काठमाडौं, १५ मंसिर – यूएईको अबुधाबीमा शुक्रबार भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ९० रनको लक्ष्य झिनो लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। अमेरिकाका सयाद अब्दुल्लाले सर्बाधिक ४४ तथा रोय सिल्भाले २५ रन जोडे। नेपालका सोमपाल कामी र सागर पुनले समान २–२ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.१ ओभरमा सवै विकेट गुमाएर ८९ रनमा समेटिएको थियो। नेपालका लागि कुनैपनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिइएको खेलमा बसन्त रेग्मीले जोडेको २१ रन नेपालको सर्बाधिक स्कोर रह्यो। उनीसँगै दीलिप नाथले १६, दीपेन्द्र सिंह ऐरीले १२ कुशल भुर्तेलले १० तथा सागर पुनले ९ रन मात्रै जोड्न सके।
अनिलकुमार साह र शरद भेषावकर शुन्य रनमा आउट भएको खेलमा सोमपाल कामी, सन्दीप लामिछाने र ललितसिंह भण्डारीले एक रन मात्रै जोड्न सके। अमेरिकाका जपेन पटेलले ४, रोय सिल्भा र नास्थुस केन्जीगीले समान २ विकेट लिए। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएर्इसँगको अन्तिम चरणको खेल खेल्न नेपाली टोली हाल यूएर्इमा रहेको छ।
यूएर्इ विरुद्धको खेल अघि नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। नेपालले केन्यासँग पर्सि अाइतबार खेल्नेछ। अाजको अभ्यास खेलमा नियमित कप्तान र उपकप्तानको अनुपस्थितीमा नेपाली टोलीको कप्तानी शरद भेषावकरले गरेका थिए।
Previous Article‘लोकतन्त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
Next Article ‘फाटेको जुत्ता’ पुनः प्रदर्शनमा