गुमानसिँह भण्डारी
गल्कोट, ५ असोज-जिल्लाको गल्कोट उपत्यकामा रहेको काँडेबास गाविसबाट बसाई सर्नेको संख्या ह्वात्तै बढेको छ । राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभुत आवश्यकता परिपूर्ति गर्नका लागि गाउँलेहरु अन्यत्र बसाई सर्दै गएका हुन् ।
सुख सुविधाको लागि युवाहरु शहरबजार जान थालेपछि अहिले गाउं नै शुन्य बनेको काडेबास-५ ज्यामिरेवासी बताउछन । गाउंबाट बसाई सरेर शहर जान थालेपछि अहिले काँडेबासको वडा नम्बर ४ सिस्नेरी खाली भएको छ । त्यस्तै वडा नम्बर ५ र ६ मा २०७० सालसम्म १ सय ३० घरधुरी रहेकोमा अहिले ७०, ८० घरधुरी मात्र बस्ने गरेको स्थानिय जीवलाल गौतमले बताए ।
बार्षिक रुपमा २०, २२ घरपरिवार बसाई सराई गरि जान थालेपछि पहिलेको तुलनामा खेतीयोग्य जमिन सबै बाझो हुन थालेको गौतमको भनाई छ । विशेषगरि ब्राह्मण र दलित समुदायको बस्ती रहेको काँडेबास ४, ५ र ६ मा यतिबेला आर्थिक रुपमा सम्पन्न ब्राह्मण परिवार बसाईसराई गरि जान थालेपछि वडा नम्बर ४ मा दलित मात्र बाकि रहेका छन ।
युवाहरु बैदेशिक रोजगारीका लागी बिदेश जाने र केहि कमाएपछि गाउघर भुल्ने परिपाटीले सो गाउवासी भने चिन्तित छन् । दिनानुदिन बसाई सराई गरि जान थालेपछि गाउंमा माहामारी वा विपदको अवस्था आएपनि समयमै खवर गर्ने मानिसको समेत अभाव देखिएको छ । यसलाई रोक्नका लागि सरकारले गाउंमा आधुनिक खेती प्रणालीको विकास गर्नुपर्ने काडेबास ५ ज्यामिरेका पुर्ण बहादुर बिकलले बताए ।
Previous Articleभारतले हमला गर्नसक्ने भन्दै पाकिस्तानको तयारी
Next Article प्रचण्डले भारतमा गएर २००७ साल फर्काए – अध्यक्ष केसी