भूपेन्द्र बहादुर थापा
प्रतिनिधिसभा सदस्य, म्याग्दी
निर्वाचत भएपछि तपाईले आम नागरिकलाई के भन्न चाहानु हुन्छ ?
–सर्वप्रथम मलाई विजय बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । निर्वाचनमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । आफ्नो ब्यस्त समयलाई पनि छोडेर उम्मेदवारी दर्तादेखी मतदान, मतपेटिकाको सुरक्षा, मतगणना लगाएत निर्वाचन सम्बन्धि विभिन्न गतिविधिमा समय दिनुहुने बाम गठबन्धनका सहकर्मी साथीहरूलाई समेत विषेश धन्यवाद ज्ञापन गर्दछु । मैले आफ्नो जीवनको धेरै समय राजनीति मै खर्चिए । राजनीति बाहेक कुनैपनि पेशा ब्यवसायमा म संलग्नता भईन् । अव जनप्रतिनिधिको हैसियतामा जिल्लाको समृद्धिका लागि सक्रिय हुनेछु ।
निर्वाचित भएपछि कस्तो अनुभुती भएको छ ?
–निकै उत्साहित छु । राजनीतिक मेरो ब्यवसाय होईन् सेवा हो । कुनैसमय पार्टी संकटमा परेको बेलामा पनि दुर्गम बस्तीमा पार्टीका कार्यकर्तालाई संरक्षण मै तीन दशक विताएको छु । २०३७ सालमा विद्यार्थी राजनीति सुरु गरेपछि पार्टीको गाउँदेखी केन्द्रसम्म विभिन्न जिम्मेबारीलाई सफलतापूर्वक पुरा गरेको छु । अहिले पार्टीले बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि विगतमा पार्टीको गतिविधिमा मैले देखाएको सक्रियता र जनताले दिएको विश्वासको मतको रुपमा लिएको छु । मेरो एउटै उदेश्य जनताको सेवा गर्ने हो । त्यसैले यो जीतलाई सबै म्याग्देलीको जीतको रुपमा लिएको छु । मतदाताको भावना विपरित कुनैपनि कार्य गर्ने छैन् । मैले यो जीतलाई उन्मादको रुपमा नभई जनतालाई दिएको बाचा पुरा गर्ने तर्फ केन्द्रित गर्ने छु ।
निर्वाचित सांसदको हैसियतले आफ्नो क्षेत्रमा कस्तो कार्ययोजनालाई प्राथमिकतामा राख्नुहुन्छ ?
–मैले घोषणापत्र र जनताको घरदैलोमा पुगेर दिएको प्रतिबद्धतालाई पुरा गर्नेछु । जसअन्र्तरगत समृद्ध म्याग्दी बनाउन आवश्यक पर्ने धेरै योजनाको खाका तयार पारिएको छ । घरदैलो, आमसभामा दिएका प्रतिबद्धतालाई पुरा गर्नुका साथै निम्म काम गर्नेछु ।
क) जिल्लामा अहिले पनि प्रारम्भीरक परिक्षणमै करिव १२ सय मेगावाट जलविद्युत उत्पादनको सम्भावना देखिएको छ । उर्जा उत्पादनमा लगानी भित्राउने, निजी तथा सरकारी निकायबाट निर्माण भइरहेका आयोजनालाई निर्माण कार्यलाई तिब्रता दिन आवश्यक पहल गरी पाँच बर्षभित्र ठुला आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने मेरो प्राथमिकतामा पर्छ ।
ख) सानो जिल्ला भएपनि म्याग्दीमा पर्यटनमा प्रचुर सम्भावना छ । बर्षेनी करिव १ लाख आन्तरिक तथा बाह्य पर्यटक जिल्लाको भ्रमणमा आउने गरेका छन् । उनीहरुलाई थप सहज बनाउन पदमार्गमा आवश्यक पूर्वाधार, नयाँ होटल विस्तार, ग्रामिण पर्यटनका लागि विभिन्न संघसंस्थासंग छलफल तथा नयाँ रुटमा पनि पर्यटक भित्राउन पहल गर्नेछु ।
ग) जिल्लाकै बेनी नगरपालिका–५मा रहेको पौलस्य पुलहआश्रम विश्वका महत्वपूर्ण धार्मिकस्थल भित्र पर्छ । लंकाका राजा रावण जन्मिएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यसलाई प्रचारप्रसार गर्न सकिएमा भारत, भुटान, श्रीलंका लगाएतका साक राष्ट्रभित्र रहेका हिन्दु धर्मालम्बीलाई जिल्लामा भित्राउन सजिलो सहज हुने भएकाले बेनी नगरपालिकाले निर्माण गर्न लागेको रामायण पार्कलाई तिब्रता दिदैं यसका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरिने । साथै विश्वप्रसिद्ध गलेश्वरधाम लगाएतका मन्दिरहरुको संरक्षणका साथै आवश्यकता अनुसार योजना निर्माण गर्नेछु ।
अन्य दललाई कसरी समेटेर अगाडी बढ्नुहुन्छ ?
–निर्वाचन लोकतन्त्रको सौन्र्दय हो । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । दलगत सहकार्यबाट नै अगाडी बढ्न प्रतिबद्ध छु । राजनीतिक संस्कार भएको ब्यक्तिको नाताले मैले उहाँहरूलाई सहयोग माग्ने छु । सहकार्यका लागि सबैले खुल्ला हृदय बनाउनुपर्छ । जनप्रतिनिधि कुनै पार्टी विषेशको हुदैन्, जिल्लामा क्रियाशिल दलका नेताहरूको अनुभवलाई प्रयोग गदैं जनताको आवश्यकतालाई पुरा गर्ने छु । जिल्लामा राजनीतिक संस्कारको विकास गनुपर्छ । निर्वाचनका प्रतिस्पर्धीहरू मेरा सहकर्मी हुन् । मैले उहाँहरूलाई लोकतन्त्रको रक्षाका लागि निर्वाचनको मैदानमा भेटेको थिए अब लोकतन्त्रको संरक्षणका लागि पनि सहयोग माग्नेछु ।
तपाईका क्षेत्रमा मुख्य समस्या के कस्ता छन् ?
–समस्याहरू धेरै छन् । जिल्लाभित्र सबै बस्तीमा सडक सञ्जालको पहुँच, शिक्षा, स्वास्थ लगाएत जनताको आधारभुत आवश्यकताको पुरा गर्नुछ । जिल्लामा भित्रिने बजेट, कार्यान्वयनको समस्यालाई सुधार गदैं चुनावी अभियानमा भेटिएका समान्यदेखी जटिल समस्याहरूलाई समाधान गर्नु प्रमुख आवश्यकता हो । अब बन्ने बामपन्थी नेतृत्वको सरकारबाट जिल्लामा आवश्यकताका योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट ल्याउने छु । अर्को कुरा मैले आधारभुत आवश्यकता र जनतालाई तत्काल चाहिने सेवा सुविधालाई पुरा गर्ने गरी काम गर्नेछु ।
तपाईले आफ्नो जिल्लामा विकासका लागि तत्काल गर्ने तीनवटा काम के के हुन् ?
–लोकतन्त्र र नयाँ संविधानलाई कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने मतदातालाई धन्यवाद सहित निम्न कामलाई प्राथमिकतामा राखेको छु ।
१)कालिगण्डकी करिडोरलाई चीनको तिब्बतसम्म जोड्ने कोरला नाकासम्म विस्तार भइरहेको योजनाको कार्यान्वयन ।
२) पश्चिम म्याग्दीको दरवाङ हुदै ताकम, मुनाबाट छिमेकी जिल्ला रुकुमसम्म जोड्ने सडक सञ्जालको विस्तारका साथै बजेट विनियोजनका लागि पहल ।
३) जिल्लाको अति विकट धौलागिरि गाउँपालिका–१ गुर्जासम्म सडक सञ्जालको विस्तार, खानेपानी, सिचाई, सरसफाईका योजनाहरूलाई प्राथमिकता दिदैं सामाजिक सद्भाव सृजना गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिनेछु ।
सांसद्ले खाली आश्वासन् बाँड्छन्, पुरा गदैनन् भन्ने आम गुनासो छ, यसबारे के भन्नुहुन्छ ?
–मैले राजनीतिक यात्रा सुरु गरे यता अहिलेसम्म आश्वासन बाँडेको छैन् । मलाई आश्वासन बाँड्न पनि आउँदैन् । मैले जिल्लामा आवश्यकता रहेका क्षेत्रलाई प्राथमिकता दिएर काम गर्छु, जनताको समस्यालाई समाधान गर्न आवश्यक परेको खण्डमा तत्काल बजेट सहितका कार्यक्रमहरु ल्याउने छु तर पनि आश्वासन बाढ्ने छैन् । जनप्रतिनिधिको हातमा भएको बजेटलाई पहुँचभन्दा पनि जनताको आवश्यकता अनुसार प्रयोग गर्नु मेरो पहिलो प्राथमिकता हुने छन् ।
प्रस्तुति: हरिकृष्ण गौतम|म्याग्दी
जिल्लाको समृद्धिका लागि सक्रिय हुनेछु – भूपेन्द्र थापा
Previous Articleजनमोर्चालाई ‘डिस्टिङसन’
Next Article एमाले अध्यक्ष अाेलीकाे शानदार जीत