बागलुङ, २ पूस– ताराखोला गाउँपालिका–५ स्थित मसिनाडाँडा तिनचुले मुलपानी सामुदायिक वनमा आगो लागेर लाखौंको क्षति भएको छ । स्थानीय टकबहादुर बुढाले खरवारीमा लगाएको आगो अनियन्त्रित भएर दुइसय हेक्टर वन नष्ट भएको हो । जंगल आसपासमा बस्ती नभएकोले मानवीय क्षति भने नभएको प्रहरीले बतायो । गाउँलेको गोठहरुमा क्षति पुग्न सक्ने शंकाले प्रहरी र स्थानीयले सजगता अपनाएको ताराखोलाबाट पूर्णभद्र निउरेले बताए ।
ताराखोला ४ र ५ का दुइसय बढी स्थानीय बासिन्दाले आगो नियन्त्रण लिएका थिए । इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरीले गाउलेलाई साथ दिएका छन् । अप्ठ्यारो भीरमा आगो लागेकोले नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाका जवानलाई पनि खटाइएको सहायक प्रजिअ नारायण पाण्डेयले बताए । बिहिबार रातीदेखि लागेको आयोगले जंगल नष्ट पारेपछि स्थानीयलाई घाँस दाउराको समस्या पर्ने स्थानीयले गुनासो गरेका छन् । ताराखोलाका जंगल घाँसदाउरा बाहेक जडिबुटीका लागि पनि महत्वपूर्ण मानिन्छन् । सुख्खा मौषम र भीरालो क्षेत्र भएकोले स्थानीयको प्रयासले आगो नियन्त्रण गर्न नसकिएको बताइएको छ ।
साथै पहराबाट आगो लागेकोले ढुंगा खस्ने समस्याले स्थानीयले नियन्त्रण लिन समेत सकेका थिएनन् । शनिवार दिउसोबाट सेनाले नियन्त्रणमा लिएपछि थप फैलन नपाउने स्थानीयले अनुमान गरेका छन् । सेनाले सहसेनानीको नेतृत्वमा तालिम प्राप्त अग्नि नियन्त्रक टोली पठाएको थियो । जंगल नष्ट हुन थालेपछि आगो नियन्त्रणका लागि नवनिर्वाचित सांसद चन्द्रबहादुर बुढाले पनि प्रशासनमा आग्रह गरेका थिए । डडेलोले जंगलका जैविक विविधता नष्ट भएको उनले बताए । डडेलोले कति नष्ट भयो भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Previous Article२०७४ पुस २ गते आइतबारको राशिफल
Next Article गाउँमा बस पुग्दा खुशीले अविरजात्रा