प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक परिणामअनुसार यसपटक मुलुकमा वाम वर्चस्व स्थापित हुने निश्चित जस्तै देखिएको छ । निर्वाचन अगाडि गरिएको विभिन्न भविष्यवाणीलाई माथ गर्दै वाम गठबन्धनमा देखिएको देशव्यापी लहरले अब मुलुकमा स्थिर सरकार दिने निश्चित देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा सहित मुलुकमा स्थिर सरकार बनाउनका लागि मत दिन गरेको आब्हानलाई आमजनताले अनुमोदन गर्ने प्राय निश्चित देखिन्छ । पहिलो जनआन्दोलन २०४७ देखि निरन्तर मुलुकमा देखिएको अस्थिरताबाट वाक्क जनतालाई एमाले माओवादीको यो नाराले आकर्षित गरेको बुझ्नलाई कठिन छैन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले वामपन्थीको बहुमत भएमा अधिनायकवाद आउँछ भनी गरेको प्रचारबाजीलाई मतदाताले पत्याएको देखिएन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताले बामपन्थी अधिनायकवादको खतरालाई प्रत्येकजसो भाषणमा उल्लेख गरेका थिए । बामपन्थीले अगाडि सारेको स्थिर सरकार र समृद्धिको नाराले कांग्रेसलाई मतदान गर्दै आएका व्यक्तिलाई समेत आकर्षित गरेको देखियो । धेरैखाले शक्तिलाई पालैपालो सरकार बनाउने जिम्मेवारी दिइसकेका जनताले यसपटक वाम गठबन्धन बनेपछि नयाँ प्रयोग गर्न खोजेको देखिन्छ । वास्तवमा प्रजातन्त्र पुनस्र्थापना भएको २५ वर्षमा दुई दर्जनभन्दा बढी सरकार बनेका छन् । यतिसम्म भयो कि एउटै कार्यक्रममा आधा दर्जनजति पूर्वप्रधानमन्त्री देखेका कारण काठमाडौं आएको वेला म्यानमारकी नेतृ आङसाङ सुकीले समेत आश्चर्य प्रकट गरेकी थिइन् । लोकतन्त्र आएपछि मुलुक झन् अस्थिर बनेको, सरकार आउने र जाने क्रमले विकास निर्माणका काम हुन नसकेको अनुभव सवैले गरेका थिए । त्यसका अलवा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला भारतीय नाकाबन्दीविरुद्ध देखाएको अडानलाई समेत मतदाताले यसपटक पुरस्कृत गरेका छन् ।
नाकाबन्दीविरुद्ध बोल्न नसक्नेहरुका बारेमा समेत यसपटकको निर्वाचनमा पटकपटक कुरा उठेको देखियो । संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकार थियो । संविधान जारी भएपछि ओलीले सरकारको नेतृत्व लिए र उनकै राष्ट्रवादी अडानका कारण नाकाबन्दी हटेको थियो । वाम गठबन्धन र पार्टी एकीकरणको मीठो चाहना आममतदाता रहेछ भन्ने पनि यो निर्वाचनले देखाएको छ । नेपालमा विगतदेखि नै बलियो वाम मतको उपस्थिति थियो । तर त्यो मत एकीकृत गर्न सकेको देखिएको थिएन । सामान्य विषयमा सहजै टुटफुट र विभाजित हुन सक्ने नेपाली वामहरूलाई मिलाउनु अत्यन्त कठिन थियो । आफ्नो दलको लोकप्रियता रहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा सँगै जान तयार पार्नु एमाला अध्यक्ष केपी ओलीको सफलता मान्नुपर्छ । यो निर्वाचनले ओलीलाई एउटा सफल नेताका रूपमा दलभित्र र बाहिर सवैतिर स्थापित गरेको छ । त्यति मात्रै होइन, एमालेको बलियो सांगठानिक संरचना पनि यो निर्वाचनबाट स्थापित भएको छ । निर्वाचनमा एमाले र माओवादी केन्द्रले सहयात्रामात्र गरेका होइनन्, भोलि दुई दलको पार्टी एकीकरणको भरोसासमेत यी दुई नेता ओली र दाहालले दिए । आममतदाताले यी नेता माथि नै भरोसा गरेको देखियो । अव वामपन्थीले विजयको दम्भ लिएर होईन, सुखद परिणामको विश्वासलाई अगाडि बढाउन सक्दा मात्रै राष्ट्रले समृद्धि प्राप्त गर्न सक्नेछ ।
Previous Articleकिन रोजे जनताले अधिनायकवाद ?
Next Article २०७४ मंसिर २५ गते सोमबारको राशिफल