पराजित मानसिकताको उपजः पाठक
बागलुङ, १५ मंसिर– जिल्लाका तिन मतदान स्थलमा धाँधली भएको भन्दै नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ उम्मेदवारले उजुरी दर्ता गराएकी छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको ५ दिनपछि बाम गठबन्धनले धाँधली गरेको भन्दै बिहिबार कांग्रेस उम्मेदवार चम्पादेवी खड्काले उजुरी दर्ता गराएकी हुन् ।
खड्काले धाँधली भएका तिनै ठाउँमा पुनः निर्वाचनको माग गरेर उजुरी दर्ता गराएको कांग्रेस बागलुङले जनाएको छ । बागलुङको धुल्लुबास्कोट, पैयुँथन्थाप र भकुण्डेमा बाम गठबन्धनले कांग्रेसका एजेण्टलाई धम्की दिएर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएकी हुन् । यसअघि बुधबार मात्रै कांग्रेसकै तर्फबाट क्षेत्र नं १ को १ का उम्मेदवार दिपेन्द्र थापा र १ को २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले छुट्टा–छुट्टै ठाउँमा धाँधली भएको भन्दै उजुरी दर्ता गराएका थिए । थापाले भकुण्डेमा र शर्माले अन्य दुई स्थानमा बुथ कब्जा भएको आरोप लगाएका छन् । उनीहरुले कांग्रेसका एजेण्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरेर मतदान गरेको आरोप लगाएर निवेदन दिएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पण्डितले बताए । ‘उहाँहरुको उजुरी आएपछि मतदान अधिकृतहरुलाई निर्वाचनको दिनको प्रतिवेदन दिन भनेको छु’ पण्डितले भने, ‘निर्वाचन आयुक्त ईश्वरी पौडेलसँग सम्पर्क गरेर उजुरीबारे जानकारी पनि गराइएको छ ।’ मतदान अधिकृतहरुको प्रतिवेदन र उजुरीलाई एकमुण्ट आयोगमा पठाउने उनले बताए ।
कांग्रेसका कानूनी सल्लाहकार भूमिश्वर गौतमले उम्मेदवार र ती स्थानका एजेण्टको गुनासोको आधारमा उजुरी दर्ता भएको बताए । ‘ती स्थानमा निर्वाचन रद्द गरेर पुनः मतदान गर्नुपर्छ भन्ने माग छ’ गौतमले भने, ‘सबै दलको एजेण्ट बसेर मतदान गर्ने वातावरण आवस्यक छ ।’ फर्जी मत झरेको भन्दै बिरोध गर्न खोज्दा एजेण्ट र अधिकृतहरुलाई समेत धम्की दिइएको कांग्रेसको आरोप छ । मतदान अधिकृतले बिरोध गर्दा पनि सुरक्षाकर्मीले सुरक्षा दिन नसक्ने भनेको पनि उनीहरुले दाबी गरे । संविधानसभाको पहिलो निर्वाचनमा पनि धुल्लुबास्कोटमा राष्ट्रिय जनमोर्चाले एकलौटी गरेको भन्दै कांग्रेसले संविधानसभा अदालतमा उजुरी गरेको थियो । तर निर्वाचन आयोगले त्यस ठाउँको मतदानलाई सदर गरेको थियो । जिल्लाका तिन मतदान केन्द्रको बिषयमा उजुरी परेपछि सेलाएको जिल्लाको राजनितिक माहोल एका–एक तातेको छ ।
उजुरीको बिषयमा प्रतिकृया दिंदै संयुक्त बाम गठबन्धन क्षेत्र नं १ बागलुङका उम्मेदवार डा. सूर्य पाठकले शान्तिपुर्ण रुपमा भएको मतदानलाई धाँधली भन्नु पराजित मानसिकताको उपज भएको बताए । जिल्लाभरका मतदाताले शान्तिपुर्ण बातावरणमा मतदान गरेको भएपनि कांग्रेसले किचलो झिक्न उजुरी गरेको उनको आरोप थियो । ‘मतदान स्थलमा आयोगले खटाएका कर्मचारी, सुरक्षाकर्मी र पर्यबेक्षकहरु थिए’ पाठकले भने ‘धाँधली भएको हो भन्ने कुरा कसरी तिन दिनपछि मात्रै थाहा भयो ।’ उजुरीको बिषयमा निर्वाचन आयोगले छानविन गरेर न्यायिक निर्णय दिनेमा बिश्वस्त रहेको उनले बताए । कांग्रेसले बाम गठबन्धनको बलियो मत भएका मतदान केन्द्रहरु छानेर तिनै केन्द्रमा धाधली भएको आरोप लगाएको उनको भनाई थियो ।
Previous Articleपर्यटकको रोजाईमा पर्दै पञ्चकोट
Next Article १५ मंसिर २०७४ ढोरपाटन दैनिक