काठमाडौं, ५ असोज/राजधानीका विभिन्न स्कुलमा बम राख्ने २ जनालाई पक्राउ गरी प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको छ । महानगरीय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले माओवादी कम्युनिष्ट केन्द्र नेपालको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङग कम्युनिष्ट फोर्सका कार्यकर्ता रामेछाप दिमिपोखरी–६ का ३१ वर्षीय शंकर लाखे र सिन्धुली लाम्पाङटार–६ का २४ वर्षीय चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो । दुबै जनाले चन्दा माग्दै सोमबार राति राजधानीका केही निजी विद्यालयहरुमा सिलिण्डर बम तथा प्रेसर कुकर बम राखेका थिएभने केहीमा विस्फोट समेत गरेका थिए । कार्यालयका एआइजी प्रतापसिंह थापाले उनीहरुलाई बौद्धस्थित डेराबाट नियन्त्रणमा लिएको बताए । उनीहरु संलग्न दल माओवादी कम्युनिष्ट केन्द्र शान्ति प्रक्रिया पूर्व २०६२ सालमा हतियार लिएर भागेको लडाकुहरुले गठन गरिएको संस्था भएको उनले बताए । प्रहरीका अनुसार पूर्व लडाकु दुबै जना लामो समयदेखि अपराधिक क्रियाकलापमा संलग्न थिए ।