए । हामी किन पछाडि पर्न गयौ । यसको समिक्षा गर्न जरुरी छ । बागलुङ उद्योग बाणिज्य संघको काम भनेको ब्यबसायीलाई हौसला दिने हो । नयाँ योजना ल्याएर लगानी गर्ने बाताबरण बनाउने हो । तर सबैले बागलुङ उद्योग बाणिज्य संघलाई साथ र समर्थन गर्न जरुरी छ । अहिले पुसमा महोत्सब गर्ने बागलुङबासीलाई अबसरसंगै नयाँ चुनौती पनि हो । साँच्चै भन्ने होभने चुनौतीसंग सामना गर्नेले नै सफलता हासिल गर्छ । अहिले बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वले बागलुङ जिल्लामा पहिलोपटक पुस महिनाको ठण्डी समयमा बागलुङमा नयाँ माहौल बनाउने अभियानमा समेत रहेको देखिन्छ । यसलाई जसरी पनि सफल बनाउने सम्पन्न गर्ने बागलुङ उद्योग बाणिज्य संघलाई सबैले साथ समर्थन गर्न जरुरी छ । महोत्सबमा धेरैभन्दा धेरै आन्तरिक पर्यटन भित्राउने स्थानिय कला संस्कृतिको संरक्षण गर्ने ब्यापार ब्यबसाय गर्ने नै हो । साँच्चै बागलुङमा पनि सबै कुरा छ है भनेर देशभरि सन्देश दिने बागलुङ महोत्सबमा बढीभन्दा बढी पर्यटन भित्राउनु नै प्रमुख उदेश्य हो भन्ने कुरामा कसैको दुई मत हुने छैन ।
बागलुङ उद्योग बाणिज्य संघले अहिले बागलुङलाई प्रदेश नम्बर ४ मै पहिचान गराउने प्रमुख उदेश्य साथ यसपटकको बागलुङ महोत्सबले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा राखिएको छ । प्रसिद्व शक्तिपीठ कालिका भगवती मन्दिर, सर्बसिद्वीधाम पन्चकोट, नेपाल कै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष, पश्चिम क्षेत्र कै अग्लो पहाड घुम्टेको लेक, नेपाली हाते कागज, बुट्टेनलीलाई अझै स्थापित गर्नका लागि सबैको भुमिका प्रभावकारी हुन जरुरी छ । अहिले लामो समयको अन्तररालपछि हुन गैरहेको बागलुङ महोत्सब अबश्य पनि बागलुङको पहिचान हो । यसलाई हामी सबै बागलुङबासीको महोत्सब बनाउनको लागि जिल्लामा भएका सरकारी र गैरसरकारी सामाजिक संघसंस्था, राजनीतिक दल, स्थानीय निकाय, संचार माध्यम, नागरिक समाज, ब्यापारी, सहकारी बैक तथा बित्तिय संस्थाले अहिले जुन एक्येवद्वता जाहेर गरेका छन् यसलाई सकारात्मक सहयोग मान्नुपर्छ ।
औद्योगिक उत्पादन सेवाहरूको प्रदर्शन कृषि मेला, घरेलुु बन पैदावर जडिबुटी, लघुउद्यमीद्वारा उत्पादित बस्तुको प्रदर्शन यसपटकको महोत्सबको थप आर्कषक केन्द्र हो । अब बागलुङबासी सबैले यसपटक हुने बागलुङ महोत्सबलाई हाम्रो महोत्सब र राम्रो महोत्सब बनाउन आ–आफ्नो ठाउँबाट भुमिका खेल्न जरुरी छ । अहिले संघियताले केही ब्यापार ब्यबसायमा प्रभाव परेपनि बागलुङलाई साँच्चै कै ब्यबसायी केन्द्र बनाउने अभियानको नेतृत्व अब बागलुङको साझा ब्यबसायिक संस्था बागलुङ उद्योग बाणिज्य संघले खेल्ने कुरामा ढुक्क भए हुन्छ । अहिले निर्वाचनबाट निर्वाचित भएका ६ जना जनप्रतिनिधिले समेत बागलुङको समग्र विकासको लागि आफुहरु सबैसंग मिलेर अगाडि बढ्न तयार रहेको अभिब्यक्तिबाट पनि अब बागलुङ नयाँ ढंगले अगाडि बढ्ने र अबको ५ बर्षमा विकास र ब्यबसायले फड्को मार्नेमा विश्वास गर्न सकिन्छ ।