बागलुङ,५ असोज-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएर २००७ साल फर्काएर आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाएका छन् । २००७ सालमा नेपालको मन्त्रीपरिषदमा भारतीय उच्च अधिकारी बस्ने परम्परा रहेकोमा प्रचण्डले यसपटक भारतीय राजदूतावासलाई सरकारकै हैसियत दिएर ‘राष्ट्रघात’ गरेको आरोप लगाए ।
‘प्रचण्डले जे गर्दिन भनेका थिए, त्यही गरेर आए,’ केसीले भने ‘नेपालको परराष्ट्र नीतिलाई भारतको पोल्टोमा हालेर भुटानीकरण गरे ।’ नेपालको संविधान भारतलाई मान्य हुनेगरी संशोधन गर्ने कुरा, नेपालको समकक्षी भारतीय दूतावासलाई बनाउने कुरा र संयुक्त राष्ट्रसंघमा भारत उमेदवार हुने र अहिले नै भोट दिने भने बचन दिने कुरा अत्यन्त आपत्तिपूर्ण भएको उनको विश्लेषण छ ।
‘भुटान भारतको छायाँ भएर बसेको छ, सुरक्षा परिषदमा अहिल्यै भारतलाई समर्थन गर्छु भन्नुको अर्थ के हुन्छ ?,’ केसीले भने, ‘भारतलाई समेत मान्य बन्ने संविधान बनाउन नेपालाई के कर छ ?’ भारतीय सहयोगमा निर्माणाधीन आयोजनाको नेपाल सरकार र भारतीय दूतावासका कर्मचारीले निरिक्षण गर्ने सम्झौता दूतावासलाई नेपाल सरकारको समकक्षी बनाउने गल्ती भएको केसीको आरोप छ ।
‘२००७ सालमा नेपालको क्याबिनेटमा भारतीय सरकारको प्रतिनिधि बसेर निर्णय गर्ने प्रचलन थियो, भारतीय कर्मचारीले नेपाल सरकारसँग बसेर काम गर्ने भएपछि २००७ साल ब्युँतिएको भएन ?’ केसीले आफ्नो पार्टीले प्रचण्डको भारत भ्रमणका क्रममा जारी गरिएको सम्झौताको सडक र संसदमा विरोध गर्ने बताए ।
प्रचण्डले भारतमा गएर २००७ साल फर्काए – अध्यक्ष केसी
Previous Articleबसाई सरीजानेको लहरले काँडेवासको गाउ रित्तिदै
Next Article बाढीले घर बगायो