बागलुङ, १५ मंसिर– धार्मिक गन्तव्यको रुपमा बिकास हुदैं गरेको पञ्चकोटमा पर्यटकहरुको आगमन बढ्न थालेको छ । युवादेखि बृद्धवृद्धाको रोजाईमा यो क्षेत्र पर्न थालेको छ । हिन्दु र बौद्ध धर्मको प्रमुख गन्तव्य बनाउने अभियान स्वरुप केही बर्ष अघिदेखि पञ्चकोटमा सर्वसिद्धिधाम निर्माण अभियान शुरु भएको छ । दुई बर्षअघि बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोटको बृहत गुरुयोजना बनेको थियो । यो योजनाले बार्षिक १ लाख बढी पर्यटक भित्राउने योजना बनाएको छ । यो योजना अनुसार पछिल्लो समय धौलागिरी मात्र नभई देशभरबाट भ्रमण आउने, बिदाको सदुपयोग गर्ने लगायतमा पञ्चकोट रोजाईमा परेको हो ।
मुक्तिनाथ जाने हरेक पर्यटकलाई जिल्लामा एक दिन राख्ने वातावरणका लागि यो अभियान शुरु भएको थियो । ‘भारतीय र नेपाली पर्यटकलाई एक दिन यहीं राख्ने योजना छ’ पञ्चकोट पर्यटन समितिका महासचिव बसन्तकुमार श्रेष्ठले भने, ‘नेपालकै गतिलो गन्तव्यका लागि हामीले नमूना काम समेत गर्दैछौं ।’ पञ्चकोटमा संसारकै अग्लो कलस निर्माण समेत हुनेछ । १ हजार ५ सय मीटर उचाईको स्थानमा १ सय ८ फिट अग्लो हुने यो कलस धौलागरीका अधिकांस स्थानबाट समेत देख्न सकिन्छ । यहाँको सबै पूर्वाधार निर्माणका लागि झण्डै २ अर्ब खर्च हुने अनुमान रहेको श्रेष्ठले बताए । पूर्वाधार निर्माणकै क्रममा पनि बार्षिक १ लाख पर्यटक आएको उनीहरुको अनुमान छ । जिल्लास्थित होटल व्यवसायी संघका अनुसार मुक्तिनाथ जाने पर्यटक बागलुङमा एक दिन बसेर कालिका र पञ्चकोट घमेर जाने गरेका छन् । ‘कति पर्यटक यहाँ घुमेर मुक्तिनाथ जान्छन्, जहाजमा गएकाहरु पनि फर्केर बागलुङ घुम्न आउन थालेका छन्’ होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘कालीगण्डकी कोरिडोरको ट्रयाक खुलेकोले भारतबाट बस चढेर आउने पर्यटकलाई पनि यो मार्ग सहज बन्दैछ ।’ पर्यटक बढेकै कारण जिल्लामा होटल निर्माणमा लगानी समेत बढेको उनले बताए ।
कोरिडोरमा गत कात्तिक पहिलो सातादेखि नियमित बस र जिप चल्न थालेका छन् । कोरिडोरले सुनौलीदेखि कोरलासम्म छोटो दुरीमा जोड्छ । मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यको अगुवाईमा शुरु अभियानमा करोडौंको कोष समेत जम्मा भएको छ । उक्त कोषले पहिलो चरणका काम भैरहेका हुन् । यहाँ कलससंगै राखिने ५ हजार ५ सय ५५ केजीको घण्टा स्थापनाको तयारी भएको छ भने ठूलो हनुमानको मुर्र्ति समेत बनाइएको छ । दक्षिण भारत शैलीका सिसा महल, बिष्णु मन्दिर, गरुड शिला समेत निर्माण भैसकेका छन् । ३ सय ६५ तुलसीका मोठ, एकसय ८ बरपिपलका चौतारी निर्माण, तीनवटा स्थानमा कम्तिमा एकसयका दरले तीनसय गाईपालन गर्ने गौशाला निर्माण जस्ता काम पनि शुरु भैसकेका छन् । उक्त स्थानदेखि पश्चिममा रहेका पाँचवटा कोटको संरक्षण गरी पर्यटक नियमित जाने बनाउने, केवुलकार निर्माण गरी पाँचवटै स्थानमा पुग्न सकिने बनाइने योजना पनि छ ।
उक्त योजना अनुसारका काम भैरहेको श्रेष्ठले बताए । ‘धार्मिक आस्था हराएको र पुरातात्वीक स्थानहरु लोप हुन लागेको समयमा यो अभियानले संरक्षण आन्दोलन पनि ल्याएको छ’ श्रेष्ठले भने, ‘करोडौं भारतीय पर्यटक घुमफिरमा निस्कन्छन्, त्यसको एकदुई प्रतिशत हामीले भित्राउँदा पनि समृद्ध बन्न सक्छौं ।’ यहाँका कोटमा महालक्ष्मी, सम्यलक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मी गरी पाँच महालक्ष्मीको मन्दिर समेत बनाईने छ ।
Previous Articleचौकी व्यावस्थापन समितिको पुनर्गठन
Next Article मतदानमा धाँधली भएको भन्दै उजुरी