म्याग्दी, २८ मंसिर– हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बनेकी छन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी भएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ निर्वाचित एक्ली सांसद बनेकी हुन् । दस हजार ८६८ मत प्राप्त गरेर विजयी भएकी पुनले नेपाली काँग्रेसका अमलाल फगामीलाई दुई हजार ८७८ मतान्तरले पराजित गरेकी हुन ।
धौलागिरि, मालिका र मंगला गाउँपालिका समेटिएको ३२ हजार ५४५ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (ख) मा १९ हजार ७७४ मत खसेकामा काँग्रेसका उम्मेदवार फगामीले सात हजार ९९० मत प्राप्त गरे । प्रदेश नं ४ मा पर्ने धौलागिरिमा प्रत्यक्षतर्फ पुनसहित दुईजना मात्र महिला उम्मेदवार बनेका थिए । बागलुङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का एमालेका सूर्य पाठकसँग पराजित भइन् ।
दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेकी ४७ वर्षीय पुन केपी ओली प्रधानमन्त्री हुँदा पशुपक्षी विकास राज्यमन्त्री बनेकी थिईन् । अर्थशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गरेकी पुन म्याग्दीकोे शिक्षित र अगुवा महिला मानिदै आएकि छन् । उनि विसं २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिं पुन र २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेलसँग पराजित भएकी थिईन् ।