बागलुङ, २७ मंसिर – प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी रहँदा नै वाम गठबन्धनले प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । परिणाम आइसकेका १ सय ६४ स्थानमा वाम गठबन्धनले दुई तिहाइ सिट जितेको छ । अन्तिम परिणाम आउन बाँकी १ क्षेत्रमा पनि एमालेकै उम्मेदवार अगाडि छन् । एमालेले ८०, माओवादीले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपाले १ स्थानमा जितेका छन् । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस २२ सिटमा सीमित छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । सुनसरी–३ को मतगणना जारी छ ।
समानुपातिकतर्फ मंगलबार साँझसम्म ४१ लाख २५ हजार १ सय ४९ मतगणना भएकामा एमालेले १५ लाख ८ सय ५५ मत ल्याएको छ । त्यो अहिलेसम्मको गणनाको ३६ प्रतिशत हो । कांग्रेसले १४ लाख १० हजार ४ सय ५१ मत ल्याएको छ जुन ३४ प्रतिशत हो । माओवादीले ५ लाख ९७ हजार ७ सय २२ मत (१४ दशमलव ४८ प्रतिशत) ल्याएको छ । चौथो स्थानमा संघीय समाजवादी फोरम नेपालले मत ल्याएको छ । उक्त पार्टीले ल्याएको १ लाख ४१ हजार ३ सय ७८ मत (३ दशमलव ४२ प्रतिशत) हो । करिब आधा मत गणना भइसक्दा चार पार्टीले मात्रै गणना भएको मतको ३ प्रतिशत कटाएका छन् ।
राप्रपाले ९३ हजार ५ सय २१, विवेकशील साझा पार्टीले ९१ हजार २ सय ६५, राष्ट्रिय जनता पार्टीले ८५ हजार ३ सय ९६ मत ल्याएका छन् । यी तीनै पार्टीले गणना भएको मतको २ प्रतिशतभन्दा बढी ल्याएका छन् । यस्तै, नयाँ शक्ति पार्टीले ४६ हजार ४ सय २१, राप्रपा (प्रजातान्त्रिक) ले ३० हजार ८ सय ३८, राष्ट्रिय जनमोर्चाले ३० हजार २ सय २१ मत पाएका छन् ।
प्रत्यक्षमा वामको दुई तिहाइ, समानुपातिकमा एमाले अगाडि
Previous Articleस्याङ्जा – २ मा एमालेकी पद्मा अर्याल विजयी
Next Article स्याङ्जा बन्यो एक मात्र महिला मैत्री जिल्ला