बागलुङ, २२ मंसिर– निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी बागलुङमा मतगणना सुरु भएकोे छ । दलहरु बीचको लामो छलफलपछि राती आठ बजेबाट मात्रै मतगणना सुरु भएको हो । नेपाली कांग्रेसले जिल्लाका तीन ठाउँमा धाँधली भएको भन्दै गरेको उजुरीलाई निर्वाचन आयोगले खारेज गरी मतणना गर्न आदेश दिएपछि काँग्रेसका प्रतिनिधीसहित छलफलपछि मात्रै मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्रको मतगणना एकैपटक सुरु गरिएको छ ।
कर्मचारीको आठ वटा समुह बनाएर प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना सुरु भएको हो । प्रतिनिधि सभातर्फ जिल्लाको क्षेत्र नं १ को १ मा रहेको काँठेखोला गाउँपालिका–१ पाला र काँठेखोला–२ भिमापोखरा तथा क्षेत्र नं १ को २ मा रहेका जैमिनी नगरपालिका–१ कुश्मीशेरा र जैमिनी नगरपालिका–२ दमेकको मतगणना सुरु गरिएको छ । क्षेत्र नं. २ को प्रदेश १ मा गल्कोट नगरपालिका–१ दुदिलभाटी र २ नरेठाँटी तथा प्रदेश २ को ढोरपाटन नगरपालिका–१ र २ बुर्तिवाङ बजारका मतपेटिकाको मतगणना सुरु गरिएको हो । शुक्रबार बिहान ६ बजे सम्मको नतिजालाई हेर्दा जिल्लाका तीन शक्ति मिलेर बनेको बाम गठबन्धन फराकिलो मतान्तरले अगाडि देखीएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा बाम गठबन्धनका डा. सूर्य पाठकले ६ हजार ९ सय १ मत प्राप्त गरेका छन्भने कांग्रेसकी चम्पादेवी खड्काले ४ हजार ९ सय ३७ मत प्राप्त गरेकी छन् । क्षेत्र नं १ मा गठबन्धनका पाठक १ हजार ९ सय ६४ मतले अगाडि देखीएका छन् ।
क्षेत्र नं १ को १ मा वाम गठबन्धनका उम्मेदवार इन्द्रलाल सापकोटाले ३ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्भने कांग्रेसका दिपेन्द्रबहादुर थापाले २ हजार ७ सय ८ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ को २ मा वाम गठबन्धनका कृष्ण थापाले ३ हजार ३ सय ३४ मत प्राप्त गरेका छन्भने कांग्रेसका प्रकाश शर्मा पौडेलले २ हजार ३ सय ९७ मत प्राप्त गरेका छन् । मालेका निरबहादुर क्षेत्रीले ४८, संघिय समाजबादी फोरमका महेन्द्र जिसीले १६, राष्ट्रिय प्रजातन्त्र पार्टि राष्ट्रबादीका सुमनजंग राजभण्डारीले १३ मत प्राप्त गरेका छन् । यो परिणाम जिल्लाको जैमिनि नगरपालिकाको १ देखी ६ नम्वर वडा र काठेखोला गाउँपालिकाको १ देखी ४ नम्बर वडासम्मको भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि गठबन्धनका उम्मेदवारले कांग्रेस उम्मेदवारलाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले ७ हजार ५२ मत प्राप्त गरेका छन्भने नेपाली कांग्रेसका नरबहादुर पुनले ५ हजार ३ सय ८२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ को १ तर्फ गठबन्धनका चन्द्रबहादुर बुढाले ३ हजार ८ सय ९६ र कांग्रेसका मञ्जेसबम मल्लले ३ हजार ६ सय १ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ को २ तर्फ गठबन्धनका टेकबहादुर घर्तिले ४ हजार ६ सय ७६ मत पाएका छन्भने कांग्रेसका जित सेरचनले २ हजार २७ सय ६६ मत प्राप्त गरेको जानकारी प्राप्त भएको छ । क्षेत्र नं २ मा आमुल परिवर्तन मसिहा पार्टिका बाबुराम पाण्डेले ८२ मत प्राप्त गरेका छन्भने देशभक्त जनतान्त्रिक मोर्चाका निलबहादुर पुनले ३ सय ४, संघिय समाजवादीका यम बहादुर घर्ति मगरले ४९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश सभातर्फका उम्मेदवारहरु युनिस मियाँले ७१, बद्रिकुमार श्रेष्ठले ९, जयलाल सापोकोटाले १०, कृष्णप्रसाद शर्माले १७, बद्रिबहादुर दर्जिले ६४, दिलबहादुर बिकले ७३, टेकबहादुर कुवरले ४९ र यमस्किुमार पुनले ४० मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभातर्फ वडाका आधारमा र प्रतिनिधि सभातर्फ मिसाएर मतगणना भैरहेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।मुस्ताङमा तुलाचन विजयी
मुस्ताङबाट प्रतिनिधिसभामा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन बिजयी भएका छन् । उनले कुल ३५ सय ४४ मत प्राप्त गरेभने निकटतम प्रतिद्धन्दी कांग्रेसका रोमी गौचन थकालीले ३१ सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेशसभा क मा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार इन्द्रधारा डाडु विष्ट निर्वाचित भएका छन् । विष्टले कुल ११ सय ६७ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । यसैबीच, एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै, एमालेका पोल्देन छोपाङ गुरुङ मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।