बागलुङ, १४ मंसिर– जिल्लाका तिन मतदान स्थलमा धाधली भएको भन्दै कांग्रेस बागलुङले उजुरी दर्ता गराएको छ । गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको ४ दिनपछि बाम गठबन्धनबाट धाधली भएको भन्दै कांग्रेस उमेदवारले उजुरी दिएका हुन । उक्त तिन ठाउँमा पुन निर्वाचनको माग गर्दै उजुरि दिएको कांग्रेस बागलुङले जनाएको छ । बागलुङको धुल्लुबास्कोट, पैयुँथन्थाप र भकुण्डेमा बाम गठबन्धनले कांग्रेसका एजेण्ट लाई धम्की दिएर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । कांग्रेस सभापति तथा क्षेत्र नं. १ क का उमेदवार दिपेन्द्रबहादुर थापा र १ को १ का उमेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गरेका हुन् । थापाले भकुण्डेमा र शर्माले अन्य दुइ स्थानमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।
उनीहरुले कांग्रेसका एजेण्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरेर मतदान गरेको आरोप लगाएर निवेदन दिएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पंडितले बताए । ‘उहाँहरुको उजुरी आएपछि मतदान अधिकृतहरुलाई निर्वाचनको दिनको प्रतिवेदन दिन भनेको छु’ पंडितले भने, ‘निर्वाचन आयुक्त ईश्वरी पौडेल सँग सम्पर्क गरेर उजुरी बारे जानकारी पनि गराइएको छ ।’ मतदान अधिकृतहरुको प्रतिवेदन र उजुरीलाई एकमुण्ट आयोगमा पठाउने उनले बताए । कांग्रेसका कानूनी सल्लाहकार भूमिश्वर गौतमले उमेदवार र ती स्थानका एजेण्टको गुनासोको आधारमा उजुरी दर्ता भएको बताए । ‘ती स्थानमा निर्वाचन रद्द गरेर पुन मतदान गर्नुपर्छ भन्ने माग छ’ गौतमले भने, ‘सबै दलको एजेण्ट बसेर मतदान गर्ने वातावरण आवस्यक छ ।’ फर्जी मत झरेको भन्दै बिरोध गर्न खोज्दा एजेण्ट र अधिकृतहरुलाई समेत धम्की दिइएको कांग्रेसको आरोप छ । मतदान अधिकृतले बिरोध गर्दा पनि सुरक्षाकर्मीले सुरक्षा दिन नसक्ने भनेको पनि उनीहरुले दावी गरे । संविधानसभाको पहिलो निर्वाचनमा पनि धुल्लुबास्कोटमा राष्ट्रिय जनमोर्चाले एकलौटी गरेको भन्दै कांग्रेसले संविधानसभा अदालतमा उजुरी गरेको थियो ।