सर्लाही,२१ मंसिर– कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना ३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । घटनास्थलबाट घाइतेहरुलाई प्रहरीले एम्बुलेसमा राखी अस्पताल पुर्याएको थियो ।
झडप पछि केहीबेर मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारीरहेको प्रजिअ कटुवालले जानकारी दिए । झडपपछि मतदानस्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप भएको मतदान केन्द्र कांग्रेसको पकड एरिया मानिन्छ ।
Previous Articleदोस्रो चरणमा ७० प्रतिशत बढी मतदान हुने अपेक्षा–आयोग
Next Article १२ बजेसम्ममा ३५ प्रतिशत मतदान भयो