बागलुङ, १५ मंसिर– अपाङगता भएका व्यक्तिहरुलाई राज्यले दिने सेवा सुविधा सहज ढंगबाट प्रदान गर्न नसकेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । २६ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा बागलुङमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
अपाङगता भएका व्यक्तिहरुको जिल्ला सञ्जाल बागलुङ र अपाङगता सरोकार संघ बागलुङको संयुक्त आयोजनामा जिल्ला स्थित सरोकारवाला निकायहरु बिच अपाङगता क्षेत्रको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा अपाङगता भएका व्यक्तिहरुका लागि विभिन्न खालका अधिकारहरु समेटिए पनि व्यवहारमा कार्यान्वयन नभएको बताएका थिए । उनीहरुले जिल्ला स्थित विभिन्न सरकारी कार्यालय, विद्यालय लगायतका क्षेत्र अपाङगतामैत्री नभएको भन्दै गुनासो गरेका थिए । अपाङगता भएका व्यक्तिहरुका कार्यक्रममा समेत जनप्रनिनिधि एवं विभिन्न संघ संस्थाका व्यक्तिहरुले पनि वेवास्ता गरेको भन्दै आफ्ना हक अधिकार स्थापित गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनीहरुको भनाई थियो । उनिहरुले राज्यले प्रदान गर्ने सेवा सुबिधामा यो वा त्यो बहानामा कटौती हुने र लक्षित बर्गमा नपुग्ने गरेको गुनासो समेत गरे । उनिहरुले सेवा सुबिधा र सार्वजनिक स्थलहरुलाइ अपांग मैत्री बनाउन सरोकारवालाहरु सँग माग समेत गरेका छन् ।
कार्यक्रममा ‘सबैका लागि दिगो र समतामुलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ यही मंसिर १७ गते भव्य रुपमा २६ औँ अन्तराष्ट्रिय अपाङगता दिवस मनाउने निर्णय समेत गरेको छ । सोही दिन ¥याली सहित मुल समारोहको आयोजना गर्ने निर्णय भएको अपाङगता सरोकार संघले जनाएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, महिला तथा बालबालिका कार्यालय बागलुङका महिला विकास अधिकृत डिलकुमारी शर्मा, सहायक जिल्ल शिक्षा अधिकारी कुश्मराज उपाध्याय, समाजसेवी केवी राना मगर, गंगाप्रसाद कँडेल, होमनाथ शर्मा, इन्द्रा शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन अपाङगता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले गरेका थिए ।
Previous Articleपरियोजनाले आर्थिक पहुँच बढायो
Next Article निकुन्जका पाटे बाघ गणना शुरु