काठमाडौं, २७ मंसिर– प्याजको भाउ नेपाली बजारमा पाँच वर्षयताकै महँगो छ । नेपाली प्याजको बजार भारतमा निर्भर हुने भएकाले पछिल्लो समय भारतमै प्याजको अभाव भई नेपालमा पनि मूल्य बढेको हो । केही दिनयता भारतीय बजारमा प्याजको भाउ केही घटेपनि नेपाली बजारमा भने त्यसको प्रभाव नपरेको व्यवसायीहरुको भनाई छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिलेको प्याजको भाउ पाँच वर्षयताकै महँगो हो । हाल प्याजको प्रतिकिलो थोक मूल्य ९३ रुपैयाँ र खुद्रा मूल्य १६० रुपैयाँसम्म छ । यो मूल्य गएको पाँच वर्षको अवधिको तुलनामा झण्डै दोब्बर हो । गएको वर्ष यसै अवधिमा प्याजको प्रतिकिलो थोक मूल्य २५ रुपैयाँमात्र रहेको समितिको तथ्यांक छ । त्यस्तै, अघिल्लो वर्ष यसै अवधि (मंसिर तेस्रो साता) प्याजको प्रतिकिलो थोक मूल्य ४४ रुपैयाँ थियो । ०७१ र ०७० को यसै अवधिमा भने क्रमशः ३८ र ४८ रुपैयाँ रहेको देखिन्छ । केन्द्रीय फलफूल तथा तरकारी थोक बजार व्यवसायी संघ नेपालका अध्यक्ष अर्जुन सिलवालले नेपालमा उपभोग गरिने प्याज ९५ प्रतिशत भारतदेखि भित्रिने बताए । ‘नेपालमा उपभोग गरिने प्याजको बजार भारतमा निर्भर छ,’ उनले भने, ‘भारतीय बजारमा थोरैमात्र मूल्यमा घटबढ भए सोझै नेपाली बजारमा प्रभाव गर्छ । अहिले भएको त्यस्तै हो ।’ उनका अनुसार, अहिले भारतमा प्याज अभाव भएका कारण प्याज संकटकाल घोषणा गरिएको छ । त्यसले अझै केही समय नेपाली बजारलाई असर पार्ने उनको बुझाइ छ । भारत सरकारले आफ्ना नागरिकलाई सहजै प्याज उपलब्ध गराउन नश्चित मूल्य तोकेर खरिद गरिरहेको छ । भारतबाहिर निर्यात गर्न भने प्रतिकिलो ५६ भारु मूल्य तोकिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले पनि प्याजको भाउ भारतीय बजारमा निर्भर रहेको बताए । बजारमा हुने प्याजको मूल्यको उत्तरचढावको बारेमा भने केही भन्न नसकिने उनी बताउँछन् ।
Previous Articleकालिका भगवतीको सत्तल सिलान्यास ।
Next Article स्वास्थ्य सेवा शिविर सकियो