पर्वत, १५ मंसिर– सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशी सहयोग गरेका छन् । उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले रु. १३ लाख सहयोग गरेको हो । जलजला गाउँपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका २६ वटा सामुदायिक विद्यालयलाई रु. ५० हजारका दरले सहयोग गरिएको हो ।
विगत छ वर्षअघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि रु. ७० लाख र भूकम्प पीडितको राहतका लागि रु. ३० लाख सहयोग गरिसकिएको कोषका उपाध्यक्ष हेमबहादुर पुन ‘तुफान’ले जानकारी दिए । उनका अनुसार, स्वदेशमा रोजगारी नपाएर आफूहरू प्रवासी जीवन बिताउनु परे पनि गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान होस् र विपन्न तथा दलित र जनजातिका बालबालिकाले पढ्नबाट वञ्चित हुन नपरोस् भनेर उक्त सहयोग गरिएको हो ।
पर्वत जिल्लाकै विकासका लागि भनेर कल्याणकारी कोष खडा गरिएको जानकारी दिँदै पुनले विदेशमा दुःख गरेर कमाएको रकमको थोरै हिस्सा सामाजिक सेवामा लगाउनुपर्छ भन्ने उद्देश्यले कोष खडा गरिएको जानकारी दिए । त्यस्तै उक्त कोषबाट मगर समुदायको बाहुल्यता रहेको उत्तरी पर्वतका बाँसखर्क, लेखफाँट, धाईरिङ, शालिजा, क्याङ, देउराली र देउपुरका विद्यालयमा खेलमैदानलगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ ।
Previous Articleनिकुन्जका पाटे बाघ गणना शुरु
Next Article २०७४ मंसिर १५ गते शुक्रबारको राशिफल