बागलुङ, २१ मंसिर– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज ४५ जिल्लामै शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। निर्वाचन आयोग प्रवक्ता नवराज ढकालका अनुसार ४५ जिल्लामै बिहान ७ बजेबाट सुचारु रुपमा मतदान भइरहेको छ। ‘कपिलवस्तुको एक ठाउँमा बम जस्तो देखिने वस्तु भेटिएपछि निस्क्रिय तुल्याइएको छ, सुरक्षा निकायले शान्तिपूर्ण मतदानको व्यवस्था गरेको छ’, बिहान साढे ९ बजे प्रवक्ता ढकालले भने, ‘ढुक्क भएर मतदानमा सहभागी हुन म सबै मतदातालाई आग्रह गर्दछु।’ आयोगले पहिलो चरणभन्दा बढी प्रतिशत मतदान हुने अपेक्षा गरेको ढकालले बताए।
‘हाम्रो अपेक्षा त शतप्रतिशत मतदान होस् भन्ने हो, तर पहिलो चरणभन्दा आज बढी मत खस्ने अनुमान गरेका छौं’, उनले भने। प्रवक्ता ढकालले मतदाता शिक्षा प्रभावकारी भएको र बदर मतको संख्या निकै कम हुने अपेक्षा गरिएको जनाए। ‘सरकार, अन्तर्राष्ट्रिय समुदाय, सञ्चार क्षेत्र सबैले हातमा हात मिलाएपछि निर्वाचन आयोग शान्तिपूर्ण रुपमा समयमै निर्वाचन गर्न सफल भएको हो’, ढकालले थपे। प्रवक्ता ढकालले पहिलो चरणमा मतदान सम्पन्न भएका क्षेत्रको मतगणना आज ५ बजेबाट सुरु हुने र आज मतदान भएका क्षेत्रको पनि केही क्षेत्रको आजै र केही क्षेत्रको भोलीबाट मतगणना सुरु हुने बताए।
दोस्रो चरणमा ७० प्रतिशत बढी मतदान हुने अपेक्षा–आयोग
Previous Articleअमलाचौरमा एक दिने स्वास्थ्य शिविर
Next Article सर्लाहीमा चार राउण्ड हवाइ फायर एक महिला घाईते