नेपालको संबिधान २०७२ जारी भएर कार्यान्वयनको चरणमा रहेको छ । संबिधान कार्यान्वयनको महत्वपुर्ण पक्षको रुपमा रहेको स्थानिय निकायको निर्वाचन सम्पन्न भएर देशभरका स्थानिय निकाय जनप्रतिनिधिले सम्हालेका छन् । अर्को कार्यान्वयनको महत्वपुर्ण पक्ष भनेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचको पहिलो चरणको मतदान सम्पन्न भएर मतपेटिकामा जनमत छभने दोस्रो चरणको निर्वाचन आजै हुँदैछ । ३२ जिल्लामा भएको पहिलो चरणको निर्वाचनको मत पनि गनिएको छैन्भने ४५ जिल्लामा आज हुने निर्वाचनको मत पनि एकै साथ गन्न सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
देशमा गत बैशाखमा भएको निर्वाचनले जति उत्साह र अपेक्षाहरु छोडेर गयो त्यही अनुपातमा सर्वसाधरण र बिदेशीहरुले समेत गिज्याउने गरी एउटा नजिर पनि छोडेर गएको यतिबेला भान हुन थालेको छ । तत्कालिन निर्वाचनको मत गन्ने क्रममा चितवनको भरपुर महानगर पालिकामा भएको एउटा घटनाले देशलाई गिज्याउने गरी एउटा नजिर छोडेर गएको छ । हुन त निर्वाचनको क्रममा कुनैपनि घटना हुँदैनन् भन्ने होईन तर बिगतलाई सम्झेर बर्तमानको बेवास्ता गर्ने राज्यको परिपाटीका कारण आज लज्जाबोध हुने गरी क्रियाकलापहरु भैरहेका छन् । बैशाखमा भएको सथानिय तहको निर्वाचनको समयमा चितवनमा भएको मत च्यात्ने कामका कारण आज देशभर प्रदेश सभा र प्रतिनिधि सभाको मतगणना स्थलहरु तार जालीले बारेर दल तथा उम्मेदवारका प्रतिनिधिहरुलाई बाहिर राखेर एउटा चिडियाखान जस्तो बनाईएको हलभित्र मत गन्ने तयारी भैरहेको देख्दा लाग्छ हामीबीच एक अर्कामा कुनैपनि खालको बिश्वासको वातावरण छैन् । त्यतिमात्र हैन जनादेश लिएर सत्ता सञ्चालनका लागि बिभिन्न तहमा जान लागेका दलका उम्मेदवारहरुप्रति निर्वांचन आयोग नै बिश्वस्त छैन् भन्ने कुराको प्रमाणित भएको छ ।
आदिकालमा एक जना ब्राहमणले आफ्ना बाबुको श्राद्ध गर्ने बेलामा पटक–पटक बिरालोले पिण्ड खाईदिएपछि उनले त्यो बिरालोलाई बाधेर श्राद्ध गरेका थिए र त्यसैको सिको गरेर पछिल्लो समयसम्म ब्राहमणहरुले पितृहरुको श्राद्ध गर्दा घरमा नभएको बिरालो खोजेर भएपनि पिण्ड दिने बेलामा बाँध्ने गरेको किंबदन्ति पाईन्छ । यो किंबदन्ति जस्तै आज मतगणना स्थलमा भएको तार जालीको प्रकरण पनि आदिकालको बिराले बाध्ने प्रबृत्तिको अनुसरण होभन्दा अतियुक्ति नहोला । गणना स्थलमा उपयुक्त सुरक्षा व्यवस्था मिलाउनु सरकारको दायित्व हो तर राष्ट्र हाँक्ने जनताका प्रतिनिधिलाई नै जाली लगाएर बाहिरी घेरामा राख्ने प्रबृत्तिको अन्त्य हुन जरुरी छ । कुनै बेला मोटरसाईकलमा हेलमेट लगाएर सवार दुई जनाले गोलीकाण्ड घटाएको घटनालाई लिएर मोटर साईकलमा सवारहरुलाई हेलमेट निषेध गर्ने यो राज्य ब्यबस्थाले मतगणना स्थलहरुमा लगाएको तारजाली भने कुनै नौलो कुरा भएन् तर एक ठाउँमा घटेको घटनालाई आधार बनाएर देशभरिका राजनीतिक शक्तिहरुप्रति अविश्वास राख्दै राष्ट्रलाई नै लज्जाबोध हुने गरी गरिएको यो व्यवस्थाको तत्काल खारेज गर्नुपर्छ । बिरालो बाध्ने प्रबृत्ति समस्याको समाधान होईन् इमान्दार र निष्ठामा आधारीत राजनीतिक संस्कार सिकाउने खालको कार्यक्रम ल्याउन राज्यले सक्नु पर्छ । गणना स्थलमा तारजाली होईन जिम्मेबारी बोध गर्न सक्नेहरुको उपस्थिती उपयुक्त बिकल्प हुन सक्छ ।