राजेशचन्द्र रा.भ. – अहिले भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा हेर्दा काँग्रेसको शब्दमा देश अधिनायकवादको यात्रामा लाग्ने संकेत देखिन्छ । साँच्चै किन रोजे त नेपाली जनताले अधिनायकवाद सबैभन्दा महत्वपूर्ण कुरा यहीँ हो । अहिले भएको चुनावी नतिजालाई हेर्ने होभने बामपन्थी गठबन्धनको पक्षमा देखिएको जनमतले जनता परिवर्तनको पक्षमा छन् भन्ने कुरा स्पष्ट भएको छ । मुलुकमा सधैं राजनीतिक तरलता कै कारणले कुनैपनि राजनीतिक पार्टीको बहुमत नपुग्ने अनि सरकार ५ बर्षसम्म नचल्ने मात्रै हैन कि सरकार ढाल्ने र नयाँ बनाउने खेल मात्र हुन थालेपछि राजनीतिक दलभन्दा नेपाली जनता वाक्कदिक्क भएका थिए । यहीँ कारणले देशमा जम्बो मन्त्री मण्डल बनाउने गरेको कारणले झन्भन्दा झन् बिकृती बढ्दै गयो ।
राजनीतिक परिवर्तनको केन्द्र नभएर मागी खाने र ठगी खाने भाँडो साबित भएको महसुस नेपाली जनताले गरे । २०६२ र ६३ को जनआन्दोलनको परिवर्तनले नेपाली जनताले राहतभन्दा पनि आहत पाए । नातावाद, कृपाबाद र फरियावाद झन् संस्थागत हुँदै गयो । अहिले जनआन्दोलनको शक्तिमध्ये एमाले र जनयुद्धबाट आएको शक्ति माओबादी केन्द्रबीच पार्टी एकता र बामपन्थी गठबन्धन बनेर चुनावमा होमिएपछि आफुलाई लोकतन्त्रको हिमायती भनेर दाबी गर्ने नेपाल कै पुरानो पार्टी नेपाली काङ्ग्रेसले अब मुलुक अधिनायकवादतर्फ गएको, अब देशमा नेपाली जनताको हाँस्ने र रूने अधिकार समेत खोसिने भयो भनेर देशको प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र काङ्ग्रेस नेता रामचन्द्र पौडेल लगायतकाले भद्दा खालको अभिब्यक्ती दिएर जनता माझ भ्रम पार्ने खेती गरेपनि त्यो कुरालाई यसपटक निर्वाचनमा मतदान गर्ने जनताले बिश्वास गरेको पाइएन । नेपालका बामपन्थी शक्तिले भनेझै देशमा ६५ प्रतिशत जनमत बामपन्थीको पक्षमा भएको तर बामपन्थी शक्ति बिभाजन भएको कारणले त्यसको फाइदा काङ्ग्रेस लगायतका शक्तिले उठाइरहेको हो भन्ने कुरा अहिले भएको बामपन्थी गठबन्धनले पुष्टि गरिदिएको छ । साँच्चै यसपटक भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बामपन्थी गठबन्धनको लागि चमत्कार नै साबित भएको मान्न सकिन्छ ।
अहिले जनताले जुन जनमत दिएको छ बामपन्थी गठबन्धनले बुझ्न जरुरी देखिन्छ । जहिले पनि मिलिजुली सरकार बनाउने अनि मिलेर खाने संस्कार र संस्कृतिको अब भने अन्त्य हुने बिश्वास गरिए पनि नेपाली जनता अझै पुर्ण रूपमा बिश्वस्त हुनभने सकेका छैनन् । अब भने नेपालमा बामपन्थी गठबन्धन शक्ति कै नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भएको छ । यसले अब नयाँ राजनीतिक दिशा समात्ने देखिन्छ । हिजोसम्म नेपाली जनता माझ हामीले पार्टीको बहुमतको सरकार नभएको हुनाले काम गर्न सकेनौं भन्ने कुराको पनि अन्त्य गरिदिएको छ । अब नयाँ संबिधान र नयाँ सरकारलाई नेपाली जनताबीच मात्रै होइन बिश्व जनसमुदाय समक्ष समेत स्थापित गर्नुपर्ने चुनौती बामपन्थी गठबन्धनलाई छ । साँच्चै चुनौती र अबसर दुबैलाई उपयोग गरेर अगाडि बढ्न सक्यो भने देशमा बिकास र आर्थिक रूपमा देशलाई मजबुत बनाउन अबश्य पनि सकिन्छ । यो कुरालाई पनि मनन गर्न जरूरी छ । साँच्चै यसपटकको निर्वाचनमा बामपन्थी गठबन्धन बनेपछि काङ्ग्रेसले पनि राप्रपा मधेसी दलसंग मिलेर लोकतान्त्रिक गठबन्धन बनाउने काम गरेको हो । काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले यसपटक निर्वाचनमा आफ्नो लागि जनतासंग मत माग्नेभन्दा पनि बामपन्थी गठबन्धन देशमा अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेपाली जनता माझ झुटको खेती गरे । बामपन्थीले निर्वाचन जितेमा रून समेत नपाइने भनेर हल्ला गरे । जुन हल्ला अनुसार नेपाली जनताले काङ्ग्रेसको कुरा मानेका भए अहिले बामपन्थी गठबन्धनले पुरै चुनाव हार्नु पर्ने थियो । तर कुरा ठिक उल्टो देखियो । अहिले १६५ सिटमध्ये बामपन्थी गठबन्धनको पक्षमा बहुमत आउने लगभग निश्चित नै छ ।
यसपटक जसरी जनताले आशा भरोसा गरेर बामपन्थीलाई मतदान गरे यसैले अहिले बामपन्थी बहुमतको सरकार बन्ने भयो अहिले जनताको अगाडि गरेको बाचालाई ब्यबहारिक रूपमा उतार्न जरुरी छ । अहिलेको निर्वाचनमा नेपाली जनतालाई भ्रमको खेती गरेर नथाक्ने नेताहरूलाई जनताले मतदानबाटै सबक सिकाई दिएका छन् । नचाहिने कुरा गरेर अहिले जनताले बिश्वास गरेनन् । यसबाट के कुरा स्पष्ट भएको छभने अहिले २१ औ शताब्दीमा नेपाली जनतालाई झुक्याउन संभाव छैन भन्ने कुरा सबैले बुझ्नु पर्छ । साँच्चै नेपाली जनताले अहिले अधिनायकवाद नै रोजेको देखियो । साँच्चै यो अहिले देशैभरीका जनताले यो अधिनायकवादलाई किन मतदान गरे त ? अहिले यो प्रश्नको जवाफ खोज्न जरुरी छ । हैन भने अहिले नचाहिने कुराको हल्ला गरेर कसैले पनि बिश्वास गर्दैन भन्ने कुरा अहिले लोकतन्त्रबादीले बुझ्न जरुरी छ । अहिले एमाले र माओबादीबीच पार्टी एकता हुन लागेको छ यसलाई बिरोध गर्नुभन्दा छरिएका शक्तिबीच पार्टी एकता गरेमा देश र जनतालाई फाइदा पुग्ने छ । अहिले भएको गठबन्धनले देशमा अब दुई वटा मात्रै राजनीति शक्ति मात्रै रहने देखियो । यसले अब देशमा सानो–तिनो राजनीतिक दलको चलखेल र मन्त्री पद खाने खेतीको भने अब अन्त्य भएको छ । बामपन्थी गठबन्धन जेजस्तो भएपनि अब देशको बिकास र जनताको पक्षमा काम गर्न जरुरी छ ।
Previous Articleरातभरमा प्रचण्डले १० हजारले मतान्तर बढाए
Next Article ओली एजेण्डा अनुमोदन