बागलुङ, २७ मंसिर – प्रतिनिधिसभा तथा प्रदेशसभामा देशैभरी आएको बामगठबन्धनको जितको बिषयलाई आधार बनाएर बागलुङे सर्जक तारानाथ आचार्यले लोकगित बजारमा ल्याएका छन् । ‘आयो आयो आयो बाम आयो’ बोलको उत्तेजीत गीत स्टार डिजिटल पोखराले बजारमा ल्याएको हो ।
तारानाथ आचार्यको शव्द तथा लय सिर्जनामा रहेको उक्त गीतमा आचार्य सहित ईश्वर सिंह र रेखा श्रेष्ठले स्वर दिएका छन् । देशैभरी बाम शक्तिहरुले नतिजा आफ्नो पोल्टामा पारेपछि समसामयीक बिषयलाई समाएर गीत सिर्जना गरेको आचार्यले बताए । निर्वाचन पहिले दलहरुले चलाएका अभियान र निर्वाचनको परिणामपछि मनाईएका बिजय जुलुसका दृष्यहरु समाबेश गरेर म्युजिक भिडियो समेत निर्माण भएको छ ।
‘आयो आयो आयो आयो बाम आयो, जनताको दिलमा घाम लायो’ ‘आयो आयो गठबन्धन बाम आयो, हजुरको भोट काम लायो’ जस्ता शव्द आचार्यले गीतमा प्रयोग गरेका छन् ।
आचार्यले बाम शक्तिको जितले हुन सक्ने परिवर्तनलाई पनि शव्दद्धारा चित्रण गरेका छन् । ‘सुकुम्बासीको बस्तिमा आशाको दियो बल्नेछ, असाह्य गरिब दुःखीको चुलामा आगो बल्ने छ ।’ ‘आर्थिक समृद्धि हुनेछ, मिरमिरे बिहान आउने छ, कालो त्यो बादल फाटेर चम्किलो घाम लाउने छ ।’ जस्ता शव्द गीतमा प्रयोग गरिएको छ ।
यो भन्दा अगाडि पनि निर्वाचनको लागि भन्दै बाम तालमेल भएपछि आचार्यले ‘देशले खोजेको बाम एकता’ भन्दै गीत बजारमा ल्याएका थिए । जुन गीत लाखौंको संख्यामा युटुव भ्युज पाएको सुचीमा परेको छ ।